लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राखेका छन् । प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताए।
सङ्घीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उनको धारणा थियो । प्रदेशसभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिका सन्दर्भमा प्रदेशको सम्पत्ति जोगाउनेहरूप्रति धन्यवाद व्यक्त गरे।
उनले संविधानको मर्म र घोषणापत्रअनुसार काम गर्न सुझाव दिँदै द्रुतमात्र होइन, निष्पक्ष कारबाही आवश्यक रहेको बताए। प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सङ्घीय सरकारसँग आग्रह गरे ।
प्रदेशसभा सदस्य इन्द्रकुमारी गहतराजले जेन-जी आन्दोलनमा घुसपैठका कारण अप्रत्याशित क्षति भएको बताए। सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुरा व्यवहारबाट देखिनुपर्ने उनको भनाइ थियो ।
अर्का प्रदेशसभा सदस्य यमबहादुर सार्कीले दलित अधिकार विधेयकलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए । करिब सात लाख ३५ हजार नागरिकसँग सम्बन्धित यस विधेयकलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने उनको जोड थियो ।
प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले किसानका लागि मल र बीउको समस्या पटकपटक उठाउँदा पनि समाधान नहुँदा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। प्रदेशसभा सदस्य गिरीधारीलाल न्यौपानेले लोकतान्त्रिक मूल्य, संविधान र नागरिक स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिइन्।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिँदै चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालन भइरहेका आयोजनाबारे जानकारी दिए । प्रदेशका नागरिकले सहज सेवा पाउने गरी सामूहिक भावनाबाट काम अघि बढाइने उनको भनाइ थियो ।
यसैबीच, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरे। सातौँ अधिवेशनको नवौँ बैठक चैत २६ गते दिउँसो ११ः०० बजे बस्ने छ ।













प्रतिक्रिया