मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन « Khabarhub

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संसदभित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप मधेस प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ ।

पुस्तकालय केवल पुस्तक राख्ने कोठा होइन, विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने ज्ञानको केन्द्र हो । प्रदेशसभामा प्रस्तुत हुने विधेयक, बजेट, सार्वजनिक नीति, विकास योजना तथा जनसरोकारका विषयमा सांसदहरूले गहन अध्ययन गरी धारणा निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रदेशसभा सचिवालय परिसरमा सञ्चालनमा ल्याइएको पुस्तकालयले सांसद, कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीलाई एउटै थलोबाट आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ ।

यही असार ४ गतेदेखि सञ्चालन भएको पुस्तकालयमा नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन, संसदीय कार्य सञ्चालनसम्बन्धी दस्तावेज, सार्वजनिक नीति, अर्थतन्त्र, सङ्घीयता, राजनीतिक इतिहास, समाजशास्त्र, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण, स्थानीय शासन, अन्तर्राष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित पुस्तकहरू समावेश गरिएका छन् ।

साथै प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइराला बताउँछन् । यसले प्रदेशसभाको संस्थागत स्मृतिलाई सुरक्षित राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

विधेयक पारित गर्नुअघि त्यसको सामाजिक, आर्थिक, कानुनी तथा प्रशासनिक प्रभावको गम्भीर अध्ययन आवश्यक हुन्छ । विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूले पुस्तकालय र अनुसन्धान केन्द्रबाट प्राप्त तथ्य, प्रतिवेदन तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि मात्रै संसदमा धारणा प्रस्तुत गर्ने परम्परा स्थापित भएको छ । त्यही अभ्यासलाई मधेस प्रदेशसभामा पनि संस्थागत गर्ने दिशामा पुस्तकालय एउटा बलियो आधार बन्ने मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको भनाइ छ ।

पुस्तकालय सञ्चालनमा आएपछि सांसदहरूले विषयगत रूपमा तयारी गरेर तथ्यसहित बहस गर्ने वातावरण विस्तार हुनेछ । पुस्तक, अभिलेख र प्रतिवेदनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ई–बुक, डिजिटल अभिलेख, अनलाइन खोज प्रणाली तथा इलेक्ट्रोनिक सन्दर्भ सामग्रीको व्यवस्था गर्न भविष्यमा डिजिटल पुस्तकालयको अवधारणा पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना रहेको सभामुख यादवको कथन छ ।

प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयले सांसद, कर्मचारी, सञ्चारकर्मी, अनुसन्धानकर्ता तथा अध्ययनमा रुचि राख्ने सबैका लागि ज्ञानको साझा केन्द्रका रूपमा काम गर्ने उनको विश्वास छ । पुस्तकालयमा हाल ५०० भन्दा बढी पुस्तक उपलब्ध रहेको जानकारी दिँदै निकट भविष्यमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइने सभामुख यादव बताउँछन् ।

पुस्तकालय स्थापनाले प्रदेशसभाको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै अध्ययनशील, उत्तरदायी र दूरदर्शी संसदीय अभ्यासलाई थप मजबुत बनाउने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : २९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच