उदयपुर- ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’—जे नाम दिए पनि माओवादी संघर्षले नेपालको राज्य संरचना, राजनीति र चेतनामा गहिरो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । गणतन्त्र स्थापना र आजको राजनीतिक उपलब्धिको आधार त्यही संघर्ष थियो ।
त्यही संघर्षबाट हुर्किएका, त्यही युद्धले अभिभावक गुमाएका र बाल्यकालमै बन्दुक बोक्न बाध्य भएका उदयपुर कटारी नगरपालिका–२ गुराँसेका ३८ वर्षीय विनोद कटुवाल ‘दिवस’ अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक सूचीमा समेटिएका छन् ।
जनयुद्ध अन्त्य भएको झण्डै दुई दशक भइसक्यो । तर, त्यसले जन्माएका पीडा, बलिदान र सपनाहरू अझै हजारौँ मानिसका मानसपटलमा जीवित छन् । अपाङ्ग, घाइते, बेपत्ता र शहीद परिवारका आँखामा त्यो युद्ध अझै देखिन्छ ।
जनयुद्धका नाममा बनेका पार्टीहरूमा उनीहरू आफ्नो इतिहास खोजिरहेका छन् । योगदानको सम्मान र बलिदानको मूल्याङ्कन खोजिरहेका छन् । विनोद त्यही इतिहासका एक पात्र हुन् ।
बाल्यकालमै बाबुआमा गुमाएका उनी आज पनि आफूलाई जनयुद्धकै निरन्तर यात्रामा देख्छन् । भावुक हुँदै उनी भन्छन्, ‘यसपटक पार्टीले मेरो योगदान मात्र होइन, बाबुआमाको बलिदानको पनि मूल्यांकन गर्छ कि भन्ने आशा छ ।’
बाबुआमाको बलिदान, बाल्यकालमै संघर्ष विनोदका बुबा मोहन कटुवाल वर्गीय अन्यायविरुद्ध संघर्ष गर्दै जनयुद्धमा होमिएका थिए ।

विनोद सम्झन्छन्, ‘हजुरबुबाको नामको जग्गा स्थानीय सामन्तले कब्जा गरे । बुवाले विरोध गर्नुभयो । त्यसकै कारण कुटपिट, दमन र अपमान सहनुपर्यो ।’ राज्य र सामन्ती शक्तिको दोहोरो दमनपछि मोहन कटुवाल जनयुद्धमा पूर्ण रूपमा समाहित भए ।
२०५५ कात्तिक १२ गते उदयपुरको चिम्टाघारीमा मोहन कटुवालको हत्या भयो । त्यतिखेर विनोद ११ वर्षका थिए । बुबाको शहादतपछि परिवार गाउँमा बस्न सकेन । आमा गङ्गा कटुवाललाई २०५९ चैत ८ गते तत्कालीन शाही सेनाले घरबाटै पक्राउ गर्यो, त्यसपछि उनी बेपत्ता पारिइन् । तीन सन्तान सानै उमेरमा छरिए—कोही बुटवलतिर, कोही छिमेकीको शरणमा, कोही लुकेर जनयुद्धमै हुर्किए ।
‘जनयुद्धले मलाई बेसहारा बनायो’, विनोद भन्छन्, ‘त्यसैले बन्दुक बोक्न बाध्य भएँ ।’ कलम बोक्ने उमेरमा बन्दुक बोकेका उनी १३–१४ वर्षमै जनयुद्धका सिपाही बने । सिन्धुपाल्चोकबाट नेता पार्टी सम्पर्कपछि विनोद सिन्धुपाल्चोक पुगे । त्यहीँ उनको राजनीतिक र वैचारिक निर्माण भयो । अग्नि सापकोटा ‘कञ्चन’को परिवारसँग बस्दै पढाइ र संगठन दुवै सँगसँगै अघि बढ्यो । कुबिन्डेमा बसेको त्यो घर शान्ति प्रक्रियासम्म आइपुग्दा तीन जनाको शहादत सहेको थियो ।
विनोद बस्ने गाउँबाट मात्र १६ जना शहीद बनेका थिए । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन हुँदै उनी विभिन्न मोर्चामा सक्रिय भए । पूर्वका ठूला कारबाहीहरूमा संलग्न भए । ‘अरू केही नभए पनि म जनयुद्धकर्मी हुँ’, उनी भन्छन्, ‘नेपाली राजनीतिक इतिहासको एउटा अंश हुँ ।’

निरन्तर राजनीति, अवसरको प्रतीक्षा विनोद माओवादी केन्द्र हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशस्तरीय नेता हुन् । झण्डै एक दशक माओवादी केन्द्र उदयपुरको प्रमुख नेतृत्व सम्हाले । ०६४ सालमा पहिलो संविधानसभाका लागि नाम आए पनि उमेरकै कारण रोकियो ।
०७० र ०७४ मा टिकट माग्दा पनि अवसर पाएनन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कटारी नगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बनेर पराजित भए । उनी भन्छन्, ‘पार्टीकै बागी उम्मेदवारका कारण हार व्यहोर्नुपर्यो ।’ योगदानको मूल्याङ्कन हुन्छ कि हुँदैन त भन्ने प्रश्नमा विनोदको भनाइ छ, ‘गणतन्त्र र आजको राजनीतिक उपलब्धि जनयुद्धकै परिणाम हो । अब जेन–जी आन्दोलनपछि देश समृद्धिको बाटोमा जानुपर्ने उनको धारणा छ ।’
‘अहिले दलभन्दा माथि उठेर देश सोच्ने बेला आएको छ’, उनी भन्छन्, ‘कर्ममा विश्वास गर्ने मान्छे हुँ । तर, गरेको कर्मको मूल्याङ्कन नहुँदा मन भक्कानिन्छ ।’













प्रतिक्रिया