बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम « Khabarhub

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम



न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ ?
विश्वेश्वरप्रसाद कोइराला : मैले सशस्त्र क्रान्तिको घोषणा गरेको छैन । तर सो को सिद्धान्तः व्याख्या गरेकोबाट प्रेरणा पाई पार्टीका सदस्यहरू मात्र होइन, जो कोही व्यक्तिले जहाँकहीँ प्रजातन्त्रका लागि गरेको कार्यको नैतिक जवाफदेही मेरो छ ।

न्यायाधीश जनकमान : गिरिजाप्रसादसँग चिनापर्ची छ ?
विश्वेश्वरप्रसाद कोइराला : निज मेरो सहोदर कान्छो भाइ हो । निज कांग्रेस पार्टीको सदस्य हो वा होइन भन्ने प्रश्नका सम्बन्धमा म भन्न चाहन्न ।

मृत्युदण्ड दाबीसहित बीपीमाथि सात मुद्दा थिए । बयान हुँदै थियो । जनकमान फैसला लेख्दै थिए । अदालतको फैसलालाई प्रभावित गर्न प्रहरीको दबाब बढ्दै थियो । प्रहरी अधिकारी विभिन्न बहाना गरी इजलासमा बस्न खोज्थे । तर जनकमान तिनीहरूलाई ढिम्किन दिँदैनथे । यसैको परिणाम बीपीलाई इजलासमै चिया खान, बसेर बयान गर्ने अतिरिक्त सुविधा दिएको भन्ने लगायतका पोल लगाएर त्यसबेला बदनाम गर्ने  प्रयास भए । तर भाँचिन जान्ने, दोब्रिन नजान्ने जनकमानले यी सबै आलोचना मात्र पचाइदिएनन्, निर्देशन दिन खोज्ने तत्कालीन कानुनमन्त्रीको झण्डै कठालोसम्म समाउन भ्याए ।

त्यो बेलाको सरकार बीपी र गणेशमानलाई मृत्युदण्डको फैसला गराउने एक सूत्रीय अभियानमा थियो । ‘जनकमानले कस्तो फैसला गर्ला ?’ आम कौतुहलको विषय थियो ।

त्यो बेलाको सरकार बीपी र गणेशमानलाई मृत्युदण्डको फैसला गराउने एक सूत्रीय अभियानमा थियो । ‘जनकमानले कस्तो फैसला गर्ला ?’ आम कौतुहलको विषय थियो । अनुमानका खेती प्रशस्त चलेका थिए । सेनानी यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई अदालतकै फैसलामा मृत्युदण्ड दिइएको घटनाले राजनीति क्षेत्र त्राहित्राहि थियो । तर सबै शङ्का आशङ्का निमिट्यान्न पार्दै जनकमानले प्रजातन्त्रको पक्षमा फैसला गरिदिए ।

नेतृत्व दिनु र लिनुमा के भेद हुन्छ भनी विवेचना गर्दा नेतृत्व दिँदा कार्य आफैँले सञ्चालन गरेको हुन्छ । मनसाय र कार्यसमेत भएको स्पष्ट हुन्छ ।  

फैसलाको एउटा अंश यस्तो थियो– ‘प्रजातन्त्रको लागि जोसुकैले जहाँकहीँ घटेको वा घटाएको घटनामा मेरो नैतिक जवाफदेही छ भन्नु भएकोबाट यो स्पष्ट हुन्छ कि आफूले नेतृत्व दिई कुनै घटनालाई पनि सङ्केत गरी सञ्चालन गरेको हुँ भनी केवल साधारण तथा नैतिक जवाफदेही छ भन्नुको अर्थ यो प्रष्ट हुन्छ कि आफूले त्यस्तो घटनालाई नेतृत्व दिएको होइन र केवल नेतृत्व लिन मात्र खोजेको भन्ने प्रष्ट हुन आउँछ । नेतृत्व दिनु र लिनुमा के भेद हुन्छ भनी विवेचना गर्दा नेतृत्व दिँदा कार्य आफैँले सञ्चालन गरेको हुन्छ । मनसाय र कार्यसमेत भएको स्पष्ट हुन्छ ।  अर्थात यस्तोमा मनोभावनासम्म आफ्नै मनमा कुण्ठित रहेको तर कानुनी जवाफदेही नभएको अर्थ जनाउँछ । मनमा मात्र कुण्ठित रहेको मनोभावनालाई कानुनले सजाय गर्न मिल्दैन ।’

जनकमानले नेताहरूलाई न्याय त दिए । तर न्याय दिने न्यायमूर्तिलाई नै अन्यायको शिकार बनाइयो । संवैधानिक अङ्गकै ‘कू’ मा परेर उनले जागिरबाट हात धुनु पर्‍याे । २०३९ सालमा बिनाकारण उनलाई पदच्युत गरियो । नेताले त उनीसँग गुहार मागे तर जनकमानले गुहार माग्ने ठाउँ पाएनन् ।

जनकमानले बूढी औँला र माझी औँला फड्कारेर ‘हरे कृष्ण’ भनेपछि बिताउँछ भन्ने न्याय क्षेत्रमा आहानजस्तै बनेको थियो । बीपीको मुद्दा हेर्न सबै न्यायाधीशहरू डराएर छेउ किनारा लागेको परिस्थितिमा उनको संयोजकत्वमा गठित एक सदस्यीय विशेष अदालतले मुद्दाको छिनोफानो गरेको थियो ।

शहीद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका भाइ (फूपुका छोरा) जनकमान सानैदेखि राजनीतिमा सक्रिय थिए । गङ्गालालबाट त उनले बाह्रखरी नै सिकेका थिए ।

जनकमानको जीवनलिला विचित्रको छ । एउटा सफल नेता भएर काठमाडौँ नगरको पहिलो नगरपिताको कीर्तिमान बनाएका जनकमानले न्यायसेवामा फड्को मार्नुका पछाडि रोचक पृष्ठभूमि छ । उनको इतिहास हेर्दा जनकमानले के गरे भन्दा पनि के चाहिँ गरेनन् भन्ने निष्कर्षमा पुगिन्छ ।

राजनीति, पत्रकारिता, शिक्षण, व्यापार हुँदै अन्त्यमा उनले न्यायसेवालाई आफ्नो अन्तिम गन्तव्य बनाए । जीवनको उत्तरार्द्धमा भने उनी समाजसेवा, अध्ययनमा रमाए ।  शहीद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका भाइ (फूपुका छोरा) जनकमान सानैदेखि राजनीतिमा सक्रिय थिए । गङ्गालालबाट त उनले बाह्रखरी नै सिकेका थिए ।

२००९ सालमा नेपाल कम्युनिष्ट पार्टीबाट मेयरमा टिकट पाएका जनकमानलाई काठमाडौँका जनताले २५ सय भोट दिएर नेता बनाए ।

दाजुहरूसँग हिँड्दाहिँड्दै पत्तै नपाई उनी सक्रिय राजनीतिक कार्यकर्ता भइसके छन् । लुकिछिपी पोस्टर पम्पलेट टाँस्न जनकमान माहिर थिए । राजनीतिसँगै उनले पढाइलाई पनि सँगसँगै लगे । २००९ सालमा नेपाल कम्युनिष्ट पार्टीबाट मेयरमा टिकट पाएका जनकमानलाई काठमाडौँका जनताले २५ सय भोट दिएर नेता बनाए । तर एक वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ‘कू’ गरेपछि मेयर पद नै धरापमा पर्‍याे । त्यसपछि उनी जेल परे ।

जेलबाटै न्यायका लागि सर्वोच्चमा रिट दायर गरे । तर दुर्भाग्य दरबारको शक्ति उपयोग गरेर मातृकाप्रसादले जुन धारामा टेकेर मुद्दा दायर भएको थियो, त्यही नै खारेज गरिदिए । राजनीतिबाट विरक्तिए जनकमान । यो विरक्तिलाई केही समय पत्रकारिता र शिक्षण पेसाको काम गरेर मत्थर गर्ने प्रयास गरे । त्यसले पनि निरन्तरता पाउन सकेन । आफूमाथि अन्याय भएको पीडा कताकता शूल बनेर घोचिरहन्थ्यो । भित्री इख लिएका जनकमानले यही बीचमा बी.एल पढे ।

२०१३ सालमा न्यायसेवामा २० अधिकृतका लागि भर्ना खुल्यो । जनकमानले जाँच दिए । १३ नम्बरमा नाम पनि निस्कियो । तर उनैलाई पाखा लगाउन १२ जनालाई नियुक्ति गरियो । बाँकी अनिर्णीत भए । जनकमान न्यायका लागि दौडिए । कसैले कानमा बतास लगाएन । सरकारी जागिर खाने इच्छामा व्यवधान आयो ।

स्वाभिमानी चरित्रका कारण जनकमानको जागिरे जीवनमा अपेक्षित वृत्ति विकास भएन । पत्याउन पनि कठिन तेस्रो तहबाट दोस्रो तहको न्यायाधीश हुन १६ वर्ष कुर्नुपर्‍याे ।

दुई वर्षपछि बीपी कोइराला नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो । न्याय तथा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका भाइ र जनकमान साथी थिए । साथीमार्फत उनले आफ्नो दुखेसो गृहमन्त्री समक्ष पुर्‍याए । आखिर बीपीकै सरकारले उनको गाँठो फुकाइदियो । कस्तो अनौठो भने त्यसको १८ वर्षपछि जनकमानलाई तिनै बीपीको मुद्दा हेर्ने संयोग जुर्‍याे । पहिलोपल्ट न्यायाधीश भएर जनकमान मकवानपुरको चिसापानी गढीतर्फ हानिए । स्वाभिमानी चरित्रका कारण जनकमानको जागिरे जीवनमा अपेक्षित वृत्ति विकास भएन । पत्याउन पनि कठिन तेस्रो तहबाट दोस्रो तहको न्यायाधीश हुन १६ वर्ष कुर्नुपर्‍याे ।

‘चारपासे न्यायाधीश’ खुरुखुरु बढुवा हुँदा बेलायतमा शिक्षा दीक्षा गरेर आएका जनकमानले जागिरे जीवनमा कहिल्यै प्रोत्साहन पाएनन् ।  जागिरे जीवनको समाप्तिपछि पनि जनकमानले आफूलाई सदाचारी बनाए । ‘सन्तोषम् परम् सुखम्’को मान्यतालाई उनले शतप्रतिशत पालना गरे । यो गर्न सकिन भन्ने कत्ति पनि कुण्ठा रहेन । सामाजिक कर्ममा उनको सक्रियता सधैँ अग्रपंक्तिमा रह्यो । टोल सुधारदेखि पौवा, पार्टी, मन्दिर निर्माण मर्मतको नेतृत्व जनकमानले गरे । लक्का जवान छँदा राजनीति गरेका जनकमानले जीवनको उत्तरार्द्धमा सामाजिक काममा आफूलाई क्रियाशील बनाए ।

सात वर्षअघि कलेजोको क्यान्सरका कारण यस धराबाट बिदा लिएका जनकमानले आफूले गरेको राजनीतिक गुनको ब्याज खोजेनन् ।

सात वर्षअघि कलेजोको क्यान्सरका कारण यस धराबाट बिदा लिएका जनकमानले आफूले गरेको राजनीतिक गुनको ब्याज खोजेनन् । पटकपटक सत्तामा पुगेको कांग्रेससँग पनि गुनको पैँचो माग्न गएनन् । कम्युनिष्ट नेताहरूसँग हिमचिम त थियो, तर तिनीहरूको कार्यशैली जनकमानलाई कति पनि मन पर्दैनथ्यो । जीवनको अन्तिम दिनहरूमा उनीभित्र एउटा जिज्ञासा उठेको थियो– ‘उपराष्ट्रपतिको चुनावमा मैले चाख देखाएको भए कांग्रेस, कम्युनिष्टको कस्तो प्रतिक्रिया हुन्थ्यो होला ?’  यो प्रश्नको परीक्षण नहुँदै उनी दैवका प्यारा भए । त्यो बेला सर्वोच्चकै न्यायाधीश परमानन्द झा उपराष्ट्रपति बनेका थिए ।

