काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्समाथि २७ रनको शानदार जित दर्ता गरेको छ ।
वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरे । ‘प्लेयर अफ द म्याच’ बनेका जैसवालले ३२ बलमा ७७ रनको अविजित इनिङ खेले । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।
१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र जोड्न सक्यो । राजस्थानका बलरले कसिलो बलिङ गर्दा मुम्बईका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । मुम्बईका कप्तान हार्दिक पाण्डेया र ओपनर रोहित शर्मालेसमेत दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यो जितसँगै राजस्थान रोयल्स लगातार तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा एउटा मात्र जित निकालेको मुम्बई इन्डियन्स सातौँ स्थानमा छ ।













प्रतिक्रिया