कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको हुँदा सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।
विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्नेजस्ता गतिविधि नगर्न सचेत गराइएको छ ।
शाखा प्रमुख भट्टका अनुसार संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरिएको छ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको शुल्क विवरण पेस नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको छ । निर्धारित समयभित्र पेस नगरे नियमअनुसार कारबाही हुनेछ ।
उनका अनुसार शैक्षिकसत्र सुरु हुनुअगावै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ ।
धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको छ । भट्टले भने, ‘शैक्षिकसत्र सुरु हुनुअगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई भनेका छौँ, निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।’
‘विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो आएपछि सवारी मर्मत, नयाँ साधन व्यवस्थापन र सीट क्षमताअनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र नै पठाएर भनेका छौँ’, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले भने । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयप्रति कडा कानुनी कारबाही हुने उनले बताए ।
वडा नम्बर १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थीले घरमै उच्च शिक्षाको अवसर पाउने भएका छन् । नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
नगरपालिकाले यस अभियानमार्फत विद्यालय व्यवस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ । शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागितालाई सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ । नगरपालिकामा सामुदायिक २८ र संस्थागत २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् ।













प्रतिक्रिया