गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै छवि बनाएका का राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार थिए ।
नेकपा (एमाले)का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो । उक्त चुनावमा पाठकलाई पराजित गर्दै केसीले आफ्नो संसदीय विरासतलाई कायम राख्न सफल भएका थिए । अहिलेको चुनावमा भने दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्। केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । नेकपा (एमाले)बाट हिराबहादुर केसी चुनावी मैदानमा छन्।
विसं २०७९ को चुनावमा पाँचदलीय गठबन्धनमा सामेल भई राष्ट्रिय जनमोर्चाका केसीलाई जिताउन भूमिका खेलेको नेपाली कांग्रेस पनि अहिले एक्लै चुनावमा होमिएको छ । कांग्रेसबाट भीम श्रीस चुनावी मैदानमा छन्। अघिल्लो चुनावमा एउटै गठबन्धनमा रहेका नेपाली कम्युनिष्ट पार्टी र राजमोले अहिले पनि चुनावी सहकार्यलाई दोहोर्याएका छन् ।
बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी प्रतिस्पर्धामा होमिएका छन् । हिजो एउटै चुनावी मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् ।
गत चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा उत्रेको छ । रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का उम्मेदवार छन्। बागलुङ–१ मा यिनै चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सम्बन्धित दल र उम्मेदवारले आ–आफ्नै जितको दाबी गरे पनि विगतको चुनावी गणित हेर्दा जुनसुकै दललाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज देखिन्न ।
एक्लाएक्लै चुनावमा होमिएका कांग्रेस, एमाले र रास्वपाले आफ्नै बलबुतामा चुनाव जित्ने दाबी गरिरहेका छन्भने नेकपा र जनमोर्चा गठबन्धनको आडमा जित निकाल्ने दाउमा छन् । कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट अघिल्लो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी बनाएको राष्ट्रिय जनमोर्चालाई यसपटक नेपाली कम्युनिष्ट पार्टीको मात्र साथ छ । उक्त चुनावमा जनमोर्चाका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका थिए ।
एक्लै चुनाव लड्दा पनि जम्मा दुई हजार ६२६ को मतान्तरले एमाले उम्मेदवार पाठक पराजित भएका थिए । पाठकको १८ हजार ८२५ मत आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले नौ हजार १८१ मत ल्याएका थिए ।
समानुपातिकतर्फ भने कांग्रेसले सबैभन्दा धेरै १६ हजार ४९३ मत ल्याएको थियो । एमालेले १५ हजार ४२८, रास्वपाले सात हजार ८७७, जनमोर्चाले चार हजार ९८६, नेकपा (तत्कालीन नेकपा माओवादी केन्द्र)ले दुई हजार ८५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २९ र अन्य साना दलले एक हजार १३३ मत ल्याएका थिए ।
विसं २०७९ को चुनावका समानुपातिक मत परिणाम हेर्दा कांग्रेस र एमालेको मतान्तर झन्डै एक हजार देखिन्छ । यी दुवै दलको भन्दा झन्डै आधा मत रास्वपाले पाएको थियो । जनमोर्चा र नेकपाको मत त्योभन्दा पनि कम छ।
विगतका चुनावको समानुपातिक मत सङ्ख्यालाई हेरेर ढुक्क हुने अवस्थामा दलहरू छैनन् । पछिल्लो समय मतदातामा मत बदल्ने प्रवृत्ति बढेका कारण हिजो निश्चित राजनीतिक दलका प्रभाव क्षेत्र भनिएका ठाउँमा मत परिणाम भिन्न आउन सक्ने आकलन स्वयं दलहरूले नै गरेका छन् ।
यस क्षेत्रको उम्मेदवारमा अहिले अधिकांश नयाँ अनुहार छन् । कांग्रेस उम्मेदवार भीम श्रीस विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । विसं २०६२ मा त्रिभुवन विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका उनी कांग्रेसको केन्द्रीय सदस्य हुन्।
उनी जैमिनी नगरपालिका–१० राङखानीका बासिन्दा हुन्। एमालेका हिराबहादुर केसी यस क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा छन्। उनी विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग पराजित भएका थिए।
विसं २०७९ को प्रदेशसभा सदस्य चुनावमा बागलुङ–१ (क) मा कांग्रेसका दीपेन्द्रबहादुर थापासँग पराजित भएका थिए। काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी एमाले, बागलुङको अध्यक्ष हुन्। ससंदीय यात्रा तय गर्ने उनको तेस्रोपटकको प्रयास कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी पनि पहिलोपटक संसदीय चुनाव सामना गर्दै छन्। विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय रहँदै आएका उनी बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तथा युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन्। बागलुङ नगरपालिका–३ गुठी निवासी उनी बागलुङको राजनीतिमा नयाँ अनुहार हुन्।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याणविक्रम आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन्।
जितहारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव नजिकिँदै जाँदा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङ–१ को प्रतिस्पर्धामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ ।
विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली कांग्रेसले जिल्ला सबै क्षेत्रमा जित हासिल गरेको थियो । विसं २०७४ को चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र विसं २०७९ को चुनावमा कांग्रेससहितको गठबन्धनले विजयी बनेको थियो ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन् । ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४८ मतदास्थल रहेका छन् ।













प्रतिक्रिया