काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग गर्न भारतले नेपालमा मानवीय सहायता निरन्तरता दिएको छ ।
भारतबाट राहत सामग्रीसहितको आठौँ भारतीय वायुसेनाको विमान बुधबार काठमाडौं आइपुगेको छ ।
भारतले २६ अगस्ट २०२६ देखि आठवटा विशेष उडानमार्फत नेपालमा राहत सामग्री, उद्धार उपकरण र विशेषज्ञ जनशक्ति पठाएको जनाएको छ ।
हालसम्म भारतले १३० टनभन्दा बढी राहत सामग्री नेपाल पठाएको छ भने उद्धार, राहत तथा फरेन्सिक कार्यमा सहयोग गर्न ५४ जना विशेषज्ञ परिचालन गरेको छ ।
भारतले उपलब्ध गराएको राहत सामग्रीमा अस्थायी आश्रयस्थल, कम्बल, हाइजिन किट, सौर्य बत्ती र औषधि रहेका छन् ।
त्यसबाहेक सुरुङ तथा हिलोमा उद्धारका लागि मड रेस्क्यु सुट, ग्यास डिटेक्टर, श्वासप्रश्वास उपकरण, इन्फ्लेटेबल वाकवे लगायतका विशेष उपकरण पनि पठाइएको भारतले जनाएको छ ।
त्यस्तै, डीएनए परीक्षणका लागि डीएनए किट, रिएजेन्ट तथा प्रोफाइलिङ उपकरण, पोर्टेबल जेनेरेटर, लाइटिङ टावर र पानी निकाल्ने पम्पसमेत नेपाललाई उपलब्ध गराइएको छ ।
भारतबाट आएको विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा सुरुमा चिलिमे र लाङटाङका दुई स्थानमा खोज तथा उद्धार कार्य थालेको थियो। अहिले टोलीको खोजी अभियान चिलिमेमा केन्द्रित छ ।
चिलिमे क्षेत्रमा कठिन भूगोल, पहुँचको समस्या र सुरुङको भिरालो संरचनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भारतले जनाएको छ।
भारतीय टोलीले म्यानुअल प्रयास तथा विभिन्न नवीन प्रविधिको प्रयोगबाट खोजी कार्यमा प्रगति गरिरहेको जनाएको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुरुङसम्म एक्स्काभेटरजस्ता भारी उपकरण पुर्याउन अस्थायी बाटो निर्माण भइरहेको छ ।
भारतीय दूतावासका अनुसार उक्त बाटो निर्माणमा उत्साहजनक प्रगति भइरहेको छ र अबको २ देखि ३ दिनमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यसैगरी, भारतीय फरेन्सिक टोलीले काठमाडौंका दुईवटा प्रयोगशालामा नेपालका सम्बन्धित निकायका विज्ञहरूसँगको सहकार्यमा डीएनए नमुनाको परीक्षण तथा विश्लेषण गरिरहेको छ ।
भारतले उपलब्ध गराएको फरेन्सिक प्रयोगशाला उपकरण, डीएनए किट र रिएजेन्टले पहिचान प्रक्रियामा सहयोग पुग्ने जनाएको छ ।
भारतले नेपालका जनता र सरकारलाई आवश्यक सबै सम्भावित सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाउँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ ।












प्रतिक्रिया