काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको अन्तिम टुंगो लाग्ने अवस्थामा पुगेको छ। पूर्वघोषित तालिकाअनुसार अगाडि बढेमा बिहीबार बिहानबाट नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ। जेन–जी आन्दोलनपछिको निर्वाचनमा निकै खुम्चिएको कांग्रेसमा सन्दीप रानाले पाल्पाबाट प्रतिनिधिसभामा निर्वाचन जित्न सफल भएका थिए। उनले पनि कांग्रेसको यस महाधिवेशनबाट आफूलाई केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका छन्। रानाले निर्वाचित हुनेभन्दा पनि आफू जिम्मेवारीमा अनुमोदित हुनका लागि उभिएको बताउँछन्। रानासँग खबरहबका लागि दिनेश लुइटेलले गरेको कुराकानीको सम्पादित अंश:
कांग्रेसको केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन ?
त्यो दायित्वप्रति न्याय गर्न सक्छु, मैले जिम्मेवारी लिन्छु भनेर अगाडि सरेको छु। कतिपय साथीले यो १५औँ महाधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर चुनावजस्तै उम्मेदवारी दिने, अनि हारजितको कुरा, ‘फलानाले जित्नुहुन्छ, फलानाले हार्नुहुन्छ’ जस्तो धेरै कुरा गर्नुहुन्छ। कसैले चाहिँ शुभकामना दिनुभएको छ, ‘तपाईंलाई अग्रिम जितको शुभकामना’ भनेर।
म यसलाई फरक ढंगले बुझ्छु । नेपाली कांग्रेस एउटा परिवार हो र त्यहाँ आउनु भएका प्रत्येक महाधिवेशन प्रतिनिधि र हामी सबै एउटै परिवार हौँ। परिवारको बीचमा चुनाव र हारजित भन्ने हुँदैन। यो एउटा दायित्वको प्रक्रिया हो । संगठनमा कामको जिम्मेवारीको विभाजन गर्ने एउटा छनोट प्रक्रिया हो। त्यसमा धेरै साथीहरूले आकांक्षा राख्नुभएको छ । ‘म यो दायित्वमा काम गर्छु’ भनेर अगाडि बढ्नु सकारात्मक सूचकांक हो ।
१५औँ महाधिवेशनबाट आउने नेतृत्वसँग केन्द्रीय सदस्यमा रहेर नेपाली कांग्रेसको संगठनमा नवीनतम ऊर्जाका साथ सहकार्य गरेर काम गर्न सक्छु भनेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।
महाधिवेशन प्रतिनिधिले तपाईंलाई किन रोज्ने?
नेपाली कांग्रेस पार्टी राजनीतिक पार्टी मात्रै होइन, यो एउटा धरोहर हो। नागरिकको हक अधिकारका लागि नै नेपाली कांग्रेसको स्थापना भएको हो। नेपाली कांग्रेसको स्थापना भएदेखि नै प्रजातन्त्रका लागि आन्दोलन भयो। नेपाली कांग्रेसले यो देशका लागि धेरै काम गरेको छ।
यो देशमा महिला दिदीबहिनीले भोट हाल्न पाउने अधिकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा आएको छ र नेपालले यो गौरव पनि पायो कि दक्षिण एसियामै सबैभन्दा पहिलो देश जसले महिला दिदीबहिनीलाई भोट हाल्ने अधिकार दियो। आदिवासी, जनजाति, दलित, पिछडिएका सबैलाई अधिकार दिने काम नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ। त्यति मात्रै होइन, बाटो बिराएर हिंसाको बाटो समात्नुभएका साथीहरूलाई पनि राजनीतिको मुख्य धारमा ल्याउने काम नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ।
भर्खरै मात्र जेन–जीको आन्दोलन भयो। जेन–जीको आन्दोलनपछि यो देशलाई अहिले फेरि लोकतन्त्रको बाटोमा ल्याउनका लागि नेपाली कांग्रेसकै माध्यमबाट प्रशिक्षित हुनुभएका राष्ट्रपतिको नेतृत्वमा यो देश अहिले राजनीतिक स्थिरतामा आउन सफल पनि भएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय छ, सुपर कम्प्युटरको समय छ, आणविक ऊर्जाको समय छ, यो सबैलाई समेटेर संसारसँग काँधमा काँध मिलाएर हिँड्न सक्ने राष्ट्र बनाउनुपर्ने छ। यो नेपाली कांग्रेसका लागि नयाँ जिम्मेवारी हो।
नेपाली कांग्रेसले धेरै काम यो राष्ट्रका लागि गरेको छ। हाम्रा अग्रजहरूले लोकतन्त्र ल्याएर दिनुभएको छ र हाम्रो पिँढीले अझै थुप्रै काम यो देशमा गर्नुपर्ने जिम्मेवारी छ । अग्रजहरूले लोकतन्त्र ल्याएर योगदान दिनुभयो, अब हाम्रो पिँढीले विकासका लागि काम गर्नुपर्छ।
समयको माग अनुसार हामीले हाम्रो संस्कार, संस्कृति, मूल्य, मान्यता, कोर भ्यालुलाई पनि संरक्षण गरेर अगाडि लैजानुपर्ने छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय छ, सुपर कम्प्युटरको समय छ, आणविक ऊर्जाको समय छ, यो सबैलाई समेटेर संसारसँग काँधमा काँध मिलाएर हिँड्न सक्ने राष्ट्र बनाउनुपर्ने छ। यो नेपाली कांग्रेसका लागि नयाँ जिम्मेवारी हो। यो दायित्वमा रहेर मैले आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने लागेको छ।
लामो समयको आन्तरिक विवाद र रस्साकस्सीपछि नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ। यो महाधिवेशनले दिने सन्देश के हो?
हामी लोकतन्त्रमा विश्वास गर्छौं। हामी एकअर्काको विश्वासलाई आदर गर्छौं, उहाँहरूको विचार सुन्छौं। एकअर्काको विचारमा हामी आ–आफ्नो मत राख्छौं। यो विवादभन्दा पनि यो मतभेद हो। लोकतन्त्रमा मतभेद स्वाभाविक हो, तर मनभेद चाहिँ छैन है हाम्रो। हामी एकआपसमा सबैजना मिलेर गएका छौँ र अहिलेको १५औँ महाधिवेशनमा पनि सबैजना एकसाथ आउने भनेका छौं। केही साथीहरू जोडिने क्रममा हुनुहुन्छ, केही साथीहरू जोडिसक्नुभएको छ। १५औँ महाधिवेशनले लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण नागरिकलाई एकसाथ, एकमुष्ट एकै बाटोमा अगाडि बढाए नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तका आधारमा यो राष्ट्रलाई राम्रो गर्ने बाटोमा अगाडि बढ्ने काम हामीले ल्याएका छौँ।

अहिलेको नयाँ पुस्तालाई आजको भोलि नतिजा चाहिएको छ। यो पुस्तालाई कांग्रेसप्रति आकर्षित गर्ने योजना तपाईँसँग के छन् ?
आकर्षणभन्दा पनि हामीले नेपाली कांग्रेसमा युवालाई अवसर दिएका छौँ । अहिले तपाईंले देख्नुभएको छ, ३५ वर्षभन्दा मुनिका युवालाई नेतृत्वमा ल्याएका छौँ। यो आकर्षण होइन, अवसर हो ।
हामीले नेपाली कांग्रेसमा युवालाई अवसर दिएका छौँ । अहिले तपाईंले देख्नुभएको छ, ३५ वर्षभन्दा मुनिका युवालाई नेतृत्वमा ल्याएका छौँ। यो आकर्षण होइन, अवसर हो ।
हाम्रो देश ४७ प्रतिशत युवा भएको देश हो । हामीले देशमै रहेका युवालाई पनि अवसर दिनुपर्ने छ। त्यसको साथसाथै विदेशमा जान वा पलायन हुन बाध्य भएका युवालाई पनि स्वदेशमै फर्काएर, स्वदेशमै आफ्नो पसिना बगाएर यो देशलाई समृद्ध बनाउने वातावरण नेपाली कांग्रेसले बनाउनुपर्छ। यसैको साथ हामी युवाका साथ काम गरिराखेका छौँ।
तपाईं नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुँदा कांग्रेसमा के सुधार गर्नुहुन्छ?
तपाईंले ‘निर्वाचित’ भन्नुभयो, म यसलाई सच्याउन चाहन्छु। म देशैभरिबाट आएका महाधिवेशन प्रतिनिधि साथीहरूबाट अनुमोदित हुन चाहन्छु, निर्वाचित होइन।
यो राजनीतिक कद बढाउनका पद प्राप्त गर्ने समय होइन। म त संगठनमा दायित्वलाई न्याय गर्न सक्छु भनेर पद होइन दायित्वको कुरा गरिराखेको छु। त्यो दायित्वमा अनुमोदित हुँदै गर्दा नेपाली कांग्रेसले हिजोको परम्परालाई पनि साथमा लिएर जाने हुनुपर्छ । म आगामी दिनमा आजको समयअनुसारको विश्वसँग काँधमा काँध मिलाउन सक्ने राष्ट्र निर्माण गर्ने काममा नेपाली कांग्रेसलाई डोऱ्याउन चाहन्छु। कांग्रेसमा अग्रजको सम्मान र युवाले अवसर पाउने खालको संगठन बनाउन चाहन्छु।














प्रतिक्रिया