काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरेर दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त सञ्जीव नेपालीमा ‘साइकोसिस’ नामक मानसिक समस्या देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा सोधपुछका क्रममा सञ्जीवको हाउभाउ र व्यवहार हेर्दा उनी मानसिक रुपमा अस्थीर रहेको भएको देखिन्छ । हिरासतमै उनले अस्वभाविक व्यवहार देखाइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार सञ्जीवले पहिले पनि अन्य व्यक्तिहरुमाथि खुँडा प्रहार गरेको स्थानीयले जानकारी दिएका छन् । एसएसपी बोगटीले भने, ‘उ पहिलेदेखि रिसाहा स्वभावको थियो । स–साना विवादमै खुँडा लिएर जाइलाग्ने । हिजो पनि खुँडा हानेर भागिसकेको थियो । तर, प्रहरी तीन मिनेटमै घटनास्थल पुग्यो । एक महिला प्रहरी कर्मचारीले उनलाई लखेटेर समात्न सफल भइन् ।’
प्रहरी परिसर ललितपुरले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । हत्यामा संलग्न रहेको आरोप लागेका ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जिव र नवलपरासी गैँडाकोटका गगन सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
‘रङ नम्बर’मा डायलपछि विवाद
झापाको कमल गाउँपालिका–६ स्थायी घर भएका दाजुभाइ ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङ ललितपुरको इमाडोल बस्दै आएका थिए । उनीहरुमध्ये दाइ सुमितले एक जना मान्छेलाई फोन गरेका थिए । तर भूलवश उक्त कल सञ्जीव नेपालीलाई गयो ।
प्रहरीका अनुसार ‘को हो ? फलानो हो ?’ भनेर बोल्दाबोल्दै फोनबाटै गालीगलौज सुरु भएको देखिन्छ । मोबाइलमै भनाभन सुरू भएपछि सञ्जीवले ‘ल भेट तँलाई देखाँउछु’ भन्यो ।
त्यतिबेला नेम्वाङ दाजुभाइ पाटनकै मंगलबजारमा घुमिरहेका थिए । उनीहरुले आफूहरु नजिकै रहेको बताए । उनीहरुले फोन संवादमा भएको विवाद प्रत्यक्ष भेटघाटमा समाधान हुने आशा राखेका थिए ।
तर, मासु व्यवसायी सञ्जीवले पसलबाटै लामो धारिलो ‘दाउ’ बोकेर गए । त्यो ‘दाउ’ मा धार उद्याएर योजनाबद्ध ढंगले सञ्जिव नेम्वाङ दाजुभाइ भेट्न पुगेका थिए ।
सञ्जीव घटनास्थल पुग्नेबित्तिकै नेम्वाङ दाजुभाइसँग फेरि विवाद सुरु भयो । नेपालीले सुमितलाई सुरुमै दाउले घाँटीमा प्रहार गरे ।
दाइलाई बचाउन गएका भाइ सिर्जनलाई पनि सञ्जीवले पेट, घाँटी र छातीमा प्रहार गरे । स्थानीयले खबर गरेपछि तीन मिनेटमै प्रहरी टोली घटनास्थल पुग्यो ।
दाउ प्रहार गरेर भाग्न लागेका सञ्जीव र उसलाई सहयोग गर्ने गगनलाई प्रहरीले भाग्दा भाग्दै पक्राउ गर्न सफल भयो । सञ्जीव हतियार बोकेर नजिकैको एउटा रेष्टुरेण्टमा लुक्ने तयारी गरिरहेका बेला प्रहरीले समातेको थियो ।
घटनास्थलमा तत्काल विभिन्न स्थानबाट खटिएका प्रहरी टोलीले संलग्न व्यक्तिलाई चारैतिरबाट घेरा हाली खोजतलास गर्ने क्रममा घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको हो । सञ्जीवले प्रहरीलाई पनि दाउ हान्ने प्रयास गरेका थिए ।
प्रहरीका अनुसार नेम्वाङ दाजुभाइ बेलायत जाने तयारीमा थिए । उनीहरुकी आमा सन्तानलाई स्वागत गर्ने पर्खाइमा थिइन् । बेलायत जाने टिकट लिइसकेका दाजुभाइ सन्की कसाईको हातबाट संसारबाटै बिदा भए ।
दाउले उनीहरुको प्राण गयो । घटनामा कुनै ठुलो रिसइबी थिएन । घाइते दुवैलाई उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको थियो ।
तर, दुवै जनाको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले सामान्य फोन विवादले ज्यानसम्म जाने अवस्था सिर्जना भएको भन्दै यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ। सामान्य विषयमा अपरिचित युवाहरूले आफ्नो क्षणिक आवेगलाई नियन्त्रणमा लिन नसक्दा र छुरा प्रहार गर्ने व्यक्ति सञ्जीव नेपालीले नियोजित तरिकाले छुरा साथमा बोकेर आई आक्रमण गर्दा उक्त घटना भएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट धारिलो हतियार छुरा, फलामे नक, स्कुटर बरामद भएको थियो । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भइरहेको बोगटीले बताए ।













प्रतिक्रिया