काठमाडौं– एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन सरोकारवालाले माग गरेका छन् । साझा प्रकाशनले आज यहाँ ‘साझा प्रकाशनको आगामी गन्तव्य स् चुनौती र अवसर’ विषयक आयोजना गरेको थियो ।
सो कार्यक्रममा साझा प्रकाशनले विगतमा विद्यालय र क्याम्पस तहका पाठ्यपुस्तक प्रकाशन र वितरणको भूमिका पाएकामा विसं २०७० मा उक्त अधिकार खोसिँदा संस्था धराशायी बनेको जानकारी गराइएको थियो । पुनः उक्त जिम्मेवारी प्राप्त गर्नुपर्नेमा सो संस्थामा कार्यरत अधिकारीले जोड दिएका थिए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले साझा प्रकाशनलाई चलायमान बनाउन सरकारले काम गरिरहेको बताए।
संस्थाका शेयर सदस्यहरु विद्वान् भएपनि व्यवस्थापनमा कमजोरी भएर यस्तो अवस्था आएकाले यसलाई सुधार गर्नुपर्ने उनको धारणा थियो । सञ्चालक समितिलाई प्रभावकारी बनाएर सरकारले आवश्यक सहयोग गर्ने सचिव भुजेलले प्रतिबद्धता जनाए।
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साझा संस्था कसैको पनि होइन भन्ने जस्तो नियति साझा प्रकाशनले भोगेको बताए। साझामा भएका शेयर सदस्यको सूची हेर्दा व्यक्ति गतिला तर संस्था कमजोरको अवस्था देखिएको उनले बताए। पहिले पाठक साझा खोज्दै आउने गरे पनि अब साझाले नै पाठक खोज्दै जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
मन्त्रालयले साझा प्रकाशनको विषयमा अध्ययन गरी नवप्रवर्तनात्मक कार्ययोजना बनाउन गठन गरेको कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले अध्ययनका क्रममा आय, व्ययमा असन्तुलन देखिएको जानकारी दिए ।
प्रकाशनका नाममा १० ठाउँमा जग्गा भएपनि व्यवस्थापन हुन नसकेको उनले बताए। यन्त्रहरू आधुनिक युग सुहाउँदा नभएको, आवश्यकता अनुसारका जनशक्ति पनि नभएको र ५५ करोड रुपैयाँ ऋण सरकारलाई तिर्नुपर्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
सरकारलाई तिर्नुपर्ने ऋण शेयरमा परिणत गरी रोक्का जग्गा फुक्का गरिदिएर विभिन्न १० स्थानमा रहेका जग्गामा व्यावसायिक भवन बनाएर साझा प्रकाशनका लागि आयको स्रोत जुटाउन सकिने सहसचिव रिजालको भनाइ छ । साझा प्रकाशनको ऐतिहासिकताको सम्मान गरेर पनि यी काम गर्नुपर्ने सुझाव कार्यदलको प्रतिवेदनमार्फत् दिइएको उनले बताए।
प्रा डा दयाराम श्रेष्ठले साझालाई यस्तो अवस्थामा कसले पर्यायो भन्ने विषयमा छानविन गर्नुपर्ने उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर पनि साझालाई प्रवर्द्धन गर्न सकिने भनाइ राखे।
साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले साझा प्रकाशनलाई ऊर्जावान् बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न चाहेको उल्लेख गर्दै सातै प्रदेशमा संरचना बनाएर त्यहाँका साहित्यिक र सांस्कृतिक विषय प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रकाशनका पूर्वमहाप्रबन्धक डा विष्णुविभु घिमिरेले विसं २०२८ मा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तकको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएपछि साझामा समस्या आउन थालेको बताए। पहिले दार्जिलिङ र सिक्किममा पनि बिक्री वितरण केन्द्र रहेकामा अहिले हटाउन बाध्य हुनुपरेको उनले सुनाए ।
कार्यक्रममा सञ्चालकहरु वशिष्ठ अधिकारी, प्रा डा रमेशप्रसाद भट्टराई, जयन्ता पोखरल र साहित्यकार श्रीओम श्रेष्ठ रोदनलगायतले साझा प्रकाशनलाई यसको ऐतिहासिकताको पनि न्याय हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए ।














प्रतिक्रिया