काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी बोलाएकी गायिका एलिना चौहान त्यतिबेला असहज बनिन्, जब कुराकानी अचानक उनको व्यक्तिगत जीवनतर्फ मोडियो ।
आफ्नो कपडा पसल ‘रमणी’ स्थानान्तरण गरेर पुनः सञ्चालनमा ल्याएपछि एलिनाले केही युट्युबरलाई बोलाएर व्यवसायबारे कुराकानी गरेकी थिइन् । तर, एक महिला युट्युबरले पूर्वपति विष्णु सापकोटाको नाम लिएपछि उनको आक्रोश रोकिएन ।
एलिनाले केही दिनअघि नै सामाजिक सञ्जालमार्फत आफूलाई पूर्वपतिको विषयसँग नजोड्न स्पष्ट आग्रह गरिसकेकी थिइन् । त्यसका बाबजुद पनि सोही विषय उठेपछि उनले आफूले अब यसबारे कुनै प्रश्नको जवाफ दिन नचाहेको बताइन् ।
उनको गुनासो केवल नाम उल्लेख गरिएकोमा मात्रै थिएन। व्यक्तिगत जीवनको एउटा अध्याय समाप्त भइसकेपछि पनि सञ्चारमाध्यमले पटक–पटक त्यही विषयलाई कोट्याइरहेको भन्दै एलिनाले आफूलाई मानसिक रूपमा दबाब परेको महसुस हुने बताइन् ।
तीन-चार वर्षदेखि यही विषयमा समाचार बनिरहेको उल्लेख गर्दै उनले अब आफूलाई आफ्नो जीवन अघि बढाउन दिन आग्रह गरिन् ।
आफ्ना बुबाआमाकै अगाडि पुरानो सम्बन्धको कुरा उठाइएकोमा उनी झन् भावुक बनिन् । उनले सम्बन्धविच्छेदको पीडा आफैंले भोगेको भन्दै अरूको व्यक्तिगत पीडालाई पनि संवेदनशील भएर बुझ्नुपर्ने धारणा राखिन् ।
एलिनाका बुबाले भने त्यस्तो विषयलाई छाडेर खुसीको माहोल कायम राख्न आग्रह गरेका थिए । त्यसपछि अन्य युट्युबरहरूले प्रसंग परिवर्तन गर्दै ‘रमणी’को नयाँ स्थान, व्यवसाय र आगामी योजनाबारे एलिनासँग कुराकानी गरेका थिए ।
एलिनाको यो प्रतिक्रियाले सार्वजनिक व्यक्तिको निजी जीवनबारे प्रश्न गर्दा सञ्चारमाध्यमले कहाँसम्म संवेदनशील हुनुपर्छ भन्ने बहसलाई पनि फेरि सतहमा ल्याएको छ ।














प्रतिक्रिया