निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई आफ्नो आधुनिकीकरण यात्राको मूल आधार बनाउँदै त्यसको अनुभव विश्वसँग साझा गरेको छ ।
‘नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी सी चीनफिङ विचार र विश्वसँग यसको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारअन्तर्गत ‘आधुनिकीकरणतर्फको यात्रा : चीनको गरिबी न्यूनीकरणको सिद्धान्त र अभ्यासबाट प्राप्त हुने पाठ’ विषयमा बिहीबार चीनको निङ्सियामा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले अनुभव बाँडेका हुन् ।
उनीहरूले चीनको गरिबी न्यूनीकरण अभियान, ग्रामीण पुनर्जागरण र साझा समृद्धिको अनुभव विश्वसँग बाँड्दै साझेदारी गर्न तयार रहेको बताएका छन् । अहिले जारी उक्त सेमिनारमा विभिन्न देशका पत्रकार, राजनीतिक दलका प्रतिनिधि, सांसद, पूर्वमन्त्री तथा विज्ञहरू सहभागी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री लिउ खाइसिङले उच्च गुणस्तरीय विकास, रोजगारी सिर्जना, औद्योगिक तथा आपूर्ति शृङ्खलाको सुदृढीकरण र क्षेत्रीय समन्वित विकासलाई चीनले निरन्तर प्राथमिकतामा राखेको बताए।
गरिबी निवारण र विकासका क्रममा देखिएका चुनौतीहरू विकासकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नीति चीनले अवलम्बन गर्दै आएको उनले बताएका छन् ।
उनले सीपीसी महासचिव एवम् राष्ट्रपति सी चीनफिङकाे भनाइ उद्धृत गर्दै भने, ‘विकास नै मूलभूत सिद्धान्त हो । विकासकै माध्यमबाट अगाडि बढ्ने क्रममा देखिएका समस्याहरू समाधान गर्नुपर्छ।’
चीनले लक्षित गरिबी न्यूनीकरण अभियानमार्फत चरम गरिबी अन्त्य गर्दै साझा समृद्धितर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले बताएका छन्।
गरिब परिवारको सही पहिचान, लक्षित सहायता, ग्रामीण विकास तथा कृषि, गाउँ र किसानसँग सम्बन्धित ‘तीन कृषि’ (सान नोङ) कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइएको उनले बताए।
उनले राष्ट्रपति सीको नेतृत्वमा चीनले सन्तुलित क्षेत्रीय विकास, समावेशी आर्थिक वृद्धि, सार्वजनिक सेवाको विस्तार र ग्रामीण पुनर्जागरणलाई विशेष जोड दिएको उल्लेख गरे।
उनले चचियाङमा सञ्चालन गरिएको ‘हजार गाउँ प्रदर्शन, दश हजार गाउँ सुधार’ कार्यक्रमलाई ग्रामीण विकासको सफल नमुनाका रूपमा प्रस्तुत गरे ।
सम्बोधनमा उनले प्रत्येक देशले आफ्नै राष्ट्रिय अवस्था, विकासको चरण र आवश्यकताअनुसार विकासको मार्ग छनोट गर्ने अधिकार रहेको उल्लेख गर्दै कुनै एक विकास मोडल सबै देशका लागि उपयुक्त नहुने बताए ।
उनले अनुभव आदानप्रदान, पूर्वाधार विकास, व्यापार, लगानी, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टी निङ्सिया प्रान्तका सचिव ली यीफेईले चीनको गरिबी न्यूनीकरण अभियान र ग्रामीण पुनर्जागरणको अनुभव विकासोन्मुख देशहरूका लागि उपयोगी हुन सक्ने बताए।
उनले सहभागीहरूलाई स्वागत गर्दै एक समय अत्यन्त गरिब र विकासका दृष्टिले पछाडि परेको निङ्सिया र त्यससँग जोडिएका ग्रामीण क्षेत्रहरू आज चीनको ग्रामीण पुनर्जागरणको सफल उदाहरण बनेको बताए ।
सन् १९९६ देखि चीनको केन्द्रीय नेतृत्व, विभिन्न प्रान्तबीचको सहकार्य तथा लक्षित गरिबी न्यूनीकरण कार्यक्रममार्फत सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षित आवास तथा औद्योगिक पूर्वाधारमा व्यापक लगानी गरिएको उनले बताएका छन् ।
स्थानीय उद्योग, कृषि र निजी क्षेत्रको विकासलाई पनि समान प्राथमिकता दिइएको उनले बताए ।
लीले राष्ट्रपति सी चीनफिङकाे नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी विचारको मार्गदर्शनमा जनकेन्द्रित विकास अवधारणालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै आधुनिकीकरणको यात्रामा कुनै पनि क्षेत्र र कुनै पनि नागरिकलाई पछाडि नछोड्ने नीति चीनको विकासको आधार बनेको बताए ।
गरिबी न्यूनीकरण केवल आय वृद्धि गर्ने अभियान होइन, नागरिकको जीवनस्तर, सुरक्षित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र समान अवसर सुनिश्चित गर्ने समग्र विकासको प्रक्रिया होु, उनले भने, ‘ग्रामीण पुनर्जागरणसँग गरिबी न्यूनीकरणलाई जोड्दै स्थानीय स्रोत, संस्कृति र उद्योगको संरक्षण तथा प्रवर्द्धनमार्फत दिगो विकासको आधार निर्माण गरिएको छ।’
दुवै नेताले चीनले विकासका आफ्ना अनुभव विश्वसँग साझा गर्न, साझा समृद्धिलाई प्रवर्द्धन गर्न तथा समतामूलक, समावेशी र सन्तुलित विश्व विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रतिबद्ध रहेको बताएका छन् ।












प्रतिक्रिया