दोलखा- हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र दोलखाको राजनीति थलो र नेता उत्पादित क्षेत्रकाे रूपमा लिन्छ ।यहाँबाट प्रतिनिधित्व गर्ने जिल्लाका ठुला राजनीति दलका नेता यहाँका दुर्गम गाउँबाट प्रतिनिधित्व गर्दै राज्यको माथिल्लो तहमा पुगेर सांसद तथा मन्त्री भैसकेका छन् ।
तर यहाँका आम मतदाता नागरिक तथा सर्वसाधारणले अहिलेसम्म न गतिलो स्वास्थ्य उपचार हुने अस्पतालको उपभोग गर्न पाका छन् । नत गतिलो सडकको पहुँच । उनीहरु वर्षौँदेखि प्राथमिक अस्पतालको भरमा बचिरहेका छन् ।
जिल्लाका ९ वटा पालिका मध्य दुर्गम र विकट मानिने उत्तरका ३ वटा गाउँपालिकाका स्थानीय सिंगटी प्राथमिक अस्पतालको भरमा बचिरहेको बताउँछन् ।
यी गाउँपालिकाका नागरिकहरु जिल्ला सदरमुकामदेखि दुरीसँगै भौगोलिक हिसाबले विकट र दुर्गम गाउँमा बसोबास गर्छन् ।
पछिल्ला वर्षहरू यस क्षेत्रमा दर्जनौँ जलविद्युत आयोजनाको विकासले गाउँ-गाउँमा सामान्य सडक र विद्युतको पहुँच पुगे पनि अझै गतिलो स्वास्थ्य उपचार गर्ने अस्पताल भने पुग्न नसकेको उत्तरी नागरिकहरूको दुखेसो रहेको छ ।

३ पालिकाको व्यापारी संगम केन्द्रको रूपमा रहेको सिंगटी बजारमा कालिञ्चाेक गाउँपालिकामार्फत सञ्चालन हुँदै आएको सिंगटी प्राथमिक अस्पतालबाटै यहाँका सयौँ नागरिकले नियमित स्वास्थ्य उपचार गर्दै आएका छन् ।
जिल्लाको गौरीशंकर, विगु र कालिञ्चाेक गाउँपालिकाका दर्जनौँ दुर्गम गाउँबाट घण्टौँ लगाएर गौरीशंकरको टासिंनाम, रिन्कु, सिमिगाउँ, सुरि, खारे, चंखु, मार्वु तथा विगुको आलम्पु, लादुक, बुलुङ, खोपाचाँगु लगायतका दुर्गम गाउँबाट धेरै बिरामी सिंगटी अस्पताल आउने गरेका छन् ।
गाउँमा छैनन् गतिलो उपचार हुने अस्पताल र डाक्टर गौरीशंकर ५, सुरी लहरेमानेकी सर्किनी शेर्पा उपचारको आशामा सिंगटी आइपुगेकी छन् ।
टाउकोमा लागेको चोट जाँच गराउन उनी गाउँबाट बोलेरो चढेर कालिञ्चोक गाउँपालिका–३ स्थित सिंगटी प्राथमिक अस्पताल आएकी हुन् ।
एकतर्फी तीन सय रुपैयाँ भाडा तिरेर अस्पताल आइपुग्दा उनलाई पैसाभन्दा पनि डाक्टरबाटै जाँच गराउने भरोसा ठूलो लाग्यो । सर्किनीको घरबाट हिँडेरै आधा घण्टामा सुरी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न सकिन्छ ।
तर, त्यहाँ नियमित डाक्टर नबस्ने भएपछि उनी सिंगटी आउन बाध्य भइन् । अस्पतालबाट फर्किँदा फेरि उस्तै भाडा तिर्नुपर्छ । ‘पैसा त खर्च हुन्छ । र, डाक्टरले जाँच गर्दा ढुक्क हुन्छ,’ उनी भन्छिन् । पहिला–पहिला सुरी स्वास्थ्य केन्द्रमै डाक्टर भेटिने भएकाले उतै जाँच गराउने गर्थिन् । तर, केही समयअघि स्वास्थ्य केन्द्रमा भएको तोडफोडपछि डाक्टर बस्न छाडेका छन् ।

अन्यत्र निजी अस्पतालमा जाँच गराउँदा खर्च धेरै लाग्ने भएकाले उनीजस्ता बिरामी सरकारी अस्पताल नै खोज्दै सिंगटी आइपुग्छन् । सर्किनी मात्रै होइनन्, कालिञ्चोक गाउँपालिका–१ क्याम्पोलका बिर्खबहादुर थामी पनि महिनामा दुई पटक सिंगटी प्राथमिक अस्पताल धाउँछन् । काम गर्ने क्रममा लडेर खुट्टामा स्टिल हालिएको सात महिना भइसकेको छ ।
उनी पनि चर्को गाडी भाडा तिरेरै उपचारका लागि यहाँ आउँछन् । ‘यहाँ एक्स—रे, ल्याब जाँच सबै निःशुल्क छ,’ थामी भन्छन्, ‘राज्यले तोकेको ९८ प्रकारका औषधी निःशुल्क पाइन्छ । नपुगेका औषधी पनि पैसा तिरेपछि फार्मेसीमा छुटसहित पाइन्छ ।’
दोलखा र काठमाडौंका धेरै अस्पताल चहारेका थामीलाई अन्ततः सिंगटी प्राथमिक अस्पतालकै सेवा विश्वासिलो लागेको छ ।
सन् २०१० मा स्थापना भएको सिंगटी प्राथमिक अस्पताल अहिले उत्तरी दोलखाको स्वास्थ्य सेवाको मुख्य भरोसा बन्दै गएको छ । गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाका अधिकांश बिरामी यही अस्पतालमा आउने गरेका छन् ।
सामान्य अस्पतालमा दैनिक ४० बढी बिरामी
अस्पतालका प्रशासन तथा व्यवस्थापक प्रमुख ईश्वर खड्काका अनुसार यहाँ दैनिक ४० जनाभन्दा बढी सेवाग्राही आउँछन् । महिनामा एक हजार पाँच सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।
दरबन्दीअनुसार तीन जना डाक्टर कार्यरत छन् । १५ शय्याको अस्पताल भएकाले आवश्यक पर्दा बिरामी भर्ना गरेर समेत सेवा दिइँदै आएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, थाइराइड जाँचको सुविधा छ । तीन महिनाको सुगर जाँच भने न्यूनतम शुल्कमा गरिँदै आएको छ ।
पेइङ फार्मेसीमा १० प्रतिशत छुटसहित औषधि उपलब्ध छ । नियमित डाक्टर, निःशुल्क जाँच र गुणस्तरीय सेवाका कारण बिरामीको चाप दिनानुदिन बढ्दै गएको खड्काले बताए । तर, सेवा प्रभावकारी भए पनि अस्पतालले ठूलो समस्या झेलिरहेको छ ।
जग्गा अभावमा फ्रिज गयो ४२ करोड बजेट
अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा पर्याप्त भौतिक संरचना निर्माण हुन सकेको छैन । हाल अस्पताल रहेको जग्गा सामुदायिक वनको नाममा छ । अस्पतालका लागि आवश्यक न्यूनतम ९ रोपनी जग्गा प्राप्त नहुँदा दुई पटक ठूला बजेट फ्रिज भइसकेका छन् ।
‘पहिलो पटक २१ करोड रुपैयाँ र गत आर्थिक वर्ष पनि २१ करोड रुपैयाँ बजेट फ्रिज जादा समेत यहाँका राजनीति दल र स्थानीय नेताले अस्पताल निर्माणको लागि आएको बजेट कार्यान्वयनमा ल्याउन नसकेको सर्वसाधारण नागरिक मतदाताको दुखेसो रहेको छ।

अस्पतालले आफ्नै नाममा जग्गा प्राप्त गर्न सबै तहमा पहल गरिरहेको छ ।नेता देखि राजनीति दल,स्थानीय सरोकारवाला देखि बनसँग जग्गा प्राप्तिका लागि निरन्तर अस्पताल प्रशासनले पहल गरिरहेको छ।
निःशुल्क सेवा र विश्वासिलो उपचारको खोजीमा गाउँ–गाउँबाट बिरामी यही अस्पताल धाइरहेका छन् । अब अस्पतालको नाममा जग्गा सुनिश्चित भई पूर्वाधार विस्तार हुन सके यो अस्पताल उत्तरी दोलखाकै नमुना स्वास्थ्य केन्द्र बन्नेमा दुई मत छैन ।
अस्पतालले नै केही समय भित्रै उत्तरी क्षेत्रमा हुने दुर्घटना तथा घटना र आत्महत्याका शव पोस्टमार्टम सुविधा पनि सुरु गर्न लागेको छ । हाल यहाँ मृत हुने नागरिकको शव पोस्टमार्टम गर्न चरिकोट पुर्याउनु पर्ने बाध्यता रहेको छ ।
तर गाउँपालिका तथा अस्पतालले पहल र कानुनी प्रक्रिया पुरा गरेर सिंगटी प्राथमिक अस्पतालमै शव पोस्टमार्टम गर्नको लागि मान्यता प्राप्त गरिसकेकाले केहिदिन भित्र पोस्टमार्टम जनशक्ति व्यवस्थापन गरेर सेवा सुरु गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ । सुवाश बस्नेत/दोलखा












प्रतिक्रिया