काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई साडीमा नचिनेको प्रसङ्गप्रति आपत्ति जनाएकी छन् । विपिनले ‘प्रकाश सुबेदी शो’मा इभाको साडी लगाएको तस्बिर देखेर पनि उनलाई चिन्न नसकेपछि यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा आएको हो।
‘कबड्डी ५’को प्रचारका क्रममा कार्यक्रममा पुगेका विपिन र दयाहाङ राईलाई सञ्चालक प्रकाश सुवेदीले स्क्रिनमा इभाको तस्बिर देखाउँदै चिनाउन खोजेका थिए ।
सामान्यतः छोटा तथा ग्ल्यामरस पहिरनमा देखिने इभालाई साडीमा दुवै कलाकारले चिन्न सकेनन् । विपिन त तस्बिर नजिकै पुगेर हेर्दासमेत उनलाई पहिचान गर्न असफल भए । अन्ततः सुवेदीले नै तस्बिर इभा गिरीको भएको बताए ।
त्यसपछि विपिनले आफूहरूको दिमागमा इभाको अर्कै छवि रहेकाले साडीमा उनलाई चिन्न नसकेको बताएका थिए। उनले इभाको प्रगतिको प्रशंसा गर्दै उनी बलिउडमा समेत काम गरिरहेको उल्लेख गरेका थिए ।
तर, यही प्रसंगबारे प्रश्न गर्दा इभाले विपिनको प्रतिक्रियाप्रति असन्तुष्टि जनाइन् । ‘साडीमा अनुहार त एउटै हो, उहाँले कहाँ हेर्नुभयो ? कि उहाँको सोच नै गलत हो,’ उनले भनिन् ।
इभाले आफूले अनुहार परिवर्तन नगरेको भन्दै पहिरन फरक हुँदैमा अनुहार नचिनिने कुरा आफूले बुझ्न नसकेको बताइन् ।
यति ठूलो कलाकारसँग यस्तो प्रतिक्रिया अपेक्षा नगरेको उल्लेख गर्दै उनले सार्वजनिक प्लेटफर्म भएकै कारण मनमा आएको सबै कुरा बोल्न नमिल्ने टिप्पणीसमेत गरिन् ।
उनले विपिनको परिवारलाई समेत संकेत गर्दै आफूले भनेको कुरा उहाँको छोरीलाई भनिएको भए कस्तो महसुस हुन्थ्यो होला भनेर सोच्नुपर्ने बताइन् । यद्यपि अन्त्यमा उनले उक्त विषयलाई मनमा धेरै नलिएको पनि स्पष्ट पारेकी छन् ।














प्रतिक्रिया