ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू) « Khabarhub

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउन्डेसनले धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गरेको छ।

अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा सुरु गरिएको अभियानले चाडपर्व मनाउने क्रममा बढ्दै गएको प्लास्टिकजन्य सामग्रीको प्रयोग, अनावश्यक उपभोग र खाद्यान्नको खेर जाने प्रवृत्तिलाई न्यूनीकरण गर्दै वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको फाउन्डेसनले जनाएको छ।

अभियान शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभाका महिला सांसद, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले पछिल्ला वर्षमा बढ्दै गएको उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकताभन्दा बढी किनमेल गर्ने, प्लास्टिकजन्य सामग्रीको प्रयोग बढाउने तथा खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढेको बताइन्।

परम्परा र संस्कृतिको सम्मान गर्दै यस्ता अभ्यास न्यूनीकरण गरी वातावरणमैत्री ढङ्गले चाडपर्व मनाउने संस्कृति विकास गर्न अभियानले जोड दिने उनले बताइन्।

‘चाडपर्व हाम्रो संस्कृति र पहिचानसँग जोडिएका छन्। त्यसैले संस्कृतिको संरक्षणसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखेर चाडपर्व मनाउने अभ्यास विकास गर्न आवश्यक छ,’ कार्कीले भनिन्।

उनका अनुसार जलवायु परिवर्तन तथा वातावरणीय समस्याको प्रत्यक्ष र अप्रत्यक्ष असर महिलामाथि समेत परिरहेको छ। त्यसैले जलवायु न्याय, लैङ्गिक समानता र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउँदै महिलाको नेतृत्वमा व्यवहार परिवर्तनका अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन्।

फाउन्डेसनले नेपालीको दैनिक जीवनशैलीमा चक्रीय अर्थतन्त्रको अवधारणा स्थापित गर्ने लक्ष्यसमेत राखेको छ। प्रयोग भएका वस्तुको पुनःप्रयोग, पुनःचक्रण तथा स्रोतको दिगो उपयोगलाई प्राथमिकता दिँदै उपभोगको दिगो संस्कृति विकास गर्ने अभियानको उद्देश्य रहेको जनाइएको छ।

यसअघि फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमा सहभागी महिलाले वातावरणमैत्री ढङ्गले पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता व्यक्त गरेका थिए।

फाउन्डेसनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नीतिगत सुधारसँगै व्यक्ति तथा समुदायको व्यवहार परिवर्तनलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

संस्थाका अनुसार खाद्य सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल तथा स्थल जैविक विविधता संरक्षण र विभिन्न सरोकारवाला निकायबीच साझेदारी प्रवर्द्धनका क्षेत्रमा समेत काम गर्दै आएको छ।

‘हरित उत्सव’ अभियानमार्फत चाडपर्वलाई वातावरणीय जिम्मेवारीसँग जोड्दै महिलाको नेतृत्वमा दिगो र वातावरणमैत्री व्यवहारलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्य लिइएको फाउन्डेसनले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १२ : ५८ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज