काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता विजय कुमार राउतले पार्टीको पछिल्लो निर्णय र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । प्रवक्ता राउतले पार्टीको साधारण सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राउतले पार्टी आफ्ना मौलिक एजेन्डाहरू-संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, र सुशासनबाट विमुख हुँदै गएको आरोप लगाएका छन् ।
राउतले विशेषगरी उपसभामुख पदमा उम्मेदवारी दिने पार्टीको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् ।
राउतले विज्ञप्तिमा पार्टीको पछिल्लो निर्णयले वैचारिक धरातल कमजोर बनाएको, उपसभामुखको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा स्थिरता ल्याउनुको साटो थप अन्योल सिर्जना गर्ने दाबी र पार्टीको कार्यदिशा आधारभूत एजेन्डाहरूको विपरीत उन्मुख भएको अनुभूति भएको बताएका छन् ।
आफ्नो राजीनामा घोषणा गर्दै राउतले पार्टीप्रतिको समर्पण रहँदा–रहनु नै राष्ट्र हितलाई प्राथमिकता दिनु आफ्नो सिद्धान्त रहेको स्पष्ट पारेका छन् ।
‘पार्टीको निर्णयलाई स्वीकार गर्न असमर्थ भएपछि मैले कोशी प्रदेश प्रवक्तासहित साधारण सदस्यताबाट समेत राजीनामा दिएको छु,’ उनले भनेका छन्, ‘आगामी दिनहरूमा मेरो सम्पूर्ण ध्यान सुशासन, समृद्धि र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै देश र जनताको सेवामा केन्द्रित रहनेछ ।’
राप्रपाभित्र पछिल्लो समय उम्मेदवारी चयन र सत्ता समीकरणलाई लिएर आन्तरिक बहस भइरहेका बेला कोशी प्रदेशका जिम्मेवार पदाधिकारीको यो राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।













प्रतिक्रिया