फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार « Khabarhub

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बसेको आज आठौँ दिन बितेको छ ।

कृष्णबहादुर र उनकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग्रिएका छैन । गत असोज १८ गते लाङटाङ घुम्न जाँदा बेपत्ता भएका छोरीहरू २६ वर्षीया सनिता, २४ वर्षीया संस्कृति र २० वर्षीय छोरा ‘किसन’ भन्ने चितलालको ६ महिनापछि यही चैत १६ गते कुशको शव बनाएर अन्त्येष्टि गरेसँगै बुवा कृष्णबहादुर किरियामा बसेका छन् ।

रोट्र्याक क्लबको नेतृत्वमा गत असोज १६ गते दसैँको टीका लगाएर १७ गते बिहान पाँच दिने यात्रामा घुम्न हिँडेका छोराछोरी नफर्किएपछिको पीडा भनिसाध्य छैन । १६ जनाको टोली लाङटाङ निस्किएका उनीहरू १८ गते दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसँगको लेदो पानीले बगाएर गहिरो खोँचमा बेपत्ता भएका थिए । 

घटनास्थल आसपासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले कैयौँ दिन लगाएर खोज्दा पनि शव नभेटिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारीले घटना विवरणसहित पठाएको पत्रका आधारमा उनीहरू जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

उनीहरूसँगै बेपत्ता भएका भक्तपुर नगरपालिका–१० घर भई काठमाडौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत अहिलेसम्म भेटिएका छैनन् ।

प्रत्यक्षदर्शीका अनुसार यात्राका क्रममा खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगको लेदोमा पहिलो पटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन्, फेरि उनलाई बचाउन जाँदा भाइ कृष्ण समेतलाई बगायो । उनीहरूलाई बचाउन भनेर गएका साथी रविलाई समेत बगाएपछि चारै जना बेपत्ता भएका थिए । 

किरियामा बसेका बुवा कृष्णबहादुर भन्छन्, ‘एकै पटक तीन सन्तान गुमाउनुको पीडा त छँदै छ तर, राज्यले दिने मृत्यु दर्ताको प्रमाणपत्रसमेत परिवारले नपाउँदा भने पीडामाथि पीडा थपिएको छ, सरकार हामीलाई तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाइ देऊ ।’

उनीहरूको मृत्यु प्रमाणपत्र नपाउँदा बिमादेखि बैङ्क खातामा रहेको रकम बाबुआमाको खातामा सार्न पाएका छैनन् । उनी भन्छन्, ‘मृत्यु प्रमाणपत्र लिन वडा, नगरपालिका, भक्तपुर जिल्ला अदालतदेखि गृह मन्त्रालयसम्म धायौँ, तर अझै पाएनौँ, सन्तानको सद्गत गरिसक्यौँ, बेपत्ता भएको र बेपत्ता जीवित नहुने अवस्था सबैलाई थाहा छ, यो लुकेको घटना त होइन नि, त्यसैले कानुनको कुन धारा प्रयोग गरेर हुन्छ सरकार तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाई देऊ ।’

वडा कार्यालयले बेपत्ता भएको १२ वर्ष नभई मृत्यु प्रमाणपत्र दिन र सिफारिस गर्न नमिल्ने भनेर पन्छाइ दिएको, नगरपालिकाले पनि त्यही जवाफ दिएको बताउँदै काका केशव श्रेष्ठले जिल्ला अदालतमा समेत रसुवाको सबै पत्र र विवरण बुझाउँदा पनि मृत्यु दर्ताको प्रमाण पत्र नपाएको बताउँछन् । रासस

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २१ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच