के छ प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा ? « Khabarhub

के छ प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा ?


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री प्रक्रियामा भने अझ धेरै सुधार आवश्यक रहेकोमा जोड दिइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा यस्तो निष्कर्ष निकालिएको हो ।

‘निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार काम भएको थिएन र मतदान केन्द्रका बारेमा अझै विश्लेषण हुन जरुरी छ ।’ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले भने ।

उनले भने, ‘मतदान हुनु अघिको मतदान स्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जे–सी विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको हो । यसमा एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।’

सात प्रदेशका २४ जिल्लामा रहेको १६० बुथको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले जानकारी दिए । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट ढिलो स्वीकृत पाएकाले पर्याप्त तयारी गर्न समय अभाव रहेको उनले बताए । यद्यपि सातै प्रदेशका मतदान केन्द्रहरुमा १६० जना पर्यवेक्षकलाई प्रशिक्षण दिएर पर्यवेक्षणमा पठाइएको कार्यक्रममा बताइयो ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार मतदान केन्द्र तयार नभएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । उनले भने, ‘न्यूनतम मापदण्ड पूरा भएका मतदानस्थल भेटिएनन् । मतदान केन्द्र नै पर्याप्त सूचनाबाट बन्चित रहेकाले आउँदा दिनमा मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ ।’

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदान स्थल अपांगतामैत्री नभएको र मतदानपछि फर्किने बाटो वृद्धा र अशक्तका लागि ध्यान नपुर्‍याइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पर्यवेक्षणका क्रममा प्राप्त अनुभव सेयर गरेकी थिइन् । उनले मतदान स्थल महिलामैत्री भएको तर मतदानपश्चात निस्कने बाटोका बारेमा ध्यान नपुर्‍याएको अनुभव सुनाइन् । पर्यवेक्षणमा सहकार्य गरेको टेवा संस्थाले ६ जिल्लाको विभिन्न १२ वटा बुथमा पुगेर पर्यवेक्षण गरेको थियो ।

मतदान गर्ने बनाइएको लाइन अव्यवस्थित, निर्वाचन महिला प्रहरीमाथि फरक व्यवहार भएको र मतदान अधिकृतको रुखो व्यवहार पर्यवेक्षणको क्रममा प्राप्त भएको संस्थाकी ज्याेति रानाले बताइन् । यस्तै, शान्तिका लागि अभियान संस्थाकी विन्द्रा महर्जनले नेपाली भन्दा विदेशी पर्यवेक्षकलाई मात्र महत्व दिएको बताइन् ।

यसैगरी, महिला अपाङ्ग संघकी अध्यक्ष सुस्मिता श्रेष्ठले मतदान केन्द्र अपांगमैत्री नभएको उल्लेख गरिन् । कार्यक्रममा पर्यवेक्षणको क्रममा खिचिएका तस्बिरहरु प्रदर्शनीमा राखिएको थियो । जसमा मतदान केन्द्र निर्माण, मतदान भइरहेको अवस्था र मतगणनाको अवस्था देखाइएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ३३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी