हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा « Khabarhub

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) हदबन्दीका कारण सङ्कटमा पर्दै गएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसायीलाई मर्का परेको बताए ।

“हदबन्दीको नियमले कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाका कारण २०७६ अगाडि जग्गा किनेर अपार्टमेन्ट बनाएका सयौँ कम्पनीले घर बनाएर बिक्रीवितरण गर्न पाएका छैनन् । यसले व्यवसायीलाई समस्या सिर्जना गरेको छ,” उनले भने ।

घरजग्गा व्यवसायीका अनुसार उनीहरूको काम जग्गा किनेर त्यसलाई विकास गरी घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्नु हो । जग्गा उनीहरूका लागि ‘स्टक’ जस्तै भएको र यसमा हदबन्दी लगाउँदा व्यापारिक चक्र नै रोकिएको अध्यक्ष कुँवरले बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपककुमार मलहोत्राले घरजग्गा व्यवसाय रोकिँदा यससँग जोडिएका अन्य सयौँ उद्योग पनि प्रभावित भएको बताए ।

“घर निर्माणका लागि चाहिने डण्डी, सिमेन्ट, बालुवा, काठ, रङ उद्योगको खपत घटेको छ भने अदक्ष कामदारदेखि इन्जिनियरसम्मको रोजगारीमा प्रत्यक्ष असर परेको छ,” उनले भने ।

वरिष्ठ उपाध्यक्ष मलहोत्राले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका व्यवसायीले जग्गा बिक्री गर्न नपाउँदा बैङ्कको ब्याज मात्र तिरिरहनुपर्ने बाध्यता सिर्जना भएको बताए ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सहरीकरणलाई व्यवस्थित बनाउन र ठूला सहरको विकासका लागि ३० रोपनीको हदबन्दी व्यावहारिक नभएको बताए । यसलाई खुकुलो पार्न र व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदबिक्रीमा सहजीकरण गर्न उनले माग गरे ।

हदबन्दीको समस्या समाधान भएमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा असुली हुने, नयाँ आयोजना सुरु हुने र देशको अर्थतन्त्र फेरि चलायमान हुने उनले बताए ।

घरजग्गा तथा निर्माण प्रदर्शनी असोज १ गतेदेखि

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घ र नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी १०० भन्दा बढी कक्ष रहने आयोजकले जनाएको छ । सबै कक्ष बुकिङ भइसकेको मेला संयोजक रोशन भोयधोले बताए ।

प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि राखिने संयोजक भोयधोले बताए ।

आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ । यसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ ।

सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो सहरीकरण प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संयोजक भोयधोले बताए ।

प्रदर्शनी अवधिमा भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्रसम्बन्धी विज्ञबाट निःशुल्क परामर्श उपलब्ध गराइनेछ । त्यस्तै रक्तदान कार्यक्रम तथा ओम हस्पिटल र ग्राण्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

रसुवाका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको प्रदर्शनीले भूकम्प, कोभिड महामारी तथा आर्थिक शिथिलताका बाबजुद निरन्तरता कायम राखेको आयोजकले जनाएको छ । यसपटकको प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ८ : ५० बजे

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा