अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ? « Khabarhub

कटाक्ष !

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?



काठमाडौँ- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क अर्ती ! यो सामग्री पढेपछि कसैको मोबाइल चिलाएमा, रक्तचाप बढेमा वा पित्त उम्लिएमा, त्यो संयोग मात्र हुनेछ ।

हतियारको नाममा जिन्दगीभर गुलेलीको रबर तान्न र भान्साको भुत्ते चुलेसी उध्याउनबाहेक केही नजानेका अनि युद्धको नाममा छिमेकीको भाले जुधाई देख्दा आत्तिएर ओछ्यानमुनि लुक्ने सबै फेसबुके कमान्डर-इन-चिफहरू ! हिजो अमेरिका र इरानको क्षेप्यास्त्रको गति नाप्दै पेन्टागनलाई समेत माथ दिने रणनीतिक विश्लेषक बनेर फेसबुक रङ्गाउँदै हुनुहुन्थ्यो । रुस-युक्रेन युद्धमा पुटिन र जेलेन्स्कीलाई कसरी युद्ध जित्ने भनेर नाटोको अदृश्य चिफ-एडभाइजरजस्तै बनी महा-विश्लेषण छाँटेको पनि यही कानले सुन्नुपर्‍यो, यिनै आँखाले देख्नुपर्‍यो ।

ताप्लेजुङ गोल्डकपदेखि गाउँका भालेकपसम्म फौजदारी गरेर हिँड्ने मेरा विद्वान् मित्रहरू आज सिधै फिफाको नियम र अन्तर्राष्ट्रिय रेफरिइङको पीएचडी कक्षा लिइरहेका छन् ! यो गाउँकप/टोलकप भएको भए तिनले आफ्नो टोली लिएर गाउँ फर्किसक्थे । आज पनि आफूले समर्थन गरेको टिम बाहिरिएपछि बाटोमा रिस पोखिरहेका छन् ।

हुन त सुब्बा जेठाले त्यसै भनेका होइनन् रहेछन्- “खान नपाएपछि अङ्गुर अमिलो, हरूवा गोरुको छेरुवा दाउ !” आफूले समर्थन गरेको टिम पहिलो राउन्डमै पाङ्ग्रा गुडाएर घर फर्किएपछि अब मेस्सी र अर्जेन्टिनालाई सराप्नुबाहेक यिनीहरूसँग उपाय नै के छ र ?

गणेश चौथीमा छिमेकीको केरा चोर्दा कुटाइ खाएर चप्पल नै छोडी कुलेलाम ठोक्ने धुरन्धरहरूलाई, अर्जेन्टिनाले विश्वकप जित्दा फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिक्यो ? भन्ने कुराको ब्रह्माण्डीय र दिव्य ज्ञान पहिल्यै भइसकेछ ! मेस्सीले ट्रफी उचाल्न अघि बढ्नु र यिनीहरूको फेसबुकमा ‘मूड अफ’ को रुवाबासी सुरु हुनु ठ्याक्कै एउटै साइतमा पर्छ ।

फिफाले अर्जेन्टिनालाई जिताउनै वर्ल्डकप खेलाएको टुङ्गो लागेको हो भने अर्को पटकदेखि टोलकप मात्रै खेल्न र वर्ल्डकप नखेल्न तपाईंको टिमलाई भन्नू । मानेनन् भने, माइतीघरमा आन्दोलनको विकल्प छँदै छ । अब अर्जेन्टिना र मेस्सीको सत्तोसराप गरेर थाकेको मोबाइल र तपाईंको घाँटीलाई थोरै आराम दिँदै, तपाईंहरूको यो अलौकिक र बहुमुखी महा-प्रतिभालाई न्याय गर्न मेरो तर्फबाट केही विषयहरू निःशुल्क दिएको छु।

तपाईंहरू जस्ता गुगल र विकिपिडियाका बाजेहरूले अब निम्न विषयमा आफ्नो महा-विज्ञता प्रदर्शन गरी फेसबुकको भित्तो धन्य बनाइदिनुहुन हार्दिक अनुरोध छ : चिण्डो र सिलाम साक्माको विवाद: यसको ऐतिहासिक, सांस्कृतिक र भू-राजनीतिक समाधान के हुन सक्छ? यसको निकास हर्क साम्पाङ र पूर्वेलीहरूले होइन, तपाईंकै स्टाटसले निकाल्नुपर्छ। फिलिपिन्सको भूकम्पको भूगर्भिक कारण: टेक्टोनिक प्लेट्स हल्लिनुमा त्यहाँको प्राकृतिक कारण मात्र जिम्मेवार छ कि यसमा पनि अमेरिकी साम्राज्यवाद वा फिफाको सेटिङको हात छ ? पत्ता लगाउनुस् ।

स्पेस-एक्सका आगामी आविष्कारहरू: एलन मस्कको सानो गिदीले सोच्न नसकेका रकेटका बुस्टर डिजाइनहरू र मंगल ग्रहमा भाले कप आयोजना गर्ने रणनीतिक खाका। आर्टिफिसियल इन्टेलिजेन्स र फेसबुके बुद्धिको तुलनात्मक अध्ययन: सिलिकन भ्यालीका इन्जिनियरहरूले रातदिन नभनी बनाएको एआईभन्दा चिया पसलमा बसेर संसारका हरेक विषयमा २ सेकेन्डमा प्रतिक्रिया दिन सक्ने तपाईंहरूको फेसबुके बुद्धि कसरी श्रेष्ठ छ? वैज्ञानिक कारण खोज्नुस्।

ब्ल्याक होल र ग्यास सिलिन्डरको आयु: ब्रह्माण्डको ब्ल्याक होलले प्रकाश निलेझैँ महिना दिन नपुग्दै भान्साको ग्यास सिलिन्डर कसले निल्छ भन्ने विषयमा सटिक क्वान्टम मेकानिक्सको सिद्धान्त । विशेष अनुरोध: कृपया आफ्नो यो बहुमूल्य ज्ञान फेसबुकको कमेन्ट बक्समा मात्र सीमित राखेर राष्ट्रिय प्रतिभा खेर नफाल्नुहोला । नासा, संयुक्त राष्ट्रसङ्घ, विश्व बैंक, फिफा, नेपाल सरकार र तीन करोड नेपाली सँगै विश्वभरका मानिस तपाईंको अर्को स्टाटस र कमेन्टको प्रतीक्षामा छन् !

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ५ : २२ बजे

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको