काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले नयाँ भाडा दर सार्वजनिक गरेको हो ।
दसैँ लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दर सार्वजनिक गरेको हो । तर, विद्युतीय सवारीसाधन (ईभी) का लागि अघिल्लो पटक २०८१ सालमा तोकिएको भाडा दर नै कायम छ ।
विभागका अनुसार तराई र पहाडी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको छ ।
तराईको लामो दूरी (२५० कि.मि. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा प्रति कि.मि. प्रति व्यक्ति २.९३ कायम गरिएको छ भने २५ देखि २५० कि.मी. सम्मको दूरीमा ३.०० तोकिएको छ । त्यसैगरी, काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रति कि.मि. ३.२४ कायम गरिएको विभागले जनाएको छ ।
विभागअन्तर्गतका सम्बन्धित कार्यालयबाट डिलक्स तथा सुपर डिलक्स सुविधा प्रमाणित भएका यात्रुवाहक सवारीसाधनले तोकिएको भाडादरमा २० प्रतिशतसम्म रकम थप गरी लिन पाउने व्यवस्था गरिएको छ ।
डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले तोकिएको भाडादरमा २० प्रतिशत थप लिन पाउनेछन् । त्यस्तै, सुपर डिलक्स सुविधा प्रमाणित भएका सवारीसाधनले डिलक्सको भाडादरमा २० प्रतिशत थप गरी भाडा लिन सक्नेछन् ।
मालवाहक सवारीसाधनको भाडादर परिमार्जन गर्दै तराई र पहाडी क्षेत्रमा प्रतिटन प्रतिकिलोमिटरका आधारमा भाडादर कायम गरिएको छ।
यसअघि तराई क्षेत्रमा प्रतिटन प्रतिकिलोमिटर ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ६५ पैसा भाडादर कायम गरिएको थियो । २०८१ पुस १६ गतेदेखि लागू हुने गरी तराईमा प्रतिटन प्रतिकिलोमिटर ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
उक्त दरलाई १० टनका आधारमा हिसाब गरी विभिन्न रुटका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरिएको छ ।














प्रतिक्रिया