पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त हुन् चियाङ्सी र कुइचोउ । तुलनात्मक रुपमा चियाङ्सीको भन्दा कुइचोउले विकासको गति तीव्र रुपमा पक्रिएको छ।
चियाङ्सीको राजधानी कान्चोउले पनि आफूलाई विकसित सहरका रुपमा उभ्याउँदैछ। यसका अन्य सहर रुइचिन र युतु पनि विस्तारै चर्चामा आइरहेका छन् ।

चियाङ्सीले आफ्नो गाउँ क्षेत्रलाई मानिसहरू त्यहीँ अडिने गरी विकासको रफ्तार समातेको छ। चियाङ्सीका नानकाङ जिल्ला, रुइचिन सहरका ग्रामीण भेग र माओ त्सेतुङसहितले लङ मार्च थाल्दा अड्डा बनाएको यपिङ गाउँ पुग्दा मानिसहरूको बाक्लो बसोबास भेटियो।
यता कुइचोउको राजधानी कुन्याङले पछिल्लो समयमा हरेक क्षेत्रमा चीनका अन्य शीर्ष पाँचका सहरसँगै आफूलाई उभ्याएको छ। कुइचोउका चुन्यी सहर पनि विकासको रफ्तारमा छ । यी दुई प्रान्तका सहरी क्षेत्रले विकासको बुलेट ट्रेन समातिरहँदा गाउँलाई पनि विस्तारै विकासको मार्गमा अघि बढाइएको छ।

विकासका न्यूनतम् पूर्वाधार सडक सबै नागरिकको घर-घर र दैलोमा पुर्याइएको छ। बिजुली र खानेपानीको सुविधा पनि गाउँमै छ। स्वास्थ्योपचारका लागि सरकारले गाउँसम्मै अस्पताल पुर्याएको छ।
गाउँलाई सहरसम्म जोड्ने पहिलो शर्त सडकलाई हरेक नागरिकका घरदैलोमा लगेर चिनियाँ सरकारले गाउँमा उत्पादित कृषिउपज बिक्रीको सजिलो ढोका खोलिदिएको छ। गाउँका किसान कोही धान खेती गरिरहेका भेटिए भने कोही तरकारी खेतीमा व्यस्त भेटिए ।
उता कुइचोउका ग्रामीण बस्ती डुल्दा भने फरक दृश्य देखियो । कुइचोउको राजधानी कुन्याङबाट चुन्यी सहर हुँदै लङ मार्चका बेला रेड आर्मीले छिचोलेको लोयुशान पास जाँदा कयौँ हरियालीले भरिएका गाउँ बस्ती भेटिए ।

तीमध्ये धेरैजसो बस्तीमा मकै खेती गरेको देखिन्थ्यो । अर्कातिर चिनियाँ अत्यधिक चुरोट पिउनेमा पर्छन् । चिनियाँको चुरोट पिउने लतलाई पूरा गर्न गाउँ गाउँमा सुर्ती खेती गरेको पनि भेटियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१६ मा भ्रमण गरेको कुइचोउकै एउटा गाउँ हुवामाओ गाउँ झन् कृषिजन्य उपजले रमितलाग्दो देखियो । त्यहाँ गरिने धानखेतलाई चीन सरकारले विशेष मान्यता दिएको रहेछ ।

राष्ट्रपति सीले समेत उक्त क्षेत्रको भ्रमण गरेर कृषकको हौसला बढाएका रहेछन् । उनी त्यस गाउँमा पुगेयता अन्य प्रान्तबाट हुवामाओ गाउँ पुग्ने चिनियाँहरूको लर्को लाग्ने गरेको रहेछ । यो गाउँमा विशेष चिनियाँ पेय पदार्थ माउथाई जस्तै स्थानीय परिकार पनि बन्ने रहेछ । कृषकहरूको बाक्लो बसोबास रहेको यहाँ माटोका भाँडा बनाउनेहरूमेत भेटिए।





























प्रतिक्रिया