समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध « Khabarhub

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध गरिदिएका छन् । सोमबार राजधानीको पशुपतिनाथ मन्दिरमा उनीहरुले १४ वर्षीया समु र १० वर्षीया परुको व्रतबन्ध गरिदिएका हुन् । छोरा र छोरीबीच ‘एक्स’ र ‘वाई’ क्रोमोजमबाहेक अरू भिन्नता नहुने भन्दै व्रतबन्ध गरिदिएको अभिभावकले बताए ।

खबरहबसँग कुरा गर्दै आमा अनुपाले अंश खाने कोही नभएपछि सन्तान बराबर हुन् भन्ने सन्देश दिन व्रतबन्ध गरिदिएको बताइन् ।

‘हाम्रा दुई छोरी हुन् । परिवारबाट भन्दा पनि समाजबाट छोरा पाउनुपर्छ भन्ने दबाब थियो । अंश खाने कोही भएन । किरिया गर्ने छोरा चाहिन्छ भन्ने कुरा आयो’, उनले भनिन्, ‘गाउँ (गोरखा) जाँदा पनि आफन्तले तिमीहरूको किरिया गर्ने हामी हो । पैसा सापटी देउ भन्ने गर्थे । व्रतबन्ध गरेपछि छोरीहरुले अंश खान्छन् र किरिया गर्छन् ।’

छोरी पाएकै कारणले आफूहरु समाजबाट हेपिएको उनको भनाइ छ । ‘छोरा र छोरीबीचको भिन्नता भनेको क्रोमोजम मात्रै हो । बाँकी बच्चा बन्ने प्रक्रिया उस्तै हो । उनीहरुबीच केही फरक हुँदैन । छोरी जन्माउने अभिभावकलाई किन हेप्ने ? छोरी पाएकै कारणले हामीले हेपिँदै आउनुपर्‍यो । सबै सहँदै आउनुपर्‍यो’, उनी थप्छिन्, ‘मेरा छोरीहरुले गुन्युचोली गर्नै मानेनन् । गुन्युचोलीमा मन्त्र पनि नहुने र कुनै वैज्ञानिक आधार पनि नदेखिएको कारण मानेनन् ।’

भारतको हरिद्वारमा छोरीहरूले जनै लगाउँछन् । गायत्री समाजले पनि जनै लगाउन बन्देज गरेको छैन । जनै लगाएका छोरीलाई आफ्नो आमाबुवाको कर्म गर्न छुट रहन्छ ।

छोरीहरुको व्रतबन्ध गरेपछि धेरै नकरात्मक प्रतिक्रिया पाएको अनुपा बताउँछिन् । भन्छिन्, ‘धर्म नष्ट गरेको आरोप आयो । परिवर्तको नाममा धर्म नासक भने । अब छोराहरुलाई गुफा राख्ने र गुन्युचोली गर्दिनुपर्‍यो भन्ने जस्ता प्रतिक्रिया आयो । तर, हामीले छोराको ठाउँमा छोरी र छोरीको ठाउँमा छोरालाई राख्नुपर्छ भनेको होइन । छोराहरुलाई पछाडि राखेर समानता आउँछ भन्ने धारणा हाम्रो पनि होइन ।’

छोरा र छोरी दुबै बराबर भएकाले शिक्षा र संस्कारले फरक पर्ने उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीका नाताले लेबर रुममा जन्मेको बच्चादेखि मृत्युघाटमा पुगेकोसम्म देखेकी छु । त्यसबीचमा छोरा र छोरीलाई सिकाएको शिक्षा र संस्कारले नै फरक पर्ने हो । अरु केही फरक छैन,’ उनी भन्छिन्, ‘यदि भगवानकै सन्तान हुन् भने सृष्टि चलाउन छोरा-छोरी बराबर हुन् । देवीको मुर्ति पूजा गरिन्छ । उहाँहरूलाई स्वीकार गरिन्छ । अहिले पनि कति महिला वाचिका पण्डित हुनुहुन्छ । उहाँहरू राम्रो हुने र मेरो छोरीहरू व्रतबन्ध गरेकै कारणले कसरी नराम्रो भए ?’

धर्मशास्त्रले छोरीहरूले जनै लगाउन बन्देज गरेको छैन । हिन्दूशास्त्रमा छोरीहरुले वेद पढ्ने र जनै लगाउने उल्लेख छ । तर के कस्तो कारणले जनै छोराहरुले मात्रै लगाउने हो भन्ने स्थापित भएको हो भन्ने यकिन छैन । व्रतबन्ध गर्नु भनेको अनुशासनमा बस्नु र अध्ययन सुरु गर्नु हो भन्ने छ । त्यो कुरा छोरीले पनि गर्नु आवश्यक छ ।

हिन्दू धर्मका गुरुहरुले पनि छोरीहरूको ब्रतबन्ध गरिदिएको उनीहरुको भनाइ छ । ‘समाजमा छोरीहरुको व्रतबन्ध गर्ने हामी पहिलो भने रहेनछौँ । आलोचना हुने डरले गुरुहरु खुल्नुभएको रहेनछ । नत्र अरु अभिभावकहरूले पनि छोरीको व्रतबन्ध गरिदिएको पाएँ । मेरै छोरीको गुरूहरूले आफ्ना छोरीहरूको व्रतबन्ध गरिदिएको खुलासा गर्नुभयो ।’

जनै नलगाए पनि आमाबुवाप्रतिको कर्तव्यबाट पछाडी हट्ने थिएनन् तर जनै लगाएपछि धर्म र समाजले विरोध गर्न पाउने भएन भन्ने उद्देश्य हो । जनै नलगाएको छोरीबाट कर्मकाण्ड गर्न पण्डितहरुले अस्वीकार गर्छन्’ अनुपा भन्छिन्, ‘त्यसकारण छोरीहरूले जनै लगाउन रुचि देखाएनन् । छोरा मान्छेले पनि जतिबेलै जनै लगाएर हिँडिरहेका हुँदैनन् । चाडपर्व, कर्मकाण्ड वा पूजामा लगाउँछन् । छोरीले पनि रजस्वला हुँदा नलगाउने अरु बेला लगाउने गर्दा हुन्छ ।’

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : ०० बजे

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक