एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ « Khabarhub

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

कम्पनीले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (करिब ५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणा बढी हो।

विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप उत्पादक सामसुङका अनुसार यस अवधिमा कम्पनीको राजस्व पनि एक हजार ७१० खर्ब वोन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२९ प्रतिशतले बढी हो। कम्पनीले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ।

एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको बढ्दो मागले दक्षिण कोरियाका प्रमुख सेमिकन्डक्टर कम्पनीहरूको आम्दानीलाई नयाँ उचाइमा पुर्‍याएको छ। यही सकारात्मक अवस्थाकै कारण सामसुङले कामदारसँग बोनससम्बन्धी सहमति गर्दै सम्भावित ठूलो हडतालसमेत टार्न सफल भएको थियो।

सेजोङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक किम डे–जोङले यो अनुमानित नाफालाई सामसुङकै इतिहासको सबैभन्दा ठूलो त्रैमासिक परिचालन मुनाफा भएको बताए। उनका अनुसार कम्पनीले यस्तो प्रदर्शन निरन्तर कायम राख्न सके विश्वकै अग्रणी उत्पादन कम्पनीका रूपमा आफ्नो स्थान अझ बलियो बनाउन सक्छ। तर एआईसम्बन्धी मेमोरी चिपको उच्च माग कति समयसम्म कायम रहन्छ भन्ने नै आगामी चुनौती हुने उनको भनाइ छ। उनले अर्को वर्षसम्म माग बलियो रहने सम्भावना देखिए पनि त्यसपछिको अवस्था अनिश्चित रहेको उल्लेख गरे।

सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि मङ्गलबार बिहानको कारोबारमा सामसुङको सेयर मूल्य करिब सात प्रतिशतले घटेको थियो। विश्लेषकका अनुसार सियोलको कोस्पी सूचकाङ्कमा आएको समग्र गिरावटको प्रभाव पनि त्यसमा परेको हो।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले बजार विश्लेषण उद्धृत गर्दै सामसुङको प्रारम्भिक नाफा अनुमान विश्लेषकहरूको औसत प्रक्षेपणभन्दा ६.२ प्रतिशतले बढी रहेको जनाएको छ।

सामसुङ र घरेलु प्रतिस्पर्धी एसके हाइनिक्सले दक्षिणपश्चिमी दक्षिण कोरियामा करिब आठ हजार खर्ब वोन बराबरको सार्वजनिक–निजी साझेदारीमा नयाँ सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण गरिरहेका छन्। प्राध्यापक किमका अनुसार उक्त परियोजना सम्पन्न भएपछि पनि सामसुङले हालको आयको स्तर कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय अझै अनिश्चित छ।

केही विश्लेषकले एआई पूर्वाधारमा हुने सम्भावित लगानी सुस्ताइलाई अहिलेको मेमोरी चिप बुमका लागि प्रमुख जोखिमका रूपमा औँल्याएका छन्। तर काउन्टरपोइन्ट रिसर्चका विश्लेषक एमएस ह्वाङले उत्पादकको आपूर्ति क्षमता र ग्राहकको मागबीचको अन्तर अझै उल्लेखनीय रहेकाले व्यापक मन्दीको निष्कर्ष निकाल्न हतार हुने बताए। उनका अनुसार केही प्रतिस्पर्धी कम्पनीका डाटा सेन्टर परियोजना ढिलो हुन सक्छन्, तर त्यसलाई समग्र एआई पूर्वाधार लगानी घटेको संकेतका रूपमा लिन मिल्दैन।

एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन, ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्यसमेत बढ्न थालेको विश्लेषण गरिएको छ।

दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगबाट बढेको कर आम्दानीको उपयोगबारे पनि बहस सुरु भएको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ् हुन–सिकले अतिरिक्त कर राजस्व एआई र सेमिकन्डक्टरका ठूला परियोजनामा लगानी गरिने तथा त्यसबाट युवालाई आवास, स्टार्टअप स्थापना र रोजगारीका अवसर विस्तार गर्न सहयोग पुग्ने बताए ।

यसैबीच, एसके हाइनिक्सको ज्याकेट यस वर्ष सामाजिक सञ्जालमा धन र सफलताको प्रतीकका रूपमा भाइरल बनेको थियो। विभिन्न व्यङ्ग्यात्मक सामग्रीमा त्यसलाई विलासी जीवनशैली र राम्रो वैवाहिक सम्भावनाको ‘सुनौलो टिकट’का रूपमा चित्रण गरिएको थियो।

योन्हापका अनुसार वैवाहिक मिलान संस्था सुनुले तयार पारेको ‘वाञ्छनीयता सूचकाङ्क’मा सामसुङ र एसके हाइनिक्सका कर्मचारीको आकर्षण डाक्टर र वकिलसरह पुगेको देखिएको छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  २ : ०८ बजे

सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडामा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौं- चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा