धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी अनुसन्धान सुरु गरिएको छ । स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा कोदोका जातीय परीक्षण सञ्चालन गरिएको हो ।
अनुसन्धानअन्तर्गत पाँच वटा उन्नत जात ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र सैलुङको परीक्षण गरिँदैछ । यस्तै केएलइ–१५८, केएलइ–१५९ र केएलइ–२३६ तथा धनकुटाका स्थानीय लुली र मुड्की गरी १० जातको परीक्षण सुरु गरिएको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का डा कमल अर्यालले जानकारी दिए ।
यी जातलाई वैज्ञानिक विधिअनुसार यादृच्छिक पूर्ण ब्लक डिजाइन ९आरसीविडी० अर्थात् फरक लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपण गरिएको छ । विभिन्न जातको उत्पादन क्षमता, अनुकूलता, किसानका लागि उपयोगितालगायत पक्षको तुलनात्मक अध्ययन गर्ने उद्देश्यले परीक्षण सञ्चालन गरिएको जनाइएको छ ।
जातीय परीक्षणमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० आयोजना तथा स्थानीय समुदायसँगै धनकुटा नगरपालिका, कृषि ज्ञान केन्द्र धनकुटा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबासबीच सहकार्य भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक एवं कोदो विज्ञ डा कृष्णहरि घिमिरेले अनुसन्धानमा प्राविधिक परामर्श प्रदान गर्नुभएको छ । उहाँको प्राविधिक सहयोगमा कोदोका विभिन्न जातको परीक्षण तथा अनुसन्धान अघि बढाइएको हो ।
इसिमोडका डा कमल अर्यालले स्थानीयस्तरमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्दै किसानलाई प्रत्यक्ष रूपमा सहभागी गराएर उपयुक्त जात र प्रविधिको छनोट गर्न सकिने बताए । किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले कोदो उत्पादन वृद्धि गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।
जातीय परीक्षणबाट स्थानीय कृषकले नयाँ तथा सिफारिस गरिएका कोदोका जातलाई एउटै स्थानमा प्रत्यक्ष अवलोकन, तुलना र मूल्याङ्कन गर्ने अवसर पाउनेछन् । कुन जात स्थानीय हावापानी र माटोमा बढी उपयुक्त हुन्छ, उत्पादन क्षमता कस्तो छ तथा किसानका लागि कुन जात बढी लाभदायक हुन सक्छ भन्ने विषयमा अनुसन्धानबाट निष्कर्ष निकालिने इसिमोडले जनाएको छ ।
धनकुटा नगरपालिकाले अनुसन्धानबाट छनोट हुने उपयुक्त कोदोका जातको प्रवर्द्धन तथा बजारीकरणमा समेत सहयोग गर्ने जनाएको छ । नगरपालिकाले कोदो तथा अन्य रैथाने ९स्थानीय० बालीको प्रशोधनका लागि सहयोग गर्नुका साथै उत्पादित वस्तुको बजारसँग सहजीकरण गर्ने योजना रहेको आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया