काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि कहिल्यै फिर्ता नहुनेगरी आज राति एउटा सभ्यताको मृत्यु हुने’ भविष्यवाणी गरेका छन् । सामाजिक सञ्जालमा ‘ट्रुथ’ गर्दै उनले त्यस्तो होस् भन्ने आफ्नो चाहना नभएपनि सम्भवतः त्यसै हुने बताएका छन् ।
‘ट्रुथ’ को अन्त्यमा इरानी जनतालाई ईश्वरले आशीर्वाद दिउन् भन्ने सन्देश दिएका ट्रम्पले आज राति कुन साम्राज्यको मृत्यु हुन्छ भन्ने चाहिँ खुलाएका छैनन् । इतिहासकारहरुले ट्रम्पको भविष्यवाणीलाई प्राचीन हखामनी साम्राज्यका सम्राट कुरोश र लिडियन साम्राज्यका सम्राट क्रोशसबीच भएको युद्धसँग तुलना गरेका छन् । उक्त युद्ध अघि क्रोशसलाई पनि युनानी देवी अपोलोले ‘युद्ध लडे विशाल साम्राज्य ध्वस्त हुने’ भविष्यवाणी सुनाएकी थिइन् ।
गौतम बुद्धको जीवनकाल आसपास (करिब ५५० ईशापूर्व) महान् कुरोश (साइरस द ग्रेट) ले हालको इरानी भूमिमा हखामनी साम्राज्यको स्थापना गरेका थिए । महान् कुरोशले हखामनी साम्राज्यको जग बसाल्न मिद साम्राज्यलाई परास्त गरेका थिए । इरानी इतिहासमा अझै पनि कुरोशलाई राष्ट्रपिता मानिन्छ ।
हखामनी साम्राज्यको सीमाना अनातोलियाको हेलिस नदीपारी अत्यन्त धनी र शक्तिशाली लिडिया नामक युनानी साम्राज्यसँग जोडिन्थ्यो । त्यहाँ सम्राट क्रोशसको शासन थियो । त्यसबेला क्रोशस धनाढ्य र सम्पन्नताको पर्याय नै थिए ।
कुरोशबाट सत्ताच्युत भएका मिद साम्राज्यका अन्तिम सम्राट क्याम्बाइसिससँग क्रोशसको परिवारले वैवाहिक सम्बन्ध पनि स्थापना गरेका थिए । एक्कासी उदाएको हखामनी साम्राज्यविरुद्ध क्रोशसले मेसोपोटेमियाको दक्षिणी नवबेबिलोन साम्राज्यका सम्राट नबुनाइडससँग पनि निकट कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
सम्राट नबुनाइडस बेबिलोनियाका ईष्टदेव मार्डुकलाई बेवास्ता गरी सिन नाम गरेका चन्द्रदेवप्रति बढी आस्था राख्दथे । यो कुरा बेबिलोनियाका सामन्त र आम जनतालाई मन परेन । उनीहरुले नबुनाइडसको शासनबाट आफूहरुलाई मुक्ति गरिदन कुरोशलाई आग्रह गरे । यही निहुँ पाएर कुरोशले नवबेबिलोन साम्राज्य कब्जा गरे ।
एकातिर आफ्नो साझेदार मिद साम्राज्यलाई सत्ताच्युत गरेको, त्यसमाथि कुरोशले अर्को साझेदार नवबेबिलोन साम्राज्य कब्जा गरेको कुरो लिडियाका सम्राट क्रोशसलाई मन परेन । उनी जसरी भएपनि कुरोशविरुद्ध युद्ध लड्न चाहन्थे । समृद्ध समाज निर्माण गरेका युनानीहरुको शक्ति अगाडि ‘असभ्य’ फारसीहरुको केही चल्दैन भन्ने लागेर क्रोशसले युद्धको तयारी थाले ।
क्रोशसको दरबारमा फारसीविरुद्ध युद्ध नलड्न सल्लाह दिनेहरु पनि थिए । लिडियाका विद्वान् सान्डानिसले सम्राट क्रोशसलाई यस्तै सल्लाह दिएका थिए । पश्चिमी इतिहासका पिता होरोडोटस ‘हिष्ट्रिज’ पुस्तकमा उल्लेख भएअनुसार क्रोशसलाई सान्डानिस यस्तो सल्लाह दिन्छन्–
हे राजन् ! तपाईं यस्ता मानिसविरुद्ध युद्ध गर्ने तयारी गर्दै हुनुहुन्छ जो छालाको सुरुवाल र अरु लुगा पनि छालाकै लगाउँछन्, जो आफूलाई मन पर्ने कुरा खाँदैनन् बरु बाँझो र कठोर भूमिमा जे भेट्छन्, त्यही खाएर गुजारा गर्छन् । जसले रक्सी खाँदैनन्, पानी मात्र पिउँछन्; र जोसँग न त भुटुक फल छन्, न त खानेकुराका स्वादिला परिकारहरू नै छन् ।
यदि तपाईंले उनीहरूलाई जित्नुभयो भने पनि उनीहरूबाट के पाउनुहुन्छ र ? उनीहरूबाट तपाईँले पाउने त केही पनि छैन । तर, यदि उनीहरूले तपाईंलाई जिते भने, विचार गर्नुहोस् त— तपाईंले कति धेरै बहुमूल्य चिजहरू गुमाउनुहुनेछ ! यदि उनीहरूले एकपटक हाम्रा सुख–सुविधाहरूको स्वाद पाए भने, उनीहरूले त्यसलाई यसरी कब्जा गर्नेछन् कि हामीले कहिल्यै पनि उनीहरूको पकडबाट छुटाउन सक्ने छैनौँ ।
प्रचीन युनानीहरुमा जीवनको केही महत्वपूर्ण निर्णय लिनुअघि डेल्फीस्थित अपोलो देवीको भविष्यवाणी सुन्ने चलन थियो । कुरोशविरुद्ध युद्ध लड्नुअघि क्रोशसले पनि डेल्फीको भविष्यवाणी सुन्ने मन बनाए । युनानी किंवदन्ती र हेरोडोटसका अनुसार डेल्फीकी अपोलो देवीले क्रोशसलाई भविष्यवाणी सुनाइन्– ‘फारसीविरुद्ध युद्ध लड्यौ भने तिमीले एउटा महान् साम्राज्य ध्वस्त पार्नेछौ ।’
फारसीविरुद्ध युद्ध लडे क्रोशसले कुन साम्राज्य ध्वस्त पार्छन् भन्ने चाहिँ बताइनन् । क्रोशस चाहिँ आफूले युद्ध लडे फारसी साम्राज्य ध्वस्त हुन्छ भन्ने निष्कर्षमा पुगे । उनले युद्धको तयारीलाई तीव्र पार्दै लगे ।
लिडिया युद्धको तयारीमा रहेको थाहा पाएपछि कुरोशले आफ्नो तयारी तीव्र पारे । फारसीविरुद्ध लडाईँको सुरुवात पनि क्रोशसले नै गरेका थिए । त्यसबेला उनले हखामनी साम्राज्यकोे अधीनमा रहेको टेरिया सहर कब्जा गरेर त्यहाँका बासिन्दालाई बन्दी बनाए । यसको जवाफ दिन कुरोश आफ्नो विशाल सेना लिएर आइपुगे । टेरिया शहर नजिकै यी दुई शक्तिबीच भीषण युद्ध भयो ।
युद्धमा कुरोशको सेनाभन्दा क्रोशसको सेना संख्यात्मक रूपमा केही सानो थियो, जसका कारण उनले शत्रुको घेरा तोड्न सकेनन् । अर्कोतर्फ, कुरोशले पनि लिडियाली सेनालाई पूर्ण रूपमा परास्त गर्न पर्याप्त बल पुर्याउन सकेनन् ।
एक दिने युद्ध साँझ परेपछि रोकियो । क्रोससले आफ्नो सेना सानो भएको महसुस गरेर पछि हटे । अर्को दिन युद्ध लड्नुको साटो उनी रातारात आफ्नो राजधानी सार्डिसतिर लागे । कुरोशले पनि लिडियन सेनाको पिछा गरेनन् । दिनभर चलेको यो लडाइँमा दुवै पक्षले ठूलो क्षति व्यहोरेपनि निर्णयक नतिजा भने आएन ।
केही समयको अन्तरालमा जाडो मौसम सुरु भयो । प्राचीनकालमा जाडोको समयमा युद्ध लड्ने चलन थिएन । सेनालाई आ–आफ्नो घर पठाउने चलन थियो । कुरोश यही मौकाको प्रतिक्षामा थिए । कुरोशले जाडोको मौसमको पर्वाह नगरी आफ्ना सेनालाई लिडियाविरुद्ध आक्रमण गर्न आदेश दिए । फारसी सेनाले आकस्मिक रूपमा थिम्ब्रा भन्ने स्थान नजिकै आक्रमण गर्यो ।
यसपछि क्रोशस के गरौँ कसो गरौँ भन्ने अवस्थामा पुगे । लिडियाली घोडचढी सेना निकै शक्तिशाली थियो । कुरोशले सोझै घोडचढी सेनामाथि हमला गर्ने आँट गरेनन् । बरु सामान ओसार्ने ऊँटहरूलाई अगाडिको मोर्चामा राखिदिए । लिडियाका घोडा ऊँटसँग परिचित थिएनन् । ती घोडाहरु ऊँटको गन्धले डराएर भाग्न थालेपछि क्रोससको मुख्य सैन्य शक्ति कमजोर हुन पुग्यो ।
मैदानमा पराजित भएपछि क्रोससले राजधानी सार्डिसको किल्लामा शरण लिए । तर फारसी सेनाले १४ दिनको घेराबन्दी गरेपछि उक्त सहर सफलतापूर्वक कब्जा गरे । यो विजयसँगै सम्पूर्ण लिडिया फारसी साम्राज्यको अधीनमा आयो र अपोलो देवीको भविष्यवाणी अनुसार क्रोशसले एउटा महान् साम्राज्य ध्वस्त पारे ।













प्रतिक्रिया