मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई सोमबार लुटपाटसम्बन्धी गैर–जमानती आरोपमा पक्राउ गरिएको छ। एक महिनाभित्रै माथिल्लो सदनका दुई सदस्य यस्तै आरोपमा पक्राउ परेपछि देशको राजनीतिक घटनाक्रम थप पेचिलो बनेको छ।
७१ वर्षीय मार्कोलेटालाई उपनगरीय क्विजोन सिटीस्थित विशेष भ्रष्टाचारविरोधी अदालत स्यान्डिगनबायनमा उपस्थित गराएर प्रहरी हिरासतमा लिइएको हो। पक्राउअघि उनले आरोपको वैधानिकतामाथि प्रश्न उठाउँदै पक्राउ प्रक्रिया रोक्न प्रयास गरेका थिए तर अदालतले प्रारम्भिक प्रमाण पर्याप्त रहेको ठहर गर्दै पक्राउ आदेश जारी गरेपछि उनले अदालतको निर्णयको सम्मान गर्ने बताउनुभएको छ। फिलिपिन्सको कानुनअनुसार लुटपाटसम्बन्धी आरोपमा जमानतको व्यवस्था छैन।
विशेष भ्रष्टाचारविरोधी अभियोजक रहेको लोकपाल कार्यालयका अनुसार मार्कोलेटाले आफ्ना समर्थकबाट चुनावी अभियानका लागि प्राप्त ७५ करोड पेसो (करिब एक करोड २० लाख अमेरिकी डलर) बराबरको रकम सम्पत्ति विवरणमा उल्लेख नगरेको आरोप लागेको हो। उनले भने आफूले कुनै गैरकानूनी काम नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् ।
मार्कोलेटा इग्लेसिया नी क्रिस्टो (चर्च अफ क्राइस्ट) धार्मिक समूहसँग आबद्ध छन्। उनको पक्राउअघि उक्त समूहले राजधानी मनिलामा तीन दिनसम्म विरोध प्रदर्शन गरेको थियो, जसमा १५ हजारभन्दा बढी सदस्य सहभागी भएका थिए। प्रदर्शनका कारण राजधानीमा व्यापक सवारी जाम भएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मङ्गलबारका दुई सार्वजनिक कार्यक्रम रद्द गरेका थिए ।
यसअघि गत महिनाको सुरुआतमा सिनेटर जिङ्गगोय एस्ट्राडालाई पनि बाढी नियन्त्रण आयोजनाबाट ५७ करोड पेसोभन्दा बढी कमिसन लिएको आरोपमा पक्राउ गरिएको थियो। उहाँले पनि आरोपको खण्डन गर्दै आएका छन्।
मार्कोलेटा र एस्ट्राडा दुवै पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे तथा उपराष्ट्रपति सारा डुटेर्टेका निकट सहयोगी मानिन्छन्। यसैबीच, २४ सदस्यीय सिनेटले सोमबार महाभियोग अदालतका रूपमा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्धको सुनुवाइ सुरु गर्ने तयारी गरेको छ। उनीमाथि अघोषित सम्पत्ति सङ्कलन गरेको तथा राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको हत्या गर्ने सार्वजनिक धम्की दिएको आरोप लागेको भए पनि उनले सबै आरोप अस्वीकार गरेका छन् ।
उता, डुटेर्टेका अर्का सहयोगी तथा पूर्वप्रहरी प्रमुख सिनेटर रोनाल्ड डेला रोजा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेपछि लुकेर बसेका छन् ।
पूर्वराष्ट्रपति डुटेर्टेको लागुऔषधविरुद्धको अभियानका क्रममा मानवताविरुद्ध अपराध भएको आरोपमा उनलाई गत वर्ष पक्राउ गरी नेदरल्यान्ड्स लगिएको थियो। उनको मुद्दाको सुनुवाइ आगामी नोभेम्बर ३० मा हुने तय गरिएको छ।












प्रतिक्रिया