एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ? « Khabarhub

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?



नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा पुगेको छ। लिग चरणका २८ मध्ये १८ खेल सकिँदा प्रतियोगितामा सहभागी आठवटै टोलीको प्लेअफ सम्भावनालाई लिएर चासो बढेको छ।

सुरुवाती खेलमा देखिएको प्रदर्शन र अंकतालिकाको अवस्थाले केही टोलीलाई बलियो अवस्थामा पुर्‍याएको छ भने केहीका लागि अबका खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा अब लिग चरणका १० खेल मात्र बाँकी छन्। आठ टोलीमध्ये उत्कृष्ट चार टोलीले प्लेअफमा स्थान बनाउनेछन्। त्यसैले अब हुने प्रत्येक खेलको नतिजाले अंकतालिकाको समीकरण बदल्न सक्छ। अझै केही टोलीबीच अंकको अन्तर निकै कम रहेकाले अन्तिम खेलसम्मै प्लेअफमा पुग्ने टोलीको टुंगो नलाग्ने सम्भावना पनि उत्तिकै छ।

आइतबार लक्ष्मीपूजाका कारण विश्राम राखिएको छ भने बुधबार भाइटीकाका दिन पनि खेल हुने छैन। बाँकी दिनमा हुने १० खेलले प्लेअफको तस्बिर स्पष्ट पार्नेछन्।

अहिलेसम्मको अंकतालिका हेर्दा लुम्बिनी लायन्स सात अंकसहित शीर्षस्थानमा छ। काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। पाँच अंक जोडेको चितवन राइनोज चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किङ्स समान चार अंकसहित प्लेअफको दौडमा छन्।

चार खेल खेलेर पनि जित निकाल्न नसकेको पोखरा एभेन्जर्स भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ। अब प्रश्न उठ्छ, बाँकी खेलको नतिजाले कुन टोलीलाई प्लेअफसम्म पुर्‍याउला ? कसको सम्भावना बलियो छ र कसका लागि चुनौती बढ्दै गएको छ ?

लुम्बिनी : शीर्षस्थान जोगाउने चुनौती

सात अंकसहित शीर्षस्थानमा रहेको लुम्बिनी लायन्स अहिले सबैभन्दा बलियो अवस्थामा देखिन्छ। पाँच खेल खेलेको लुम्बिनीले तीन जित निकालेको छ भने एक खेलमा हार बेहोरेको छ। अर्को एक खेल भने नतिजाविहीन भएको थियो।

शनिबार पहिलो हार बेहोरे पनि टोलीको प्लेअफ सम्भावनामा तत्काल ठूलो असर परेको छैन। लुम्बिनीले अब कर्णाली याक्स र विराटनगर किङ्ससँग खेल्न बाँकी छ। यी दुवै खेल जित्न सके टोली ११ अंकमा पुग्नेछ। एउटा खेल जिते पनि नौ अंकसहित प्लेअफ स्थान सुरक्षित गर्ने बलियो आधार बन्न सक्छ।

लुम्बिनीका लागि अबको मुख्य चुनौती आफ्नो लय कायम राख्दै शीर्षस्थान जोगाउनु हो। बाँकी दुवै खेलमा पराजित भए भने टोली अन्य प्रतिस्पर्धीको नतिजामा निर्भर हुनुपर्नेछ। त्यसैले शीर्षस्थानमा रहे पनि लुम्बिनीले ढुक्क हुने अवस्था भने छैन।

काठमाडौँको नजर शीर्षस्थानमै

काठमाडौँ गोर्खाजका लागि बाँकी खेल प्लेअफमा पुग्ने अवसर मात्र होइन, अंकतालिकाको शीर्षस्थानमा उक्लिने सम्भावना पनि हो। चार खेल खेलेको काठमाडौंले तीन जित र एक हारसहित ६ अंक जोडेको छ।

काठमाडौँले अब चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ। तीनवटै खेल जित्न सके काठमाडौं १२ अंकमा पुग्नेछ। दुई खेल जिते पनि १० अंक हुनेछ, जुन प्लेअफ स्थान सुरक्षित गर्न पर्याप्त हुन सक्छ। तर काठमाडौँका बाँकी प्रतिद्वन्द्वी पनि कमजोर छैनन्।

