रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण « Khabarhub

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको संघारमा ‘बहिष्कार ट्रेन्ड’मा परेको छ । उनी यसरी विवादमा आउनुको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको नख्खु जेल ब्रेकसँग जोडिएको छ ।

सहकारी ठगीसहितका विभिन्न मुद्दा थुनामा रहेका रवि जेन–जी आन्दोलनको आडमा गत भदौ २४ गते जेलरलाई थर्काउँदै नख्खुबाट बाहिरिएका थिए । कारागारबाट बाहिरिने क्रममा उनले त्यहाँका कर्मचारीलाई हुलहुज्जत गरेको प्रतिवेदनमै उल्लेछ ।

काराबारबाट बाहिरिँदा रविको हर्कत हेर्दा देखिन्थ्यो– उनले ठूलै राजनीतिक मुद्दामा जित आफ्नो पक्षमा पारे । ठूलै युद्ध जिते जसरी निलो गाडीको सनरुफबाट आधा ज्यान निकालेर जनता जनार्दनलाई अभिवाद गर्दै उनी हिँडेका थिए । अर्कोतिर देशका कयौँ संरचना जलेर खरानीमय थियो ।

भदौ २४ मा रवि चढेको त्यही सनरुफवाला गाडी अरू कसैको नभएर गायक रामकृष्ण ढकालको रहेको खुल्न आएको छ । त्यसबेला उक्त बागमती प्रदेश ०३० च २२८२ निलो रङको गाडी रामकृष्ण आफैंले हाँकेका थिए ।

‘द प्रकाश सुवेदी शो’मा राकृष्णको बेलिविस्तार :

रामकृष्ण : त्यो दिन जेन–जी आन्दोलन उत्कर्षमा थियो । हामी पनि त्यो दिन यताउता हिँडिरहेका नै थियौं । हामी जुलुसमा थियौँ ।

नायिका वर्षा : हजुरले गाडी चलाइरहेको हो ?

रामकृष्ण : ड्राइभ पनि मैले गरेको हो । रविजी छुट्नुभयो भन्ने कुरा आयो । त्यसपछि हामी तल गयौँ । गाडी चल्ने अवस्था थिएन ।

रविजी नख्खु जेलको पारीपट्टी क्याफेमा हुनुहुन्थ्यो । म त्यहाँ गएँ । गएपछि अंकमाल गर्‍यौं । राम्रो दिनमा भेट भयो भन्ने कुरा भयो । मैले खुशी लाग्यो भनेँ ।

हामी दुवैलाई दाइ भन्छौं, तर तिमी भन्छौं । उहाँलाई घर जान अप्ठ्यारो परेको स्थिति थियो । मलाई थाहा पनि थिएन, काठमाडौंमा यस्तो स्थिति छ भन्ने ।

गाडी नभएर उहाँ त्यसरी बसिरहनुभएको रहेछ । उहाँले गाडी छ ? भन्नुभयो । मैले छ भनेँ । उहाँको सेक्युरिटी इन्चार्ज आशिषले भनेपछि गाडीभन्दा ज्यान ठूलो हो ।

प्रकाश सुवेदी : किन डराइडराइ बोल्नुभएको ?

वर्षा राउत : कुरा चपाइचपाइ बोल्नुभएको ।

रामकृष्ण : त्यसपछि म घरमा आएँ । गाडी निकालेँ । नुख्खु पुग्दा जेन–जी भाइबहिनीको एक्सप्रेसन थियो– को पागल हो यो बेला गाडी लिएर आउने । त्यही पनि टिलिली टल्किएको निलो गाडी ।

त्यहाँ पुगेपछि उहाँ (रवि)लाई गाडीमा राख्न कति गाह्रो भयो । म ड्राइभिङ सिटमा नै थिएँ । सबैले हामी लैजान्छौं रवि दाइलाई भन्दै हुनुहुन्थ्यो । गाडी डड्याङडुडुङ पनि भयो । त्यसपछि मैले उहाँलाई राखेको हो ।

बाहिर निकालेको (सन रुफबाट) कारण चाहिँ के हो भने रविजी बाहिर ननिस्किएको भए गाडी सखाप हुन्थ्यो । किनकि त्यहाँ गाडी चलाउने अवस्था थिएन । सन रुपबाट निकालेपछि चाहिँ सुरक्षित हुने भइयो ।

त्यो बेला ड्राइभ गरेको सम्झिँदा चाहिँ– बाइकहरूले फलो गरेका थिएँ । उहाँलाई सुरक्षित ठाउँमा पुर्‍याउनुपर्ने थियो । कुनै कुनै ठाउँमा यता उता जाने अवस्था थिएन, बाटोमा आगो बलेको थियो । आगोमा पनि गाडी लगियो । उहाँलाई सुरक्षित पुर्‍याइयो ।
म नदेखिएकाले मेरो गाडी प्रयोग भएको कुरा आयो । मेरो नामचाहिँ त्यति आएको छैन ।

रामकृष्ण आफैँ सहकारी ठगीमा परेको दाबी गर्दै मिडियासामु हारगुहार गर्ने कलाकार हुन् ।

त्यसबेला ‘सिधा कुरा जनता’सँग टेलिभिजन कार्यक्रम चलाउने रविले नै उनी सहकारीको चंगुलमा परेको रिपोर्ट बजाएका थिए ।
रवि र रामकृष्णको दोस्ती तीन दशक पुरानो हो । रवि पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको केसमा प्रहरीको हिरासतमा पुग्दा पनि रामकृष्ण भेट्न चितवन पुगेका थिए ।

त्यसबेला राकृष्णले भनेका थिए, ‘साथी समस्यामा छ । आत्मविश्वास बढाउन आएको हुँ ।’

अहिले रवि शक्तिशाली सत्तारूढ दल रास्वपाका सभापति हुन् । उनीमाथि सहकारी ठगीको मुद्दा विभिन्न अदालतमा विचारधीन छन् ।

कमजोर प्रतिपक्षको भएकाले रविले ठगीको मुद्दामा राहत पाइरहेका छन् भन्ने आमबुझाइ पनि छ ।

रामकृष्णका दर्शक पनि रविको जोडिएकामा मुद्दाका पीडित पक्ष हुन् । यो सन्दर्भमा रविको पक्षमा रामकृष्ण जोडिएकामा ठूलो संख्याका व्यक्तिहरू असन्तुष्ट बने । उनैले रविलाई चढेको गाडी चलाएको खुलाएपछि बहिष्कारको ट्रेन्ड चलेको हो ।

रामकृष्णको फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । दुई–तीन दिनअघि बहिष्कारको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ । धेरै उनीमाथि व्यक्तिगत तहमा उत्रिएर आक्रोश पोखिरहेका छन् ।

अब यो आक्रोश फिल्मको व्यापारमा नदेखिएला भन्न सकिन्न । साथीको नाताले राजीतिज्ञको पक्षमा ढल्किँदा रामकृष्ण बहिस्कारमा परेका छन् ।

०००

कलाकारहरू सत्ताको रापतापमा घुल्न लागेको दर्शकले मन नपाराएको पाइन्छ ।

कलाकारको राजनीतिक झुकावप्रति दर्शक यति रुष्ट छन् कि गायक पशुपति शर्मा र प्रकाश सपूतलाई उदाहरण लिएर बुझौँ ।
शर्मा राजनीतिक चेत बोकेका कलाकार हुन् । उनका गीतमा बेथिति र राजनीतिक सटार पनि हुन्छ ।

‘लुट्न सके लुट्’ गीत निकाल्दा उनलाई तत्कालीन सरकारको नेतृत्व गरिरहेको दलको विरोधीसम्म भन्न भ्याइयो ।

एमाले सरकारमा नहुँदा ‘मलाई अमेरिका पनि यही, जपान पनि यही’ जस्ता गीत निकालेकाले उनीलाई त्यस दलको विरोधी किटान गर्ने पनि भेटिए ।

प्रकाश सपूले ‘पीर’ गीत निकाल्दा माओवादीविरोधी किटान हुनुपर्‍यो । माओवादी जनयुद्धका लडाकुको विकसित जीवनशैली पनि गीतको भिडियोमा प्रस्तुत गरेका थिए ।

पछि एमाले अध्यक्ष केपी शर्माको ओलीको प्रशंसा गरेपछि उनीमाथि ठूलै साइबर आक्रमण भयो । सामाजिक सञ्जालमा उनलाई ‘एमालेको कार्यकर्ता’कै रुपमा बिम्बित गरियो ।

आफ्नै कर्म र चेतले काम गर्दा त कलाकारमाथि राजनीतिक झुकावको आरोप लाग्छ ।

अब खुलेआम व्यक्ति निकट हुँदा रामकृष्णले आजको दिन देख्नु अस्वभाविक हो र ?

फिल्मकै कुरा

पछिल्लो समय तीन फिल्महरूमाथि सामाजिक सञ्जालमा बहिष्कारको कुरा उठ्यो ।

प्रकाश सपुतको फिल्म ‘वसन्त’ : एमाले अध्यक्ष ओलीको प्रशंसा गरेकाले ।

फिल्म ‘लालीबजार’ : अदालतले प्रदर्शन रोक्न दिएको आदेशमा असन्तुष्ट लालीबजार टिमको प्रदर्शनमा निश्चल बस्नेत सहभागी थिए ।

फिल्मकी नायिका उनकी श्रीमती नायिका स्वतस्तिमा खड्का हुन् । जेन–जी आन्दोलनमा सहभागी भएपश्चात् निश्चल रास्वपा वरिष्ठ नेता बालेन शाहसहितसँग निटक छन् । उनीको राजनीतिक संलग्नतामा रुष्टले बहिष्कार गरेका हुन् ।

फिल्म ‘मालती मंगले’ : निर्माता रामकृष्णको रास्वपा सभापति लामिछानेसँगको घनिष्ठता ।

किन बढ्यो बहिष्कारको घटना ?

पछिल्लो एक सातामा दुई फिल्म ‘लालीबजार’ र ‘मालती मंगले’ बहिष्कारमा परेका छन् । बादी समुदायसँग विवादमा जोडिएर झमेलामा परेको ‘लालीबजार’ उच्च अदालत पाटनको आदेशसँगै शुक्रबारदेखि प्रदर्शनमा जाँदैछ।

यद्यपि यी दुवै फिल्म हलमा लागेका छैनन् । सामाजिक सञ्जालको प्रभाव हलमा कति रहन्छ त्यो अनुभव गर्न बाँकी नै छ ।

तर, बहिष्कारमा पर्नु सामान्य विषय होइन । प्रदर्शनमको संघारमा बहिष्कारको फन्डा चल्दा आर्थिक जोखिम स्वतः रहन्छ ।

कलाकारको भविष्य र निर्माता आर्थिक जोखिममा रहनु सामान्य होइन । फिल्म निर्माणको व्यवसायिक पाटोमै धक्का पुग्छ ।
तथापि, यी दुई फिल्म बहिष्कारमा एउटा समानता छ । त्यो हो– रास्वपासँगको घनिष्ठता ।

रविसँगको घनिष्ठता रामकृष्णले छताछुल्ला पारिसके ।

तर, निश्चल धर्नामै सहभागी भएकाले ‘लालीबजार’माथि बहिष्कार ट्रेन्ड चल्यो । न निश्चल यो फिल्मको कुनै जिम्मेवारीमा छैनन् । उनको परिवारको सदस्य फिल्मकी नायिका हुन् ।

रंगकर्मी तथा लेखक घिमिरे युवराज अहिलेको बहिष्कारको ट्रेन्डलाई विपक्षी खेमाको अस्त्र मान्छन् ।

उनी भन्छन्, ‘अहिले जो-जो बहिष्कारको ट्रेन्डमा छन्, उनीहरू विपक्षी समूहको आक्रमणमा परेका हुन् । पछिल्लो समय यो चलन बढेको छ । सर्जकनिकट भएको विचार वा दल विपक्षी खेमाले बहिष्कार अभियान चलाएका हुन् ।’

कलाकारले झुकाव राखेको पार्टीको विचार सिर्जनामा देखिनु चाहिँ उनी बहसको विषय मान्छन् ।

‘कुनै सर्जकले राजनीतिक झुकाव राख्दा फरक पर्दैन । तर, राजनीतिक झुकावकै कारण बहिष्कारमा पर्नु लोकतान्त्रिक चरित्र होइन । उसका सर्जनामा झुकाव रहेको दलको विचार बिम्बित हुन्छ भने बहस जरुरी छ । आवद्धता वा निकटताले सिर्जना बहिष्कार लोकतान्त्रिक देशले कल्पान गर्दैन,’ घिमिरेको बुझाइ छ ।

नेपालका ठूला राजनीतिक घटनामा सर्जकहरूको सहभागिताको स्मरण गराउँदै निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अध्यक्ष केपी पाठक अहिलेको बहिष्कार ट्रेण्डलाई अराजकतालाई प्रश्रय भएको मान्छन् ।

अहिलेका बहिष्कारको टेन्ड जेन-जी आन्दोलन र रास्वपासँगको निकटताको उपज रहेको बताउँदै उनी भन्छन्, ‘पहिला पनि कला क्षेत्रका व्यक्तिहरू परिवर्तनको पक्षमा, नयाँ विचारसँग उभिए । त्यसबेला बहिष्कारको कुरा भएन । अहिले किन हुनुपर्‍यो?’

आफ्नो विपक्षी दलको विचारसँग सहमत भएको वा निटक रहेको व्यक्तिको सिर्जना बहिष्कार गर्नुलाई चेतनाको अभावका रुपमा उनी बुझ्छन् ।

भन्छन्, ‘हामीले विश्वरभरका विभिन्न आस्था र विचार बोक्ने मानिसका सिनेमा खोजेरै हेर्छौं । सिनेमामा बिम्ब गरिएको विचारमा बहस हुनुपर्छ । तर, कुन विचार बोकेकोले सिनेमा बनायो त्यो मुख्य कुरा होइन र व्यक्ति हेरेर सिर्जना बहिष्कार गर्ने कुरा जायज होइन ।’

आफ्नो विचार वा पक्ष लिने एकै समूहले उत्पादन सिर्जनाले मात्रै कुनै पनि कलाको क्षेत्र पूर्ण नहुने उनी बताउँछन् । भन्छन्, ‘अर्को विचार र समूहको सिर्जना बहिष्कार गरिहाल्ने प्रवृति छ । त्यसो भए एकै विचार र समूहले उत्पादन गरेको फिल्म दर्शकका लागि पूर्ण हुन्छ त ?’

निर्माता अविरल थापाको बुझाइमा यो बहिष्कारको ट्रेन्ड समाजको चेतना र कलाकारहरूको असान्दर्भिक राजनीतिक अपजस हो ।

उनको आशय छ- कलाकारहरू राजनीतिसँग जोडिएको मन नपराएको पनि पाइन्छ । तर, सत्ताको रापताप लिन खोज्ने कलाकारको आकर्षण पनि कमको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : ३९ बजे

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको