सडक विस्तारसँगै सवारी चाप उच्च  « Khabarhub

सडक विस्तारसँगै सवारी चाप उच्च 


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । 

पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् भने ६५ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन् ।

त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ६२ दुर्घटनामा ६२ जनाको मृत्यु भएको थियो । ७६ जना गम्भीर र ४३ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ३९ दुर्घटनामा २२ जनाको मृत्यु, ५० जना गम्भीर र ५१ जना सामान्य घाइते भएका थिए ।

तथ्याङ्कले देखाउँछ कि दुई वर्षको अवधिमा दुर्घटनाको सङ्ख्या ३९ बाट बढेर ७८ पुगेको छ । अर्थात् दुर्घटना शतप्रतिशतले बढेको छ । यद्यपि गत आर्थिक वर्षमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही घटेको छ । 

तीन आर्थिक वर्षमा जिल्लाभर एक सय ७९ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा एक सय ४१ जनाको मृत्यु, एक सय ९१ जना गम्भीर र एक सय ४१ जना सामान्य घाइते भएका छन् । 

किन बढ्दै छन् दुर्घटना ?

प्रहरीका अनुसार अधिकांश दुर्घटना पृथ्वीराजमार्ग र जिल्लाका भित्री सडकखण्डमा भएका हुन् । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पृथ्वीराजमार्गको तनहुँ खण्ड चार लेनमा विस्तार भएको छ । सडक राम्रो बनेसँगै तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ । 

यससँगै चालकको लापरबाही पनि दुर्घटनाको अर्को प्रमुख कारण बनेको छ । तीव्र गति, जोखिमपूर्ण ओभरटेक, थकित अवस्थामा लामो दूरीको सवारी सञ्चालन, ट्राफिक नियमको बेवास्ता र मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटना बढाएको प्रहरीको विश्लेषण छ ।

भित्री सडकखण्डमा भने साँघुरा सडक, अपर्याप्त सुरक्षा संरचना, सडक छेउमा रेलिङको अभाव तथा रातिको समयमा कमजोर दृश्यताले दुर्घटनाको जोखिम बढाउने गरेको देखिन्छ ।

गत आर्थिक वर्षको तथ्याङ्कले दुर्घटनाबाट सबैभन्दा बढी पुरुष प्रभावित भएको देखाउँछ । मृत्यु हुने ५७ जनामध्ये ४२ जना पुरुष छन् । गम्भीर घाइते र सामान्य घाइतेमा पनि पुरुषको सङ्ख्या महिलाभन्दा बढी छ ।

सडक विस्तारसँगै बढेको सवारी चाप

तनहुँ हुँदै गुड्ने सवारीसाधनको सङ्ख्या बर्सेनि बढिरहेको छ । निजी सवारीसाधन, मालवाहक ट्रक, यात्रुवाहक बस तथा मोटरसाइकलको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ ।

सडक पूर्वाधारको सुधारसँगै चालकको जिम्मेवारी, ट्राफिक अनुशासन र सडक सुरक्षाको चेतना समान रूपमा विकास हुन नसक्दा दुर्घटना न्यूनीकरणमा अपेक्षित सफलता मिल्न सकेको छैन । 

प्रहरी निरीक्षक थापाका अनुसार ट्राफिक प्रहरीले नियमित सवारी जाँच, गति नियन्त्रण, मादक पदार्थ सेवन परीक्षण, चालक सचेतना अभियान तथा विद्यालयस्तरमा ट्राफिक शिक्षा सञ्चालन गर्दै आएको छ । तर दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ ।

सडक निर्माण गर्ने निकाय, स्थानीय तह, सार्वजनिक यातायात व्यवसायी, चालक, यात्रु र सर्वसाधारण सबैले सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता देखिएको उनले बताए । 
 रासस
 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ९ : ५२ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति