बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग « Khabarhub

बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ- वर्षायामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ । अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त सङ्ख्या बढेर करिब १०० पुगेको छ । पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् ।

वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो । मुख्ययाममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरेकामा वर्षायाममा कतिपय दिन एक-दुई जना र अन्य दिन १०-१५ जनासम्म मात्रै आउने गरेका धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए ।

भदौमा हालसम्म ६१४ जना पर्यटक धारापानी चेकपोस्ट हुँदै प्रवेश गरेका छन् । तीमध्ये ९९ सार्क मुलुकका र ५१५ जना गैरसार्क मुलुकका छन् । पछिल्लो समय विशेषगरी मनास्लु हिमाल आरोहण तथा पदयात्राका लागि आउने पर्यटक बढेका गुरुङले बताए ।

“पछिल्लो दुई सातादेखि पर्यटकको आगमन बढिरहेको छ । अहिले विशेषगरी मनास्लु हिमाल चढ्न आउने पर्यटक बढी छन्”, उनले भने, “अब मुख्य पर्यटन याम सुरु हुँदै गएकाले पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा छ ।” धारापानी चेकपोस्टको तथ्याङ्कअनुसार सन् २०२६ जनवरी १ देखि सेप्टेम्बर ६ सम्म २० हजार ९१७ पर्यटक उक्त प्रवेशबिन्दु हुँदै आएका छन् ।

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङतर्फ पुग्छ । म्याग्दी र कास्की क्षेत्रसँग जोडिने यो पदमार्ग पाँच जिल्लाको प्राकृतिक तथा सांस्कृतिक विविधता समेट्ने प्रमुख पदयात्रा मार्ग हो । हिमाली दृश्य, हिमाली बस्ती, स्थानीय संस्कृति तथा प्राकृतिक र धार्मिकस्थलको अवलोकन गर्न पाइने भएकाले यो मार्ग पर्यटकको रोजाइमा पर्दै आएको छ ।

वर्षायाममा व्यवसाय सुस्ताएपछि केही समय सुनसान बनेका पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायी अहिले पुनःसक्रिय हुन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका-४, च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले असोज र कात्तिकमा पर्यटकको चाप बढ्ने भएकाले व्यवसायी उत्साहित रहेका बताए । “असोज र कात्तिकमा पर्यटकको चाप निकै बढ्छ । उक्त समयमा निकै व्यस्त हुन्छौँ र व्यवसाय पनि राम्रसँग चल्छ । दैनिक रु ५० हजारसम्म कारोबार हुन्छ”, उनले भने ।

यस वर्ष पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको बताउँदै तामाङले पदमार्गको बाटो सुधारमा ध्यान दिनुपर्ने बताए । “पर्यटक आउनेमा हामी निकै उत्साहित र आशावादी छौँ । बाटो राम्रो र सहज बनाउन सकिए पर्यटकलाई थप सहज हुनुका साथै आगमन पनि बढ्नेछ”, उनले भने ।

पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङ, खुसीबहादुर तामाङलगायत व्यवसायी पनि मुख्य याममा पर्यटकको आगमन बढ्ने अपेक्षामा छन् । मौसम अनुकूल बन्दै गएपछि दैनिक ३०० देखि ४०० सम्म पर्यटक पदमार्गमा आउने उनीहरूको अनुमान छ । अन्नपूर्ण पदमार्गमा असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीय याम हो । दसैँ, तिहार तथा त्यसपछिका समयमा पदयात्रीको आगमन बढ्ने भएकाले लामो समयदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिने व्यवसायीको विश्वास छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ५ : ०४ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण