सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म « Khabarhub

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

संस्कृति, परम्परा र उत्सवका सात आयाम


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू होलान्, जसमा सातथरीका रङ्ग, दियो-बत्ती र झिलिमिली, देउसी-भैलोको रौनक, सेलरोटीको वासना, धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना, घरघरमा रङ्गोलीको सुन्दरता, चङ्गाले भरिएका आकाश, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम र स्नेहलाई फलाउने-फुलाउने आधार र निधारमा रङ्गिने सप्तरङ्गी टीका समावेश हुन्छन्।

तिहारलाई पशुपन्छीदेखि मानवसम्मको पूजा हुने उज्यालोको पर्व पनि मानिन्छ। जुनसुकै नाममा आए पनि यस्ता सांस्कृतिक पर्वले समाजलाई जोड्ने काम गर्छन्।

यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ। यसबीचमा सुरुमा काग पूजादेखि सुरु भएर कुकुर पूजा, गाई पूजा, गोरु पूजा, भाइटीका हुँदै लक्ष्मीपूजा, दीपावली र देउसी-भैलो समेटिन्छन्।

पशुपन्छी पूजा

तिहारमा पशुपन्छीको विशेष पूजाआजा गरिन्छ, जसमा काग, कुकुर, गाई र गोरु पर्छन्। यी पशुपन्छीसँग मानव जीवन कति घनिष्ठ रूपमा जोडिएको छ भन्ने कुरा पनि यसले उजागर गर्छ।

  • काग : यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदेओस् भनेर कागलाई पूजा-आराधनासहित मीठो-मीठो खान दिई खुसी पार्ने गरिन्छ।
  • कुकुर : कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
  • गाई : गाईलाई नेपाली समाजमा देवी लक्ष्मीको रूप मानिन्छ। गाईले दूध दिन्छ, जसबाट दही, घिउ र अन्य धार्मिक सामग्री तयार गरिन्छ। त्यसैले गाईलाई ‘माता’ भनेर पूजा गर्ने परम्परा प्राचीन समयदेखि चल्दै आएको छ।
  • गोरु : परम्पराअनुसार गोरुका सहयोगबिनै किसानले राम्रो खेती गर्न सक्दैनथे। यसै विश्वासलाई मनन गर्दै तिहारमा गोरुलाई माला लगाइन्छ, टीका लगाइन्छ र मीठा खानेकुरा चढाइन्छ। यसले किसानको श्रमको कदर प्रकट गर्ने मात्र नभई खेतपातीको उत्पादन र जीवनयापनको समृद्धि सुनिश्चित गर्ने विश्वासलाई पनि बलियो बनाउँछ।

मखमलीको माला जस्तै आयुको कामना

तिहारका दुई विशेष फूल हुन्- सयपत्री र मखमली। यी दुवै फूल यही सिजनमा ढकमक्क फुल्छन्। अहिले गाउँघरका पाखाभरि र सहरका कौसीभरि सयपत्री र मखमली ढकमक्क हुन्छन्। सयपत्री फूल र त्यसको सुगन्धले नै हामीलाई तिहारको आभास दिलाउँछ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन। यो पृथ्वीमा धेरै फूल फुल्छन्, तर कसैको आयु एक घण्टाको मात्र पनि हुन्छ। त्यसैले लामो आयुलाई यसले प्रतिबिम्बित गर्छ।

सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन। मखमली माला र दुबो कहिल्यै नओइलाउने र तेल कहिल्यै नसुक्ने भएकाले तिहारमा तेलको तीन पटक फेरा हालेर आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकाङ्क्षालाई प्रतिबिम्बित गरिन्छ।

देउसी र भैलो

तिहारको देउसी-भैलोले सबैलाई बाल्यकाल सम्झाउँछ। तिहारलाई थप रङ्गिन बनाउन देउसी र भैलोले निकै महत्त्वपूर्ण भूमिका खेल्छन्।

लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ। भैलो महिलाले गाउँछन्, विशेष गरी साना नानी र किशोरीहरू भैली खेल्न जाने गर्छन्। त्यसको भोलिपल्ट देउसी खेल्ने चलन रहिआएको छ। गोवर्द्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्ने परम्परा छ। देउसी र भैलोको प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ।

पौराणिक कथनअनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू-भाग ढाकिएकाले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए। त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको कथन छ।

लक्ष्मीपूजा

तिहारको तेस्रो दिन लक्ष्मीपूजाका अवसरमा धनधान्यकी देवी लक्ष्मीको पूजा-आराधना गरिन्छ। लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ।

झिलिमिली संसार

तिहारलाई झिलिमिली पर्व पनि भनिन्छ। तिहारको अर्को विशेषता भनेको घर-आँगनमा दियो-बत्ती बाल्ने र झिलिमिली उज्यालो बनाउने हो। तिहारलाई विशेष गरी उज्यालोको पर्वका रूपमा समेत लिइन्छ। उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने र दियो बाल्ने गरिन्छ।

सेलरोटीको वासना

तिहारमा धेरै परिकार बनाइन्छन्। तिहारको विशेष परिकार हो— सेलरोटी। तिहारमा यस्ता घर सायदै होलान्, जहाँ सेलरोटी पाक्दैन। हरेकको भान्सामै पाक्ने स्वादिलो एवं मिष्ठान्न परिकार हो यो। चेलीले माइतीलाई खवाउने मीठो-मसिना परिकारमा सेलरोटी अनिवार्य मानिन्छ।

निधारमा लर्काएर सप्तरङ्गी टीका

तिहारमा दिदीबहिनीले दाजुभाइको यश, आरोग्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकामा भावना मिसिएको हुन्छ। सप्तरङ्गी टीका लगाउँदा दाजुभाइप्रतिको प्रेम रङ्ग जस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ। तिहारमा अष्टचिरञ्जीवी तथा लक्ष्मीपूजा गर्दा पनि अबिर-केसरी आवश्यक हुन्छ। त्यसैले सप्तरङ्गी रङ्गहरू देख्दा हामीलाई तिहारको सम्झना आउने गर्छ।

भाइटीकाको कथा

सूर्यदेवकी पत्नी संज्ञाका छोरा यमराज तथा छोरी यमुना थिए। दुवै दाजु-बहिनीबीच गाढा प्रेम थियो। यमुना हरेक वर्ष आफ्ना दाजु यमराजलाई भेट्न उनको घर जाने गर्थिन्। यमराजलाई पनि आफ्नो घरमा बोलाउँथिन्। तर, पछि केही कारणले उनी जान पाएका थिएनन्। एकपटक कात्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिका दिन यमराज आफ्नी बहिनी यमुनाको घरमा पुगे।

दाजुलाई देखेर यमुना निकै खुसी हुँदै टीका लगाएर स्वागत गरिन्। दाजुलाई स्वादिष्ट भोजन गराइन्। यमराजले पनि यमुनालाई थुप्रै उपहारहरू दिए र फर्किने बेला बहिनीलाई कुनै एउटा वरदान माग्न आग्रह गरे।

त्यसपछि यमुनाले पनि दाजुसँग उनलाई हरेक वर्ष त्यही तिथिमा आफ्नो घरमा आउन र स्वादिष्ट भोजन गर्न आग्रह मात्र गरिनन्, यसै गरी जो दाजुभाइ उक्त तिथिमा आफ्ना दिदीबहिनीको घरमा जान्छन्, टीका लगाउँछन् र भोजन गर्छन्, आफ्ना दिदीबहिनीहरूलाई उपहार दिन्छन्, तिनको सम्पूर्ण मनोकाङ्क्षा पूरा गरिदिनुहोला भनेर मागिन्।

यमराज आफ्नी बहिनीलाई अत्यन्त माया गर्थे, त्यसैले उनले बहिनीलाई उक्त वरदान दिए। त्यसपछि त्यही दिनदेखि हरेक वर्ष त्यही तिथिमा भाइटीका पर्व मनाउने चलन चलेको धार्मिक मान्यता छ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ५ : ३६ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू

आज २०८३ साल कात्तिक २३ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती