काठमाडौं- सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा राजस्व चुहावट नियन्त्रण गर्नेबारे उच्च तहको छलफल भएको छ । मंगलबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बसेको हो ।
अर्थमन्त्री खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई आवश्यक संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने उल्लेख गरे । साथै, राजस्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमीकमजोरीलाई समेत सुधार्दै लैजानुपर्ने बताए ।
उनले कुनै एकल निकायको प्रयासले मात्र राजस्व चुहावट नियन्त्रण गर्न सम्भव नहुने हुँदा सम्बन्धित सरोकारवाला निकायहरूको संयुक्त प्रयासले लक्ष्य प्राप्त गर्न सकिने बताए । राजस्व चुहावट नियन्त्रणका लागि कुनै पनि कार्य गर्दा आम नागरिकलाई दुःख नहोस् भन्ने कुरामा समेत ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
बैठकमा अर्थसचिव डा.घनश्याम उपाध्यायले राजस्व चुहावट नियन्त्रण कार्य सबैको साझा दायित्व रहेको उल्लेख गरे । सीमित साधन स्रोतका बाबजुद पनि अधिकतम परिचालन भई परिणाम हासिल गर्नुपर्ने हालको अवस्थामा प्राप्त जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक रहेको बताए ।













प्रतिक्रिया