काठमाडौँ– जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक स्रोत–साधन र निर्णय गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका थिए।
उनीहरूले विभिन्न राजनीतिक दलहरूले चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता र जनउत्तरदायी शासन प्रणालीलाई बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।
माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै स्थानीय तहको अधिकार कटौती नगर्न र संघीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
जनमत पार्टीले संघीय संरचनालाई थप प्रभावकारी बनाउँदै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने आफ्नो मागप्रति सम्बन्धित निकायले ध्यान नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ।
पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरू सहभागी प्रदर्शनमा ‘कांग्रेस–कम्युनिष्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा गर’, ‘स्थानीय सरकारलाई अधिकार दे’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरिएको थियो ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया