काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा मागेको विषयले यतिबेला सञ्चार जगत तरंगित छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग लिन चाहने र दलमा आबद्धहरूलाई राजीनामा दिन भनेकी हुन् । राजनीतिमा लाग्नेलाई आफूले स्वतन्त्र छाडिदिने बताएसँगै चारजना मन्त्रीहरूबारे सार्वजनिक प्रश्न उठेको हो।
प्रधानमन्त्रीले नामै तोकेर मन्त्रीहरूको राजीनामा भने मागेकी होइनन् । तर राजनीतिमा सक्रिय हुन लागेका र निर्वाचनमा उठ्नेहरूलाई आफूले स्वतन्त्रता छाडिदिने सन्देश कार्कीले दिएकी हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकाससहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको राजनीतिक सक्रियताबारे सबैभन्दा प्रश्न उठेको छ।
घिसिङले यसअघि नै उज्यालो नेपाल पार्टी खोलेका थिए । तर उक्त पार्टीले केही महिना पनि नगुजार्दै कुलमानले राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराए । आफूसमेत उक्त पार्टीको दोस्रो वरीयतासहित उपसभापति बन्ने सहमति पत्रमा रातारात हस्ताक्षर गरे ।
अर्कातिर रास्वपा कार्यालयमै पुगेर घण्टी चुनाव चिह्न लिन तयार खेलकुदमन्त्री बब्लु गुप्ताको भूमिकाबारे पनि अहिले प्रश्न उठेको छ। त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि घण्टी लिएर ललितपुरबाट संसदीय चुनावमा उठ्न लागेको चर्चा छ । उता गृहमन्त्री ओमप्रकाश अर्यालमाथि पनि पनि राजनीतिक सक्रियतालाई लिएर प्रश्न उठेको छ।
खरेल र अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनेबारे औपचारिक रुपमा मुख खोलेका छैनन् । अहिलेसम्म कुनै दलमा उनीहरूको आवद्धता पनि देखिएको छैन ।
मन्त्री अर्याल र खरेल दुवै रास्वपाबाट उम्मेदवार बन्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । तर यो कुरा दुवैजना अहिले नै स्वीकार्न तयार छैनन् ।
सञ्चारमन्त्री खरेलले त आफू कुनै पार्टीको सदस्य नभएको बताउँदै आएका छन् । तर उनी अन्तरिम सरकारको मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए । उनले पछिल्ल समय कुनै दलको बैठकमा भाग नलिएको बताइरहेका छन् । उनले कुनै दलमा नलागेको अवस्थामा आफूलाई राजीनामा दिन लगाइएको भनेर बाहिर आएका समाचारबारे आश्चर्य प्रकट गरेका छन् । ‘कुलमान सरसँग मलाई पनि जोडेर चर्चा गरिएको छ। किन जोड्यौ भनेर उजुरी गर्न जाने कुरा पनि भएन ।’
खरेलका अनुसार सोमबारको क्याबिनेटमा प्रधानमन्त्री कार्कीले रमाइलो शैलीमा खुसी हुँदै ‘तपाईंहरू कोहीमध्ये राजनीतिमा जान चाहनुहुन्छ, पार्टीमा जोडिन चाहनुहुन्छ र चुनाव लड्नुहुन्छ भने कुनै अवरोध हुँदैन’ भनेको कुरालाई अतिरञ्जित गरिएको बताउँछन्।
‘प्रधानमन्त्रीज्यूले यदि यहाँहरूमध्ये कोही चुनावको तयारी गर्दै हुनुहुन्छ भने मैले स्वतन्त्र छोडिदिएको छु। कम्फर्टेबल महसुस गरेर तयारीमा लाग्नुभए हुन्छ भन्नुभएको साँचो हो’, खरेलले खबरहबलाई भने, ‘नागरिक सरकारमा रहेकै कारण चुनाव लड्न पाइन्न भनेर निराश नहुनुहोला । यहाँहरू यदि चुनावको तयारी गर्दै हुनुहुन्छ भने स्वतन्त्र छोडिदिएको छु भन्नु भएको हो । प्रधानमन्त्रीज्यूले निर्वाचनमा लड्न चहानेलाई मबाट अवरोध हुँदैन भन्नुभएको हो।’
प्रधानमन्त्रीले नामै तोकेर कुनै पनि मन्त्रीलाई राजीनामा दिनु नभनेको उनले बताए । उनले व्यक्तिगत रुपमा कुनै मन्त्रीलाई भनेको भए त्यो आफूलाई थाहा नभएको पनि प्रष्टीकरण दिए ।
यता गृहमन्त्री अर्यालको सचिवालयका सदस्यहरू पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा सामूहिक रूपमा सबैसँग एउटै कुरा गरेको बताउँछन् । कुनै पनि व्यक्ति तोकेर राजीनामा दिन नभनेको उनीहरूको जिकिर छ ।
‘प्रधानमन्त्रीले व्यक्ति नै तोकेर राजीनामा दिनु भन्नुभएको होइन । तर संकेत चाहिँ कुलमानजी र बब्लुजीलाई गरिएको हो’,गृहमन्त्री अर्यालको सचिवालय एक सदस्यले भने, ‘सञ्चार र गृहमन्त्री त्यही घानमा पर्नुभयो। उहाँहरू दुवैजना पार्टीमा आइदिए हुन्थ्यो भन्ने शुभेच्छा आएको छ। तर प्रधानमन्त्रीले उहाँहरूको राजीनामा मागेको होइन ।’
प्रधानमन्त्रीले के भनेनी थिइन् ?
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर कुनै मन्त्रीको राजीनामा नमागेको उनको सचिवालयले पनि जनाएको छ। तर लाक्षणिक र सांकेतिक रूपमा पार्टीसँग जोडिएकाहरूलाई यदि निर्वाचन लड्ने हो भने स्वतन्त्र छोडिदिन्छु भनेको उनको सचिवालयका एक सदस्य बताउँछन् ।
यसअगावै प्रधानमन्त्रीसँगको भेटवार्तामा पनि र ऊर्जामन्त्री घिसिङले आफू निर्वाचन लड्ने तयारीमा रहेको बताएका थिए । चुनावमा उम्मेदवारीअगावै राजीनामा दिएर तयारीमा लाग्ने कुरा प्रधानमन्त्रीलाई राखिसकेको उनको सचिवालयले जनाएको छ।
के गर्छन् कुलमान र बब्लु?

प्रधानमन्त्रीले राजीनामा नमागे पनि कुलमानले पुस अन्तिम या माघको पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । पार्टीमा खुलिसकेपछि उनी राजीनामा दिने तयारीमा छन् ।
कुलमाननिकट उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमै निर्वाचन अगाडि राजीनामा दिएर चुनाव लड्ने भनिसकेको बताएका छन् ।
‘माघ पहिलो सातासम्म उहाँले राजीनामा गर्ने तयारी गरेकै हो। अहिले हामी राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्ने प्रक्रियामा छौँ’, उनले भने, ‘अहिले नै पार्टी मिलिसकेको छैन। तर उहाँले रास्वपा उपसभापतिको पदभार ग्रहण गर्नुअगाडि राजीनामा दिनुहुन्छ।’
उज्यालोका अर्का केन्द्रीय सदस्य महेन्द्र लावती घिसिङले राजीनामा दिनेबारे केन्द्रीय कमिटीमा राखिसकेको बताउँछन् । उनले भने, ‘कुलमानजीले राजीनामा दिनुहुन्छ । नागरिक सरकार बिथोल्ने उहाँको मनसाय होइन। पार्टीको सार्वजनिक राजनीतिमा प्रवेश गरेपछि उहाँ मन्त्रीबाट टाढा हुनुहुन्छ ।’
उज्यालो नेपाल घोषणा हुनुअगावै कुलमानले राजीनामा दिनेबारे प्रधानमन्त्रीसँग छलफल गरेका थिए। त्यसबेला प्रधानमन्त्रीले औपचारिक रूपमा पार्टीमा प्रवेश गरेपछि राजीनामा दिने विषयमा सोच्दा हुने बताएकी थिइन्।
‘यसअगाडि नै कुलमानजीले राजीनामाको कुरा प्रधानमन्त्रीलाई राख्नुभएको थियो। उहाँले केही समय सहयोग गर्नु भनेपछि रोकिनुभएको हो। उहाँले निर्वाचनमा उत्रिनुअघि राजीनामा दिनुहुन्छ’, कुलमाननिकट ती नेताले भने ।
खेलकुद मन्त्री गुप्ताले पनि निर्वाचन लड्न तयार भएको अवस्थामा राजनीतिमा प्रवेश गरेपछि मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् । ‘बीचैमा मन्त्री पद छाडेर जाने कुरा भएन । उहाँले कुलमान, बालेन मिलाउन काम गर्नु भएको हो । तर उहाँले कुनै पार्टीको सदस्यता लिनुभएको छैन । पार्टीको सदस्यता लिने अवस्था आए अथाव निर्वाचनमा लड्नुपर्ने मन्त्रीबाट राजीनामा गर्नुहुन्छ’, उनीका एक सहयोगीले भने ।
मन्त्री बब्लुले अहिलेसम्म निर्वाचन लड्ने निर्णय गरेका छैनन् । उनी निर्वाचनको तयारीका लागि छलफलमा छन् ।
सञ्चारमन्त्री खरेल र गृहमन्त्री अर्याल पनि कुनै पार्टीमा गइसकेका छैनन् । उनीहरू पनि निर्वाचनमा लड्ने अवस्थामा आए राजीनामा दिन तयार छन् । ‘जगदीश खरेल र ओमप्रकाश अर्याल निर्वाचन लड्ने भएमा मन्त्रीबाट राजीनामा दिनुहुन्छ’, प्रधानमन्त्रीका एक सल्लाहकार भन्छन्, ‘उहाँहरूलाई हिलो छ्याप्ने काम गर्नु हुँदैन । सहमतिबाटै उहाँहरू निर्वाचन लड्दा सरकारबाट बाहिरिनु हुन्छ । अहिले उहाँहरू निर्वाचन लड्ने तयारीमा हुनुहुन्न ।’
के भन्छन् सञ्चारमन्त्री ?

म कुनै पनि दलको कार्यालय र कार्यक्रममा कहीँ देखिएको छैन । म कुनै पार्टीको सदस्य छैन । म चुनाव लड्ने-नलड्ने निर्णयमा पुगेको छैन। मैले अहिलेसम्म मानसिक रुपमा राजनीतिक दलमा जाने निर्णय गरेको छैन। वार्ता, छलफल र पार्टी प्रवेश कार्यक्रममा पनि पस्थित भएको छैन।
चुनावको वातावरणका लागि काम गरिरहेको छु। बुधबार बिहान मात्रै मैले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेँ। यसरी नै मैले विभिन्न दलका नेतासँग भेटेर चुनावी वातावरण बनाउन लागिरहेको छु । मलाई कुलमान घिसिङसँगै जोडिएको छ । किन हाल्यौ भनेर उजुरी गर्न जान पनि मिलेन।
सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् बैठकमा कसैको नाम लिएर राजीनामा दिनु भन्नुभएको छैन । उहाँले यदि तपाईंहरू निर्वाचनको तयारीमा हुनुहुन्छ भने स्वतन्त्रता छ । नागरिक सरकारको सदस्य कुनै दलको नेता भएर मन्त्रिपरिषदमा बाँधिनुपर्ने अवस्थामा भए यहाँहरूलाई स्वतन्त्रता दिन्छु भन्नुभएको हो ।
म जहाँ-जहाँ पुगेको छु, त्यो ठाउँमा जनताले पार्टीमा गइदियोस्, निर्वाचन लडोस् भन्ने चाहना राख्नुभएको साँचो हो। विभिन्न जिल्लामा जाँदा तपाई पोलिटिक्समा आउनुपर्छ भनेर चाहना राख्नुभएको कुरा सत्य हो। तर म आफैँ राजनीतिमा जाने निर्णयमा पुगेको छैन।
म कुनै राजनीतिक दलमा संलग्न भएको छैन । सदस्यता पनि लिएको छैन । वार्ता र बैठकमा संलग्न नभएकाले राजीनामा दिने विषय पनि उठेको छैन। मैले निर्वाचनमा उठ्ने निर्णय पनि गरेको छैन । त्यसैले मलाई राजीनामाको कुनै दबाब छैन। मन्त्री हुनुअगाडि म सञ्चारकर्मी रहेकाले फेरि सञ्चारकर्मीकै रुपमा फर्किन पनि सक्छु।
प्रधानमन्त्रीज्यूले मलाई राजीनामा दिनुपर्छ भन्नु भएको छैन। बाहिर जुन प्रकारले कुरा आएका छन्, मेरो हिसाबमा उहाँले मलाई त्यसो भन्नुभएको छैन। अरुको विषय मलाई थाहा भएन। मेरो काम निर्वाचनको वातावरण बनाउने हो ।
म सरकारको प्रवक्ता एमव् सञ्चार तथा सूचना प्रविधिमन्त्री भएकाले काम गरिरहेको छु। मेरो कुरा भनेको स्वस्थ र निष्पक्ष निर्वाचन गराउने हो । अन्य साथीबारे मलाई जानकारी भएन। अहिलेको सत्य के हो भने म सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री हो । मेरो काम सरकारलाई सघाउने र निर्वाचन सफल बनाउने हो ।













प्रतिक्रिया