काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।
सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारण सभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो ।
साधारण सभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात् बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ नाघेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड रुपैयाँअर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको जनाएको छ ।
साथै सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ रुपैयाँ करोड पुगेको छ ।
सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए ।
बैंक देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे ।
नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ । साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।














प्रतिक्रिया