काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टसल अन्तत: चुनावी परिणाममा पुगेर टुंगिएको छ।
काठमाडौं महागनर प्रमुख हुँदा ओलीले प्रधानमन्त्री रहेका बेला पटक पटक असहयोग गरेपछि बदलाभावले झापा क्षेत्र नम्बर ५ मा पुगेका बालेन्द्रले ओलीलाई ४९ हजार ६१४ मतको भारी अन्तरले पराजित गरेका हुन् ।
बालेन्द्रले विजयी हुने क्रममा संसदीय इतिहासकै सर्वाधिक अर्थात् ६८ हजार ३४८ मत पाएका छन्, त्यो पनि ओलीकै गृहजिल्लामा । पराजित भएका ओलीले १८ हजार ७३४ मत मात्रै पाउन सफल भएका छन् ।
यससँगै ७३ वर्षीय ओलीको संसदीय राजनीतिक यात्रामा करिब पूर्णविराम लागेको छ । उता बालेन्द्र भने रास्वपालाई झन्डै दुईतिहाइ संसदीय सिट दिलाउन सफल भएसँगै भावी प्रधानमन्त्रीका रुपमा अग्रस्थानमा देखिएका छन् ।
ओलीले संसदीय चुनावमा पराजय भोगेको यो दोस्रोपटक हो । उनले झापामै ६ पटक जितेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहर चलेका बेला विश्वदीप लिङ्देनसँग उनी झापा ७ मा हारेका थिए ।
२०७९ सालको चुनावमा झापा ५ बाट ओलीले सर्वाधिक मत पाए । यसपटक त्यो परिणामलाई बालेनले विपरीत बनाइदिए । यस पटक बालेनले २०७९ को भन्दा धेरै मत ल्याएर ओलीलाई हराए ।
झापामा एक लाख ६ हजार ३७२ मत खसेको थियो । बालेनले जित्दै गर्दा रास्वपाले झापाका सबै पाँचै क्षेत्र, मोरङका सबै ६ वटै क्षेत्रमा पनि जित निकालेको छ। देशभर रास्वपाले अहिलेसम्म ६० सिटमा जितेर ६२ सिटमा अग्रता बनाइरहेको छ ।













प्रतिक्रिया