सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन  « Khabarhub

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

ओली र लेखक थुन्ने सरकारले खरेललाई किन छोडेको ?



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको सय दिन राजनीतिक प्रतिशोधतर्फ केन्द्रित भई आफ्नालाई काखा अरूलाई पाखा गर्ने रणनीतिमा उन्मुख भएको बताएका छन् । 

विगतमा केपी ओलीले जनताको जनमतलाई कदर गर्न नसक्दा भदौ २३ र २४ मा आन्दोलन भएको स्मरण गर्दै उनले बालेनलाई पनि सत्ता र शक्तिको दुरुपयोग नगर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्री बालेनले विधिको शासन सबैलाई बराबर गरेर आफ्ना काम सञ्चालन गर्नुपर्ने ज्ञानेन्द्रको मत छ । रोजगारी स्थापना गर्न लाग्नुपर्ने, विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्ने र तल्लो तहका वर्गलाई उकास्ने गरी काम गर्नुपर्ने तर्क उनको छ । 

खबरहबले सांसद शाहीसँग सरकारको तीन महिने कार्यकाल, आगामी दिनमा चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

सरकारको १०० दिनको कार्यसूचीलाई यहाँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ  ?

नियमित काम हो । त्यस्तो खासै ‘वाउ’ भन्ने कुनै काम गरेको छैन। सरकार पक्षबाट पनि संसारै हल्लायौँ हामीले भन्ने खालको छैन। प्रतिपक्षीले पनि तिमीहरूले कामै गरेनौ भन्ने छैन। नयाँ प्लानिङ र भिजन छैन । डे टु डे काम भइरहेको छ।

१०० लाई पूर्णाङ्क मान्ने हो भने कति नम्बर दिनुहुन्छ ?

ठिकै छ– १०० दिनमा सरकारले पूरै काम गर्नुपर्छ उथलपुथलै गर्नुपर्छ भन्ने छैन । गणितीय आंकलन पनि हुँदैन यस्तो विषयमा । सुशासनका संकेतहरू देखा पर्नुपर्ने हो । व्यक्तिगत रिसिइबीमा गएको जस्तो देखिन्छ। सरकार सञ्चालन भइरहेको बेला पार्टी सभापति रवि लामिछानेका आफ्ना मुद्दाहरू फिर्ता भए । 

यसले सुशासनको कुरा जगजाहेर गर्छ । नियुक्तिको कुराहरू जो आएको छ, त्यसको कुनै प्रक्रिया नै अवलम्बन गरिएको छैन। राजनीति नियुक्ति नगरिने भनियो तर फेरि पनि राजनीति नियुक्ति गरियो। 

कांग्रेस एमाले हुँदाखेरि उनीहरूले आफ्ना मान्छे प्रयोग गरे ।  अहिले घण्टीका साथीहरू सरकारमा हुँदा आफ्ना मान्छे प्रयोग गरे फरक चाहिँ के कुरामा भयो त ?  व्यक्ति फरक भयो होला, झन्डा फरक भयो होला । यस्ता गतिविधिबाट मुक्त हुनुपर्छ सरकार । 

सरकार नीति सिद्धान्तभन्दा फरक तरिकाले प्रस्तुत भएको हो ?

सरकारले हिजो रोजगारी सिर्जना गर्छु भन्या छ– तर खोई कहाँ भयो ? अनि २० अर्ब बचायौँ भनेर झुटो बोल्नलाई लाज लाग्दैन ? अर्थमन्त्री स्वर्णिम वाग्लेले २० अर्ब के कारणले बच्यो भन्ने जवाफ दिनुभएको छ । पत्याउँदै नपत्याउने कुरा गर्नुभएन । २० अर्ब कसरी बच्यो कर्मचारी कटौती भए कि मन्त्रालय गाभिने बित्तिकै या डे टु डे खर्च रोकियो कि ?  डे टु डे खर्च २० अरब त हुँदैन नि त। १०–१२ लाख पनि हुँदैन एउटा मन्त्रालयको  । महिनामा त्यही ५,६ लाख हुने हो धेरै भए । 

कर्मचारी कटौती नभएपछि अर्को मन्त्रालयमा गाभिँदा कर्मचारीले काम गरे। अब खर्च कटौती कसरी भयो ? खानेपानी मन्त्री कम भयो रे। एउटा मन्त्रीको खर्च २० अर्ब त हुँदैन थियो होला । त्यो हुनाले सरकारले केही हावा कुरा गरिराखेको छ। १५ हजार रोजगारी सिर्जना गर्‍यौँ भन्यो १०० दिनमा । खै कहाँ गर्‍यो त ? सरकारले यो सय दिनमा पुरै कायापलट गर्नुपर्छ भन्ने कन्सेप्ट होइन। कमसेकम झुट त बोल्नुभएन । 

 त्यसो भए सरकारले के के गर्न सक्थ्यो ?

पहिलो कुरा त उसले प्रतिशोध साँधेर मान्छेहरू पक्रियो। जो अदालतबाट छुटे । कानुनी प्रक्रिया नपुर्‍याई पक्राउ गरियो। व्यक्तिगत प्रतिशोध साँध्ने बित्तिकै आज उनीहरूको सरकार छ उनीहरूले गर्ने । भोलि अर्कोको सरकार आउँछ उनीहरूले अहिलेकालाई प्रतिशोध लिँदै जाँदा देश नै मुठभेडमा जान्छ। 

कानुनी प्रक्रिया र अदालती प्रक्रिया मिलाएर पक्राउ नै गर्नुपर्ने मान्छेलाई पक्राउ गर्ने हो । अरूलाई  पाखा र आफ्नालाई काखा देखियो यसमा । उनीहरूले छानबिन समिति बनाउने तर छानबिनमा के भो बाहिर कसैलाई नदेखाउने पहिला पनि यस्तै गर्थे । अहिले पनि त्यही अवस्था दोहोरिँदै छ । 

गृहमन्त्रीमाथि छानबिन समिति बन्यो तर त्यो प्रतिवेदनले के के भन्छ न कसैलाई सार्वजनिक भएको छ न मिडियालाई नै जानकारी छ। छानबिन समिति बनाइसकेपछि त सार्वजनिक गर्नुपर्ला नि । हिजो पनि यसै गर्थे नि छानबिन समिति बनाउँथे, आफैँ चोख्याउँदै आफै ठिक हो भन्थे । 

अरूलाई ट्राफिक कानुनमा प्रहरीले कारबाही गरिरहेको छ। प्रधानमन्त्री र गृहमन्त्रीले सिटबिना गाडी चलाएको भिडियो आइरहेको छ। यसमा खै कारबाही  ? हर्क साम्पाङलाई चिट काट्नेले यिनीहरूलाई काट्नु पर्दैन ? सृष्टि भट्टराईलाई किन काटेन ? सरकार कतै पहिलाको जस्तै ढंगले जान थाल्यो कि भन्ने शङ्का छ । विधिको शासनभन्दा पनि व्यक्तिको शासन हुन थाल्यो कि भन्ने डर छ। 

यहाँको सुझाव के छ सरकारलाई  ?

विधिगत रूपमा चल्ने आफ्ना हुन् , अर्काका हुन्  । जसलाई भएपनि कानुनी दायरामा ल्याउनुपर्छ। बजेटलाई कार्यान्वयन गर्ने विकास निर्माणका काम अगाडि बढाउने, आफ्नो पराइ नभन्ने । यसरी गयो भने हुन्छ , नत्र भने त उही पुरानो जस्तै भइहाल्यो । 

सरकारले बिचौलिया हटायौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढायौँ । परीक्षाका नतिजाहरू चाँडो सार्वजनिक हुन थाले । सुशासनको अभ्यास सुरु भयो है भन्ने दाबी सरकारको तर्फबाट आइरहेको छ । यी कुराले आशावादी हुन प्रेरित गर्दैन ?

सहकारीको पैसा कहाँबाट ल्याएर फिर्ता गरियो ? सरकारको पैसा हो कि ठगहरूको हो ? सरकारको ढुकुटी बाँड्या हो नि । सहकारीको दश अर्ब घोटाला गरेको मुख्य नायक जीबी राई कहाँ छन् ?  सरकारको १०० दिन त पुग्यो त। रवि लामिछानेको मुद्दा कसैले प्रतिशोधमा लगाएको हो र ? संसदीय छानबिन समितिले गरेको होइन ? त्यसको फैसला नगर्दै मुद्दा फिर्ता लगियो । भोलि निर्दोष भए अदालतले उहाँलाई निर्दोष साबित गरिहाल्थ्यो नि ।  

केपी ओली, रविजी र बालेनबीच फरक के भो र ? उनीहरूको शक्ति थियो हिजो उनीहरूले मुद्दा फिर्ता लिए । आज तपाईँहरूको शक्ति छ तपाईँहरूले मुद्दा फिर्ता लिनुभएको छ। भदौ  २३, २४ गतेको आन्दोलन पुरा उनीहरूले विधिको शासन नमानेर जनता उकुसमुकुस भएर गरेको हो । 

हिजो केपी ओलीहरू पनि टिको लाएर आएका होइनन् , जितेरै आएका हुन्। तर उनीहरूले जनताको जनमतलाई सत्ता र शक्तिको दुरुपयोगमा प्रयोग गरेपछि त्यो आन्दोलन घटेको हो । यही हिसाबमा उहाँहरू अगाडि बढ्नुभयो भने हुने त्यही हो । अहिले डराइराखेका छन् मान्छे । कानुन सबका लागि बराबर गर्ने हिसाबमा जानुपर्छ। विधिको शासन भनेको प्रतिशोध नलिने विधिमा काम गर्ने हो। सबलाई बराबर गर्ने यो देखिएको छैन । 

पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्धलाई तीन महिनाकोबीचमा कसरी हेर्नु भएको छ ?

मैले त अब भन्न मिलेन उनीहरूको पार्टी हो। उनीहरूको सरकार हो व्यक्तिगत कुरा हो। जनताले पाँच वर्ष शासन सत्ता चलाउनुस् भनेर अहिलेको प्रधानमन्त्रीलाई म्यान्डेट दिएका हुन् । पार्टी सभापतिले, कसैले पार्टीभित्र किचकिच नगरे हुन्छ । बालेनले पाँच वर्ष सरकार चलाओस् भनेर जनताले मत दिएका हुन्। पाँच वर्ष सरकार चलाउन दिऊँ । 

पाँच वर्ष यही ढङ्गले सरकार चल्यो भने जनताले राखेका अपेक्षा पूरा हुँदैनन् भन्नुभयो । कसरी चाहिँ अगाडि बढ्नुपर्छ ? 

पहिलो कुरा त जनताले भोट दिएको अहिले दुईटा कुरामा हो। एउटा सुशासनको मुद्दामा अर्को शासकीय स्वरूप परिवर्तन गर्ने कुरामा । सुशासनको कुरामा केपी ओली पक्रिनुभयो । रमेश लेखक पक्रिएपछि जगदीश खरेल पक्राउ पर्ने कि नपर्ने ? विष्णु पौडेल पक्राउ गरेपछि आफ्ना नेताहरूमाथि उठेको वित्तीय अपराधको विषयमा पक्राउ हुने कि नहुने  ?

केपी ओली र रमेश लेखकलाई जेन-जी आन्दोलनमा उनीहरूले गोली चलाउन आदेश दिए भनेर पक्रियो । दिए भन्ने प्रुफ भएको छैन ।  दिए कि भन्ने हो किनभने उनीहरू पदमा थिए । ३० अर्बको नेपाल टेलिकमको घोटाला काण्ड हुँदा जगदीश खरेल मन्त्री हुनुहुन्थ्यो हैन ? 

उहाँलाई केपी ओली र रमेश लेखक थुने जसरी नै पक्राउ गरेर अनुसन्धान गर्ने होला नि त हैन?  केपी ओलीले रमेश लेखकले गोली चलाउनुपर्छ भनेर आदेश दिएको केही लिखित भेटाए त यिनीहरूले भेटाएनन् नि ।  अहिले के देखिन्छ भने आफ्नालाई छोड्ने अर्कालाई आक्रमण गर्ने । यो शैली केपी ओली शैली हुन्छ है । यसमा बालेन सरकारले बेलैमा बुझ्नुपर्छ। कानुन सबका लागि बराबर गर्नुस्। 

सरकारले कुन शैली अपनायो भने आफ्नो म्यान्डेट अनुसार काम पूरा गर्न सक्छ ?

विधिको शासन मान्नुपर्‍यो । सबैलाई बराबर नजरले हेर्नुपर्‍यो। विकास निर्माणमा अगाडि बढ्नुपर्‍यो । रोजगारी सिर्जना गर्नुपर्‍यो। त्यसका लागि के के कानुनहरू बाधक भएका छन् त्यसलाई ल्याउनुपर्‍यो। संसद् नै छलेर अध्यादेश ल्याउनु भएन । राष्ट्रघाती कुरा गर्नुभएन, माफी माग्नुपर्छ । 

तपाईँहरू जसरी जितेर आएको हामी पनि त्यसरी जितेर आएको हो। हामी कुनै आशीर्वादले आएको होइन । त्यसकारण संसद्को अपमान गर्ने, राष्ट्रघाती कुरा गर्ने यतातिर लाग्नुभएन । नीति कार्यक्रम के छ ? कुनै नियम कानुनले अप्ठ्यारो पर्‍यो भने संसद्‍मा ल्याउने, छलफल गर्ने, त्यसलाई पास गर्ने हो । यसमा हामी पनि सहयोग गर्छौँ । 

सरकार ट्र्याकमा हिँड्यो भने उहाँहरुलाई हामी पनि सहयोग गर्न तयार छौँ। कुरा कति हो भने सत्ता र शक्तिको हुर्मत लिनु भएन ।  यस्तो हुर्मत केपी ओलीले लिएपछि नै भदौ २२–२३ को आन्दोलन भएको यो कुरा बालेन सरकारले बुझ्नुपर्छ । 

फेरि पनि भन्छु केपी ओली बालेन्द्र शाह रवि लामिछानेमा तीन महिनाको अन्तरालमा केही फरक देखिएन । फेरि थप्छु– विधिको शासन पालना गर्दै जबाफदेही ढंगले सरकारले काम गरोस् । पाँच वर्षको जनमत उनीहरूलाई दिएका छन् । हाम्रो इच्छा अब जनताले दुख नपाउन भन्ने हो ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : ०० बजे

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका