काठमाडौं- सुत्केरी आमा र नवजात शिशुको फोटो सार्वजनिक गरेपछि वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नुतन शर्माको कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ । डा. शर्मा कार्यरत बी एण्ड बी अस्पतालमा आईभीएफ प्रविधिमार्फत गर्भधारण गरेकी ५४ वर्षीया महिलाले स्वस्थ बच्चालाई जन्म दिन सफल भएको भन्दै उनले तस्बिर सार्वजनिक गरेकी थिइन् ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको कार्यलाई व्यक्तिगत प्रचारका लागि गरिएको अनुचित अभ्यास भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जालमा उठेका प्रतिक्रियाहरूमा अपरेशन थिएटरजस्तो संवेदनशील स्थानबाट खिचिएका फोटो सार्वजनिक गर्नु गोपनियता र मर्यादाविरुद्ध भएको रहेको गरिएको छ । कतिपयले सुत्केरी महिलाले शारीरिक तथा मानसिक पीडा भोगिरहेको अवस्थामा फोटो खिच्नु र सार्वजनिक गर्नु अनैतिक मात्र नभई आपराधिक प्रकृतिको कार्य हुनसक्ने टिप्पणी गरेका छन् ।
प्रयोगकर्ताहरूले समस्या समाधान गरिदिएको भन्दै बिरामी पक्षले अस्पताललाई ठूलो रकम तिरेको अवस्थामा, प्रचारका लागि फोटो प्रयोग गर्दा सम्बन्धित महिलालाई कुनै किसिमको सहमति, छुट (डिस्काउन्ट) वा विज्ञापनबापत पारिश्रमिक दिइयो कि दिइएन ? भन्ने प्रश्न समेत उठाएका छन् ।
डा. नुतन मात्रै होइन पछिल्लो समय अधिकांश चिकित्सकहरुले आफ्नो प्रचारप्रसारका लागि बिरामीहरुलाई बोल्न लगाउने, उनीहरुको फोटो खिचेर भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको पाइन्छ । यस्ता घटनाले चिकित्सक र अस्पतालहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा बिरामीको गोपनीयता, सहमति र नैतिक जिम्मेवारी कति पालना गरिएको छ भन्ने बहसलाई पुनः सतहमा ल्याएको छ ।
कानुनमा के छ ?
निजता सम्बन्धी ऐन, २०७५ ले व्यक्तिको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, फोटो तथा भिडियोलाई निजी विवरणको रूपमा परिभाषित गरेको छ । ऐनअनुसार सम्बन्धित व्यक्तिको स्पष्ट र सूचित सहमति बिना यस्ता विवरण सार्वजनिक गर्न पाइँदैन । उल्लंघन भएमा जरिवाना र कैदसम्मको सजायको व्यवस्था छ ।
कानुनविद्हरूका अनुसार सुत्केरी आमा र नवजात शिशु दुवैको फोटो अत्यन्त संवेदनशील निजी विवरणअन्तर्गत पर्छ । उपचार वा शल्यक्रिया भइरहेका बेला बिरामीको फोटो तथा भिडियो खिच्ने कार्यलाई चिकित्सकीय आचारसंहिता र कानुनी व्यवस्थाले कडाइका साथ नियन्त्रण गरेको छ । बिरामीको स्पष्ट सहमति बिना यस्ता दृश्य खिच्नु र विशेषगरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु गम्भीर आचारसंहिता उल्लङ्घन हुने मानिन्छ ।
बिरामी तथा आफन्तहरुको सहमतिमै पनि यस्तो कुराहरु सामाजिक सञ्जालमा राख्दा निजको गोपनियतासँगै उपचारमा पनि जोखिम हुनसक्ने महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का अधिवक्त नवीन कुमार श्रेष्ठ बताउँछन् ।
खबरहबसँग कुरा गर्दै अधिवक्ता श्रेष्ठले भने, ‘उपचार गर्दागर्दै केही त्रुटि भयो भने भोलि डाक्टर आफैँ पनि समस्यामा पर्नसक्छ । उपचारमा केही लापरवाही भएको कुरा त त्यहाँ देखिन्छ नि त ! हामीले सबै शरीर डाक्टरलाई सुम्पिएका हुन्छौँ भन्ने जान्दा जान्दै कसैले लापरवाही गर्दैन । तर, कारणवश अन्जानमा लापरवाही भएको कुरालाई पनि त्यहि कारणलाई इस्यु बनाएर डाक्टरलाई कारवाही हुनसक्छ ।’
आफ्नै आफन्त पनि जान नपाउने एकदमै संवेदनशील ठाउँ अपरेशन थिएटर भित्रको कुरा यसरी सार्वजनिक गर्ने कार्य एकदमै गलत रहेको अधिवक्ता श्रेष्ठले बताए ।
त्यस्तै, बाल अधिकार सम्बन्धी ऐन, २०७५ नवजात शिशु बालबालिकाअन्तर्गत पर्ने भएकाले उनीहरूको फोटो, नाम वा पहिचान खुल्ने विवरण सार्वजनिक गर्दा उनिहरुको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । अभिभावकको अनुमतबिना फोटो सार्वजनिक गर्नु बाल अधिकार उल्लंघन मानिन्छ ।
राष्ट्रिय बाल अधिकार परिषद नेपालका उपाध्यक्ष बमबहादुर बानियाँ भन्छन्, ‘कुनैपनि अथोरिटीबिना सामाजिक सञ्जालमा आफ्नै बुवा आमाले पनि आफ्नो छोराछोरीको फोटो हाल्न पाइँदैन ।’
सामाजिक सञ्जालमा हालीसकेपछि त्यसको दुरुपयोग हुने वा अरु नै अर्थ लाग्ने कुराहरु आएको पनि उनले बताए । सामाजिक सञ्जालमा राखिएका फोटो भिडियोहरु स्थायी रुपमा रहिरहने भएकाले भविष्यमा दुरुपयोग भइ ट्रोलिङ वा मानसिक असरको जोखिम हुनसक्ने जोखिम रहन्छ ।
यता, नेपाल मेडिकल काउन्सिलले पनि उपचारका क्रममा खिचिने फोटो वा भिडियो चिकित्सकीय अभिलेख, शिक्षण वा अनुसन्धान जस्ता सीमित प्रयोजनका लागि मात्र अनुमति योग्य हुने जनाएको छ । त्यसमा पनि बिरामीको पहिचान नखुल्ने गरी मात्रै फोटो खिच्नुपर्ने स्पष्ट मापदण्ड छ ।
आचारसंहिताअनुसार शल्यक्रियाका बेला फोटो–भिडियो खिच्दा उपचारमा बाधा पुग्ने, संक्रमणको जोखिम बढ्ने वा बिरामीलाई असहज बनाउने कुनै पनि गतिविधि निषेध गरिएको छ । बालबालिका, अचेत वा निर्णय गर्न नसक्ने अवस्थाका बिरामीको हकमा भने नियम झन् कडा रहेको जनाइएको छ । यस्ता अवस्थामा अभिभावकको स्पष्ट अनुमति र अत्यावश्यक चिकित्सकीय कारणबिना फोटो–भिडियो खिच्न नपाइने व्यवस्था छ ।
आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीमाथि पेशागत कारवाही, दर्ता निलम्बन वा कानुनी कारबाहीसमेत हुन सक्ने व्यवस्था रहेको छ ।
स्वास्थ्य क्षेत्रका नियामक निकायहरूले पछिल्लो समय उपचारका दृश्य टिकटक, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालमा राखिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । यस्तो कार्यले बिरामीको अधिकार हनन् हुनुका साथै चिकित्सा पेशाको विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने उनीहरूको भनाइ छ ।













प्रतिक्रिया