न्यायमा जनकमानका आदर्श थिए– पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान । संयोग के भने आफ्ना वकालती गुरु प्रधानलाई गृहमन्त्री भएका बखत बीपीले नेपाल बोलाएर प्रधानन्यायाधीशको जिम्मेवारी दिएका थिए । तिनै प्रधानले नेपालमा न्यायालयको जग बसालेका थिए । न्यायालयको मानमर्दन गरेको आरोपमा पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, बहालवाला मन्त्री डा. डिल्लीरमण रेग्मीलाई प्रधानले हिरासतमा राख्ने फैसला गरेका थिए । उनले त्यसैबखत न्यायालयमा महिला सशक्तिकरण, मानवअधिकारको सर्वोच्चतालाई प्राथमिकता मात्र दिएनन्, नेताहरूलाई आफ्नै देशमा स्वतन्त्रतापूर्वक हिँड्डुल, प्रचार गर्न लगाइएको प्रतिबन्धविरुद्ध अदालती फैसला गरेका थिए ।

यस्तै चाखलाग्दो घट्ना यहाँ स्मरणीय छ– राजा महेन्द्रको शासनको चकचकी थियो । उनकै ससुरा हरिशमशेरले सर्वोच्च अदालतमा मुद्दा हारे । मुद्दा हराउने न्यायाधीश थिए– रत्नबहादुर बिष्ट ।

राजाको अगाडि डराई–डराई उभिएर बिन्ती बिसाए– सरकार, सबै प्रमाणहरू हेरेँ अनि आँखा चिम्म गरेर पशुपतिनाथ र मेरा बाबुआमालाई सम्झिँदै फैसला गरेँ । त्यसको लागि सजाय भोग्न तयार छु ।

न्यायाधीश बिष्टले सबै कुरा सुने, सबै प्रमाण हेरेर वरिष्ठ न्यायाधीशको रोहबरमा राखेर बहस गराए । अन्ततः राजा महेन्द्रको ससुराको मुद्दा विरुद्ध फैसला सुनाए । राजाकै ससुरालाई मुद्दा हराएपछि देशैभरि तरङ्ग उठ्यो । दरबारिया स्तब्ध बने ।

फैसलाको आगो फैलनासाथ राजा महेन्द्रले रत्नबहादुरलाई दरबार बोलाए ।  शक्तिशाली राजाकै ससुरालाई हराएपछि पद सुरक्षित छैन भन्नु बुझेका बिष्टले कोटको खल्तीमा राजीनामा बोकेर गए । राजाको अगाडि डराई–डराई उभिएर बिन्ती बिसाए– सरकार, सबै प्रमाणहरू हेरेँ अनि आँखा चिम्म गरेर पशुपतिनाथ र मेरा बाबुआमालाई सम्झिँदै फैसला गरेँ । त्यसको लागि सजाय भोग्न तयार छु । न्यायालयमा बसेपछि कानुनी आधारमा फैसला सुनाएँ । रिसानी माफ पाउँ भन्दै राजा समक्ष पत्र अगाडि बढाए  ।

राजाले हातमा एउटा किताब बोकेका रहेछन् । रत्नबहादुरले राजीनामा पत्र दिनुअघि नै राजाले उक्त किताब हातमा थमाइदिँदै भने– ‘विदेशबाट ल्याएको किताब हो । पढेर के रहेछ सबै मलाई भन्नु ।’ आफ्नो राजीनामा पत्र खल्तीमै फिर्ता लिएर उक्त किताब बोकेर घरतिर लागे । घरमा पुगेर राजाले दिएको किताब दुई पन्ना मात्रै के पल्टाएका थिए, त्यहाँ एउटा खाम थियो । खाममा खोलेर हेर्दा त्यहाँ १५ हजार नगद थियो ।

विष्टको इमानबाट ओतप्रोत राजाले तत्काल ३५ हजार बकस दिएर पठाए । न्याय मर्‍याे भने के हुन्छ ? त्यसको उत्तर अहिले हैन, इतिहासबाट सिक्न जरुरी छ । 

उनी हतारहतार फेरि दरबार फर्किएर राजालाई बिन्ती चढाए– ‘लौ महाराजले किताबमा पैसा छोडिबक्सेको रहेछ ।  त्यही फिर्ता गर्न भनेर हतारहतार आएको हुँ ।’ विष्टको इमानबाट ओतप्रोत राजाले तत्काल ३५ हजार बकस दिएर पठाए । न्याय मर्‍याे भने के हुन्छ ? त्यसको उत्तर अहिले हैन, इतिहासबाट सिक्न जरुरी छ । 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १२ : २३ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार