जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे….. « Khabarhub

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

लोकतान्त्रिक संस्कारको सर्वत्र प्रशंसा



नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, कटु टिप्पणी र दलगत टकराबले भरिएको देखिन्छ । कतिपय अवस्थामा त चुनावअघि एउटै क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारबीच ‘बोलचाल बन्द’ जस्तै अवस्था पनि सिर्जना हुने गरेको छ । 

तर यसपटकको प्रतिनिधिसभा निर्वाचनपछि भने केही फरक दृश्य देखिएको छ । प्रतिस्पर्धामा उत्रिएका पराजित उम्मेदवारहरूले परिणामपछि एक अर्कालाई बधाई दिँदै लोकतान्त्रिक संस्कार र आपसी सम्मानको उदाहरण प्रस्तुत गरेका छन् । 

विश्लेषकहरूका अनुसार २०६२–६३ को राजनीतिक परिवर्तनपछि विकसित भएको चुनावी तालमेल र मिलिजुली सरकार गठन गर्ने संस्कृतिले पनि दलहरूलाई एक अर्काप्रति केही हदसम्म नजिक्याएको छ, जसले परिणामपछि हार्दिकता प्रकट गर्ने वातावरण बनाएको देखिन्छ ।

झापा ५ बाट पराजित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्ना प्रतिस्पधी बालेन्द्र शाहलाई ५ वर्षे कार्यकाल सफल होस् भनी शुभकामना दिएका छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीका अधिकांश पराजित उम्मेदवारले शुभकामना व्यक्त गरेका छन् भने जितेका उम्मेदवारहरु पनि पराजितसँग आशिर्वाद लिन पुगेको दृश्य सामाजिक सञ्जालमा यत्रतत्र देख्न पाइन्छ । 

चितवन–३ मा निर्वाचन परिणाम सार्वजनिक भएपछि नेपाली कम्युनिष्ट पार्टीकी पराजित उम्मेदवार रेणु दाहालले राष्ट्रिय स्वोतन्त्र पार्टी कि विजयी उम्मेदवार सोबिता गौतमलाई बधाई दिँदै लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गरिन् । 

उनले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै जनताको निर्णयलाई सम्मान गर्ने सन्देश दिएकी थिइन् । दाहालले आफ्नो सन्देशमा लेखिन- ‘मत परिणामका हिसाबले म पराजित भए पनि मेरो काम र योगदानले चितवनका जनताको मन जितेको विश्वास गर्छु ।  चितवन–३ बाट विजयी हुनुभएकी सोबिता गौतमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्छु ।’

उनले करिब ३० वर्षको राजनीतिक यात्राको अनुभव र भरतपुर महानगरपालिकाको मेयरका रूपमा ९ वर्ष गरेको काम जनताको सेवा र क्षेत्रको विकासका लागि समर्पित रहेको पनि उल्लेख गरिन् । साथै चुनाव अभियानमा साथ दिने मतदाता, कार्यकर्ता र समर्थकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि चितवनको विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाइन् ।

यस्तै चितवन–२ मा पनि चुनावपछि आपसी सम्मान देखियो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रबि लामिछाने विजयी भएपछि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले परिणाम सार्वजनिक भएपछि बधाई दिएकी थिइन् । खरेलले जनताको निर्णय सम्मान गर्नुपर्ने बताउँदै विजेतालाई सफल कार्यकालको शुभकामना दिँदै फूलमालाले सम्मान गरिन् । 

उनले भनिन्, ‘जनताले दिएको निर्णयलाई हामीले सम्मान गर्नुपर्छ। चितवन–२ बाट विजयी हुनुभएका रवि लामिछानेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्छु। आशा छ उहाँले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्नुहुनेछ ।’ त्यसपछि लामिछानेले पनि प्रतिस्पर्धी उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै धन्यवाद दिएका थिए । 

उनले भने, ‘चुनाव लोकतन्त्रको सुन्दर अभ्यास हो। प्रतिस्पर्धामा रहनुभएका सबै उम्मेदवारलाई धन्यवाद दिन चाहन्छु । अब हामी सबैको साझा लक्ष्य जनताको सेवा र क्षेत्रको विकास हुनुपर्छ ।’

धनुषा–३  मा पनि यस्तै लोकतान्त्रिक संस्कार झल्किने प्रतिक्रिया देखियो। चुनावमा पराजित नेपाली कांग्रेसका बिमलेन्द्र निधिले रास्वपाका विजयी उम्मेदवार मनिष झालाई माला लगाएर जनताको निर्णयलाई सम्मान गर्ने बताएका थिए ।

निधिले भनेका थिए, ‘जनताले दिएको निर्णय लोकतन्त्रको आधार हो, त्यसलाई हामीले सम्मान गर्नुपर्छ। धनुषा–३  बाट विजयी हुनुभएका मनीष झालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले चुनावी अभियानमा साथ दिने मतदाता, पार्टीका कार्यकर्ता र समर्थकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि जनताको पक्षमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ओखलढुङ्गामा पनि यस्तै दृश्य देखियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएपछि नेकपा एमालेका पराजित उम्मेदवार अस्मिता थापाले रास्वपाका विजयी विश्वराज पोखरेललाई फूलमालासाथ राजनीतिक संस्कार देखाएकी थिइन् । 

उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै भनिन्, ‘ओखलढुङ्गाका मतदाताले दिनुभएको निर्णयलाई म पूर्ण रूपमा सम्मान गर्छु। विजयी हुनुभएका विश्वराज पोखरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्छु ।’

त्यसैगरी गुल्मी–१ मा पनि चुनावी प्रतिस्पर्धा सकिएपछि आपसी सम्मानको दृश्य देखियो। यस क्षेत्रमा पराजित  भएका नेपाली कांग्रेसका  चन्द्रकान्त भण्डारीले आफ्ना प्रतिस्पर्धी रास्वपाका सगर ढकाललाई खादा ओढाएर सम्मान व्यक्त गरेका थिए । परिणामपछि भण्डारीले सबै उम्मेदवारलाई धन्यवाद दिँदै अब चुनाव सकिएको र सबै मिलेर क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । 

उनले भने, ‘चुनाव सकिएको छ, अब सबै मिलेर गुल्मीको विकासका लागि काम गर्ने समय आएको छ। मतदाताले देखाएको विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।’

यसरी विभिन्न निर्वाचन क्षेत्रमा विजेता र पराजित उम्मेदवारबीच देखिएको बधाई, सम्मान र हार्दिकता साटासाटले चुनावी प्रतिस्पर्धापछि पनि लोकतान्त्रिक संस्कार कायम रहन सक्ने संकेत दिएको छ । यस्तो व्यवहारले राजनीतिक संस्कृतिलाई परिपक्व बनाउने मात्र होइन, जनतामा पनि सकारात्मक सन्देश दिने काम गर्दछ—कि चुनाव जित्ने वा हार्नेभन्दा पनि लोकतन्त्रको मूल मर्म जनताको निर्णयलाई सम्मान गर्नु हो ।

२०७४ मा बाम गठबन्धनविरुद्ध झापा १ कांग्रेसको टिकटमा चुनाव लडेका विश्वप्रकाश शर्मा माओवादी नेता सुरेन्द्र कार्कीसँग पराजित भएका थिए । 

पराजित भएको समाचार सार्वजनिक हुँदा नहुँदै विजेता कार्कीको निवासमा पुगेर शर्माले आफूले गाँसेको माला पहिर्‍याएका थिए । प्रतिस्पर्धीलाई शर्माले देखाएको हार्दिकताको त्यो बेला सर्वत्र प्रशंसा भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ५५ बजे

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

घनपोखरा– लमजुङको मर्स्याङदी  गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह