काठमाडौं- हालै सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमत ल्याउने दिशामा अघि बढिरहेको छ । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।
बालेन्द्रसँग पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विशाल मतान्तरले पराजित हुने निश्चित छ ।
चुनावपछि रास्वपा र बालेन्द्रको उदयलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि ठूलै महत्व दिएको देखिन्छ । विशेषगरी दक्षिण एसियाली र पाश्चात्य मुलुकका सञ्चार गृहले यसलाई पुरानो युगको अन्त्य र नयाँ पुस्ताको उदयका रूपमा व्याख्या गरेका छन् ।
भारतीय अखबार द हिन्दूले यसलाई ‘नेपाली राजनीतिमा ठूलो परिवर्तन’ को संज्ञा दिएको छ । द हिन्दूले बालेन्द्रलाई ‘र्यापरबाट राजनीतिज्ञ बनेका युवा’ भन्दै उनी नेपालको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न लागेका नेताका रुपमा व्याख्या गरेको छ । द हिन्दूका अनुसार मतदाताहरू दशकौँदेखि सत्तामा रहेका पुराना अनुहार र उनीहरूको कार्यशैलीबाट आजित भएर नयाँ विकल्पतर्फ आकर्षित भएका हुन् ।
त्यसैगरी, कतारी सञ्चार माध्यम अल जजीराले यस निर्वाचन परिणामलाई ‘जेन-जी विद्रोहको परिणाम’ भनेर चित्रण गरेको छ । अल जजीराले समाचार सामग्रीमा नेपालको ४६ प्रतिशत जनसङ्ख्या २४ वर्ष मुनिको रहेको उल्लेख गर्दै युवाहरूले रोजगारी, सुशासन र पारदर्शिताका लागि मत दिएको बताएको छ ।
बेेलायती प्रसारण संस्था बीबीसीले भने नेपालको यो परिवर्तनलाई ‘आशा र चुनौतीको संगम’ को संज्ञा दिएको छ । बीबीसीले बालेन्द्र शाह र रास्वपाको जितले नेपालमा राजनीतिक स्थिरता आउने वा नआउने भन्ने कुरा उनीहरूले गर्ने काममा निर्भर हुने विश्लेषण गरेको छ । बेलायती अखबार द गार्जियनले बालेन्द्र शाहको शैली र उनको चुनावी अभियानलाई विशेष स्थान दिँदै उनलाई नेपाली राजनीतिका रकस्टार भनेर सम्बोधन गरेको छ।
अर्कोतर्फ, भारतकै अर्को चर्चित अनलाइन लाइभ मिन्टले बालेन्द्र शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा चर्चा गर्दै उनको उदयले छिमेकी मुलुकहरूसँगको सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने पाटोलाई पनि केलाएको छ। यी सबै सञ्चार माध्यमहरूको एउटै निचोड छ— नेपालका पुराना पार्टीहरूले अब आफूलाई सुधार्नुपर्ने समय आएको छ र नयाँ शक्तिहरूले अब केवल नारामा मात्र नभई काममा पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ ।













प्रतिक्रिया