विशेषगरी चितवन र सुदूरपश्चिमसँगको खेलले अंकतालिकाको माथिल्लो समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछ। काठमाडौंले यी दुवै टोलीलाई हराउन सके आफ्नै सम्भावना बलियो बनाउनुका साथै उनीहरूको प्लेअफ यात्रामा समेत धक्का पुर्‍याउन सक्छ।

सुदूरपश्चिमलाई पुरानै दबदबा फर्काउने अवसर

एनपीएलका अघिल्ला दुई संस्करणमा लिग चरणमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स यसपटक भने केही फरक लयमा देखिएको छ। पाँच खेल खेलेर तीन जित निकालेको टोली ६ अंकसहित तेस्रो स्थानमा छ। सुदूरपश्चिमले अब जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजसँग खेल्न बाँकी छ।

दुवै खेल जिते टोली १० अंकमा पुग्नेछ। एउटा खेल मात्र जिते आठ अंक हुनेछ। तर आठ अंकले मात्र प्लेअफ स्थान सुनिश्चित गर्छ भन्ने अवस्था छैन। जनकपुर र काठमाडौंसँगका दुवै खेल सुदूरपश्चिमका लागि महत्त्वपूर्ण छन्। यी खेलले उसको आफ्नै प्लेअफ यात्रासँगै अन्य टोलीको सम्भावनालाई पनि प्रभावित पार्नेछन्। विशेषगरी काठमाडौंसँगको प्रतिस्पर्धाले शीर्षस्थानको समीकरणमा ठूलो भूमिका खेल्न सक्छ।

चितवन : शीर्ष चारमा छ, तर स्थान सुरक्षित छैन

पाँच अंकसहित चौथो स्थानमा रहेको चितवन राइनोज पनि अहिले राम्रो अवस्थामा देखिए पनि उसको प्लेअफ यात्रा सुरक्षित भइसकेको छैन। चार खेल खेलेको चितवनले दुई जित, एक हार र एक खेल बराबरी खेलेको छ।

चितवनका लागि अब काठमाडौं, जनकपुर र कर्णालीसँगको खेल बाँकी छ। तीनवटै खेल जिते टोली ११ अंकमा पुग्नेछ भने दुई खेल जिते नौ अंक हुनेछ। त्यसैले चितवनसँग प्लेअफमा पुग्ने मात्र होइन, अंकतालिकाको माथिल्लो स्थानमा उक्लिने अवसरसमेत छ। तर उसका तीनै प्रतिद्वन्द्वी प्लेअफको दौडमा रहेकाले चुनौती सहज हुने छैन।

विशेषगरी काठमाडौं र कर्णालीसँगको नतिजाले चितवनको आगामी यात्रा निर्धारण गर्न सक्छ। अहिले शीर्ष चारमा रहे पनि बाँकी खेलमा चुक्ने हो भने चितवनलाई अन्य टोलीले पछि पार्न सक्छन्।

जनकपुर : अब गल्ती गर्ने छुट छैन

जनकपुर बोल्ट्स चार अंकसहित पाँचौं स्थानमा छ। पाँच खेल खेलेको जनकपुरले दुई जित निकालेको छ भने तीन खेलमा पराजय बेहोरेको छ। जनकपुरले अब सुदूरपश्चिम र चितवनसँग खेल्न बाँकी छ। दुवै खेल जित्न सके टोली आठ अंकमा पुग्नेछ। तर एउटा खेल मात्र जितेमा छ अंक हुनेछ, जुन प्लेअफका लागि पर्याप्त नहुन सक्छ। त्यसैले जनकपुरका लागि अब बाँकी दुवै खेल जित्नु पहिलो आवश्यकता हो। तर जित निकाल्दैमा मात्र प्लेअफ सुनिश्चित हुने अवस्था छैन। अन्य टोलीको नतिजा र नेट रनरेटले पनि उसको सम्भावनामा प्रभाव पार्नेछ। विशेषगरी सुदूरपश्चिम र चितवनसँगको प्रतिस्पर्धा जनकपुरका लागि निर्णायक बन्न सक्छ।

कर्णाली : तीन खेल बाँकी, सम्भावना अझै बलियो

चार अंकसहित छैटौं स्थानमा रहेको कर्णाली याक्ससँग अझै तीन खेल बाँकी छन्। चार खेल खेलेको कर्णालीले दुई जित र दुई हार बेहोरेको छ। कर्णालीले अब पोखरा, लुम्बिनी र चितवनसँग प्रतिस्पर्धा गर्नेछ। तीनवटै खेल जिते टोली १० अंकमा पुग्नेछ भने दुई खेल जिते आठ अंक हुनेछ।

बाँकी खेलको संख्या र अंकको अवस्थाका कारण कर्णालीसँग प्लेअफमा पुग्ने राम्रो अवसर छ। तर उसका लागि सबैभन्दा ठूलो चुनौती लगातार राम्रो प्रदर्शन गर्नु हो। लुम्बिनी र चितवनजस्ता बलिया प्रतिद्वन्द्वीसँगको खेलमा जित निकाल्न सके कर्णालीको सम्भावना थप बलियो हुनेछ। अबको कुनै पनि हारले भने उसको समीकरण कठिन बनाउन सक्छ।

विराटनगर : जित्नैपर्ने दबाबमा

विराटनगर किङ्स चार अंकसहित सातौं स्थानमा छ। पाँच खेल खेलेको विराटनगरले दुई जित र तीन हार बेहोरेको छ। अब विराटनगरले पोखरा र लुम्बिनीसँग खेल्न बाँकी छ। दुवै खेल जिते टोली आठ अंकमा पुग्नेछ।

प्लेअफमा पुग्न आठ अंक पर्याप्त हुन्छ भन्ने निश्चित छैन। अन्य टोलीको प्रदर्शन र नेट रनरेटले समेत निर्णायक भूमिका खेल्न सक्छ। त्यसैले विराटनगरका लागि अब हारको विकल्प निकै कम छ। विशेषगरी लुम्बिनीसँगको खेल चुनौतीपूर्ण हुनेछ। बाँकी दुवै खेल जितेर अन्य टोलीको नतिजा अनुकूल हुने आशा गर्नु नै विराटनगरका लागि प्लेअफसम्म पुग्ने बाटो हो।

पोखरा : प्लेअफको आशा जीवित राख्न चमत्कार चाहिने

चार खेल खेलेर चारै खेलमा पराजित भएको पोखरा एभेन्जर्स सबैभन्दा कठिन अवस्थामा छ। टोली अहिलेसम्म अंकविहीन छ। अब पोखराले कर्णाली, विराटनगर र काठमाडौंसँग खेल्न बाँकी छ। पोखराले तीनवटै खेल जिते अधिकतम छ अंक जोड्न सक्छ।

अहिले नै चार अंक जोडिसकेका धेरै टोली प्रतिस्पर्धामा रहेकाले छ अंकले प्लेअफको ढोका खोल्ने सम्भावना निकै कठिन देखिन्छ। त्यसका लागि पोखराले बाँकी सबै खेल जित्नुपर्नेछ भने अन्य प्रतिस्पर्धीको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ। नेट रनरेटले समेत ठूलो भूमिका खेल्न सक्छ। लगातार चार हारपछि पोखराका लागि अब हरेक खेल निर्णायक बनेको छ। बाँकी खेलमध्ये एउटामा मात्र पराजित भए पनि उसकी प्लेअफ यात्रा समाप्त हुनेछ।

अबका १० खेलले तय गर्नेछ प्लेअफको तस्बिर

अहिलेको अंकतालिकाले लुम्बिनी, काठमाडौँ, सुदूरपश्चिम र चितवनलाई तुलनात्मक रूपमा बलियो अवस्थामा देखाए पनि जनकपुर, कर्णाली र विराटनगरको सम्भावना समाप्त भएको छैन।

पोखराका लागि भने अबको यात्रा निकै कठिन छ। एनपीएलको यस संस्करणमा अब खेलको संख्या मात्र घट्दै छैन, टोलीहरूको गल्ती गर्ने अवसर पनि सकिँदै छ।

कुनै टोलीको एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने अर्को टोलीको एउटा हारले प्रतियोगिताबाट बाहिरिने अवस्था सिर्जना गर्न सक्छ। त्यसैले अबको १० खेल केवल जित र हारको प्रतिस्पर्धा हुने छैनन्, आठ टोलीको प्लेअफ सपना पूरा हुने वा अधुरै रहने फैसला पनि यिनै खेलले गर्नेछन्।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ८ : ०२ बजे

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर)

काठमाडाैँ – हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी