दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय « Khabarhub

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ। यद्यपि, देशका अधिकांश पहाडी क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय रहेको विभागको भनाइ छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पूर्वानुमानअनुसार वर्षा हुन सकेको छैन।

‘हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ,’ उनले भने। ‘पूर्वानुमानअनुसार वर्षा नभए पनि देशका अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ।’

उहाँका अनुसार हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना रहेको उनले बताए।

अर्यालले विशेषगरी पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ तथा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

विभागले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

तीनदिने मौसम पूर्वानुमानअनुसार आज पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हुरी, पहिरो र डुबानको जोखिम

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र सहरी डुबान हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

त्यस्तै, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने चेतावनी पनि दिइएको छ।

आज राति हिमाली भूभागका धेरै स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान, मधेस प्रदेशका धेरै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले आगामी केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन तथा नदीमा आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : ०१ बजे

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका