बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन « Khabarhub

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानको घोषणा गरेका छन्। 

उक्त घटनामा दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री अल्बानिजका अनुसार यो अनुसन्धान शाही आयोगका रूपमा सञ्चालन हुनेछ, जुन अस्ट्रेलियामा सम्भव सबैभन्दा उच्चस्तरीय र स्वतन्त्र सार्वजनिक छानबिन मानिन्छ । बिहीबार क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोगको नेतृत्व उच्च अदालतकी पूर्वन्यायाधीश भर्जिनिया बेलले गर्ने जानकारी दिए।

उनका अनुसार आयोगले अस्ट्रेलियामा यहुदीविरोधको प्रकृति, यसको व्यापकता र यसलाई बढावा दिने कारकहरूबारे गहिरो अध्ययन गर्नेछ । साथै, बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका पृष्ठभूमि, परिस्थितिहरू र त्यससँग जोडिएका कारणहरूको समेत विस्तृत अनुसन्धान गरिनेछ ।

आयोगले कानून कार्यान्वयन सुधार, सामाजिक एकता मजबुत बनाउने उपाय तथा चरमपन्थको फैलावट रोक्ने रणनीतिबारे सिफारिसहरू पनि प्रस्तुत गर्नेछ ।

हनुक्का पर्व मनाइरहेका बेला सिड्नीको एक प्रमुख स्थानमा भएको उक्त आक्रमणको एक वर्ष पूरा हुने मिति डिसेम्बर १४ भित्र आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री अल्बानिजले बताए।

‘यो स्पष्ट रूपमा यहुदीविरोधी आतङ्कवादी आक्रमण थियो’, प्रधानमन्त्री अल्बानिजले भने, ‘यो यहुदी अस्ट्रेलियाली समुदायलाई लक्षित थियो र इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । अस्ट्रेलियाको भूमिमा यस प्रकारको यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमण हो ।’

उक्त घटनाका जीवित संदिग्ध २४ वर्षीय नावीद अकरममाथि हत्या र आतङ्कवादसहित दर्जनौँ आपराधिक अभियोग दर्ता गरिएको छ । उनले अहिलेसम्म अभियोग स्वीकार वा अस्वीकारसम्बन्धी निवेदन दिएका छैनन् । घटनाका क्रममा उनका पिता साजिद अकरमलाई प्रहरीले गोली हानेर मारिएको थियो ।

यसअघि न्यु साउथ वेल्स राज्यस्तरीय अनुसन्धानको सट्टा राष्ट्रिय शाही आयोग गठन गर्न राजनीतिक दलका सांसदहरू, यहूदी समुदायका नेताहरू तथा खेलकुद र सार्वजनिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूले हप्तौँदेखि दबाब दिँदै आएका थिए ।

प्रारम्भमा प्रधानमन्त्री अल्बानिजले यति ठूलो अनुसन्धान लामो समय लाग्ने भन्दै हिचकिचाहट देखाएका थिए । तर बिहीबार उनले दबाबका कारण आफ्नो धारणा बदलेको भन्ने आरोपलाई अस्वीकार गरे ।

‘मैले जनताको आवाज सुनेको छु’, उनले भने, ‘लोकतन्त्रमा यो सकारात्मक कुरा हो ।’

प्रधानमन्त्री अल्बानिजले गोलीकाण्डलगत्तै अस्ट्रेलियाका सुरक्षा र कानून प्रवर्तन निकायहरूले सुरु गरेको अनुसन्धान शाही आयोगकै प्रक्रियामा समेटिने जानकारी दिए । साथै, उनले घटनापछि नयाँ विधायी एजेन्डा अघि बढाउने योजना पनि सार्वजनिक गरेका छन् । 

यसमा अस्ट्रेलियाका पहिले नै कडा बन्दुकसम्बन्धी कानूनहरूलाई थप कडा बनाउने र तथाकथित घृणा फैलाउने अभिव्यक्तिलाई आपराधिक कसुरका रूपमा परिभाषित गर्ने प्रावधान समावेश हुने बताइएको छ, जुन हालका कानूनमा अभियोजनका लागि पर्याप्त कडा नभएको सरकारको ठहर छ ।
 

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ५ : ०४ बजे

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

दार्चुला– जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा

बालेन-रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन : असिमको साह

काठमाडौं– पछिल्लो समय नेपाली राजनीतिमा चर्चाको विषय बन्यो काठमाडौँ महानगरपालिकाका

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले