काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौता लेबनानमा लागू नहुने स्पष्ट पारेका छन्। दुई साताका लागि तय गरिएको भनिएको सो सम्झौताले लेबनानको युद्धलाई नसमेट्ने उनको भनाइ छ।
इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकाले इरानविरुद्धको आक्रमण स्थगित गर्ने निर्णयको समर्थन गरे पनि लेबनानमा जारी सैन्य कारबाही भने नरोकिने संकेत गरेको अल जजिराले समाचार लेखेको छ ।
इरानलाई आणविक र क्षेप्यास्त्र खतरारहित बनाउन पाकिस्तानको इस्लामाबादमा हुने आगामी वार्तामा अमेरिकाले प्रतिबद्धता जनाएको नेतन्याहूले उल्लेख गर्नुभएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीचको सहमति लेबनानसहित सबै क्षेत्रमा तत्काल लागू हुने दाबी गरेका थिए। इजरायलले पाकिस्तानको उक्त दाबीलाई ठाडै अस्वीकार गरेको छ।
गत मार्च २ देखि इरान समर्थित हिज्बुल्लाहले इजरायलमाथि आक्रमण सुरु गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो। इजरायली आक्रमणका कारण लेबनानमा अहिलेसम्म एक हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ। त्यहाँ १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
नेतन्याहूको पछिल्लो अडानबारे हिज्बुल्लाह वा लेबनानले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।













प्रतिक्रिया