फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले । तर क्रिस्टियानो रोनाल्डो ती दुर्लभ खेलाडी हुन्, जसले दुवै क्षेत्रमा अमिट छाप छोडेका छन् । पाँच पटकको बालोन डी’ओर, पाँच पटकको च्याम्पियन्स लिग, युरो २०१६ को उपाधि, करिअरका ९७६ गोल र अनगिन्ती कीर्तिमान । तर यति धेरै उपलब्धिबीच एउटा सपना भने सधैँ अधुरै रह्यो- विश्वकप ट्रफी ।
अमेरिकाको डलासमा स्पेनसँग १–० गोलको हारसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप यात्रा अन्त्य भएको छ। अन्तिम १६ को खेलमा इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई क्वाटरफाइनलमा पुर्यायाे भने पोर्चुगलको विश्वकप अभियान र रोनाल्डोको अन्तिम विश्वकप सपना दुवै समाप्त भए ।
रोनाल्डोका लागि अन्तिम विश्वकपको अन्तिम रात
खेल सकिएपछि सबैभन्दा बढी ध्यान जित्ने टोलीभन्दा हार्ने टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि केन्द्रित भयो । अन्तिम सिट्टी बज्नेबित्तिकै उनी केहीबेर मैदानमै उभिए । आँखामा आँसु थियो, अनुहारमा निराशा स्पष्ट देखिन्थ्यो । दर्शकतर्फ अन्तिम पटक हेर्दै उनले कप्तानीको आर्मब्यान्ड समाते र बिस्तारै ड्रेसिङ रुमतर्फ लागे । त्यसपछि उनले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे । ४१ वर्षका रोनाल्डोका लागि यो केवल अर्को हार थिएन । यो दुई दशकभन्दा लामो विश्वकप यात्राको अन्तिम अध्याय थियो । उनले आफ्नो करिअरमा क्लब फुटबलदेखि राष्ट्रिय टोलीसम्म लगभग सबै ठूलो उपाधि जिते। तर विश्वकप ट्रफी भने उनको हातमा कहिल्यै परेन ।
विश्वकप जित्ने सपना पूरा नभए पनि रोनाल्डोले फुटबल इतिहासमा आफ्नो नाम अमिट रूपमा लेखाइसकेका छन् । जारी विश्वकपमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै उनी लगातार ६ फरक विश्वकप संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने । यो उपलब्धि अहिलेसम्म कुनै पनि फुटबलरले हासिल गर्न सकेका छैनन् ।
विश्वकपमा उनले पोर्चुगलका लागि २७ खेल खेल्दै ११ गोल गरे । यसै संस्करणमा क्रोएसियाविरुद्ध गोल गर्दै ४१ वर्षको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी पनि बने । यद्यपि, विश्वकपमा सबैभन्दा धेरै खेल र गोल गर्ने कीर्तिमान भने अर्जेन्टिनाका कप्तान लियोनेल मेसीकै नाममा कायम छ । मेसीले विश्वकपमा ३० खेल खेल्दै २० गोल गरेका छन्। तर लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो कीर्तिमान भने रोनाल्डोकै नाममा रहनेछ ।
स्पेनसँगको हारपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पदबाट राजीनामा दिएका छन् । उनले यो हारलाई पोर्चुगिज फुटबलको एउटा स्वर्णिम युगको अन्त्यको रूपमा व्याख्या गरेका छन् । वास्तवमा पोर्चुगलले पछिल्ला तीन दशकमा दुई महान खेलाडी पायो- लुइस फिगो र क्रिस्टियानो रोनाल्डो । दुवैले विश्व फुटबलमा देशको प्रतिष्ठा उचाले, तर विश्वकप ट्रफी भने अझै पोर्चुगलको सपना नै बनेको छ।
अब नयाँ पुस्ताको परीक्षा
रोनाल्डोको बिदाइसँगै पोर्चुगल अब नयाँ पुस्ताको नेतृत्वमा प्रवेश गर्नेछ । ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, राफाएल लियाओ, भिटिन्हा, नुनो मेन्डेस, जोआओ नेभेस र गोन्कालो रामोसजस्ता प्रतिभाशाली खेलाडी टोलीका भविष्य हुन् । तर अन्तर्राष्ट्रिय विश्लेषकहरूको धारणा स्पष्ट छ- पोर्चुगलले भविष्यमा विश्वकप जित्ने हो भने त्यो कुनै एक सुपरस्टारको व्यक्तिगत प्रतिभाले मात्र सम्भव हुने छैन । बलियो टोली, स्पष्ट रणनीति र सामूहिक प्रदर्शन नै सफलताको आधार बन्नेछ ।
ट्रफी छुट्यो, इतिहास भने आफ्नै नाममा
रोनाल्डोले विश्वकप जित्न सकेनन्, तर उनले विश्व फुटबलमा धेरै दुर्लभ कीर्तिमान कायम गरेका छन्। उनी लगातार ६ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी हुन् । यो कीर्तिमानलाई ‘गिनीज वर्ल्ड रेकर्ड्स’ ले समेत प्रमाणित गरेको छ। पोर्चुगलका लागि उनले अन्तर्राष्ट्रिय फुटबलमा १४६ गोल गरेका छन्, जुन पुरुष अन्तर्राष्ट्रिय फुटबलकै सर्वाधिक गोलको कीर्तिमान हो।
जारी विश्वकपमा उनले उज्वेकिस्तानविरुद्ध दुई तथा क्रोएसियाविरुद्ध एक गोल गर्दै तीन गोल गरे । विश्वकपमा उनको उत्कृष्ट उपलब्धि भने सन् २००६ को सेमिफाइनल यात्रा रह्यो । विश्व फुटबलको सबैभन्दा ठूलो ट्रफी भने उनको हातमा कहिल्यै परेन । तर त्यसले उनको विरासतलाई सानो बनाउँदैन । पाँच बालोन डीओर, पाँच च्याम्पियन्स लिग, युरो कप, ९७६ गोल, अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता र अनगिन्ती व्यक्तिगत कीर्तिमानले उनलाई विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक बनाइसकेको छ।
डलासको त्यो रात स्पेनले क्वाटरफाइनलको टिकट काट्यो । तर फुटबल समर्थकका लागि त्यो रात अर्को कारणले पनि ऐतिहासिक बन्यो- किनभने त्यही रात विश्वकपले आफ्नो एक महान् अध्यायलाई भावुक बिदाइ गर्याे । ट्रफीको सपना अधुरै रह्यो, तर क्रिस्टियानो रोनाल्डोको नाम भने विश्व फुटबलको इतिहासमा सधैँ अमर रहनेछ।












प्रतिक्रिया