काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा आएको विषण बाढीका कारण यस नुवाकोट, रसुवामा रहेका जलविद्युत आयोजनाहरु ध्वस्त भए बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएको सरकारी रिपोर्ट छ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का अनुसार, प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन आयोजना छन् । प्रभावित आयोजनामध्ये ११ वटामा गरी ९१६ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।
रसुवामा बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त ६ वटा आयोजनाको कुल जडित क्षमता ४९४ मेगावाट रहेको छ । ती आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोसी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला छन् । यी आयोजनामा सम्पर्कविहीनको संख्या क्रमशः ५४५, ९३, ३, ३९, ६ र सातजना रहेको विवरणमा उल्लेख छ ।
६ वटा आयोजनामध्ये सबैभन्दा बढी सम्पर्कविहीन माथिल्लो त्रिशूली–१ आयोजनाका छन् । २१६ मेगावाटको उक्त आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए । त्यसमध्ये हालसम्म ८७८ जनाको उद्धार गरिएको छ भने ५४५ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनमध्ये नौजना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ । उद्धार गरिएकामध्ये एकजनाको शव फेला परेको जनाइएको छ ।
रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन् । बाढीपछि उद्धारको क्रममा हराइरहेका व्यक्तिहरू फेला पर्ने क्रम जारी रहे पनि खोजी कार्यलाई निरन्तरता दिइएको छ । आयोजनाबाट सातजना सकुशल तथा उद्धार भएको विवरणमा उल्लेख छ ।
१२० मेगावाटको रसुवा–भोटेकोसी जलविद्युत् आयोजनामा तीनजना सम्पर्कविहीन छन् भने पाँचजना सकुशल तथा उद्धार भएको विवरण छ ।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ३९ जना सम्पर्कविहीन छन् । आयोजनाको सुरुङबाट दुईजनालाई सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन । यस आयोजनाबाट १९ जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ ।
२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा ६ जना सम्पर्कविहीन छन् । केन्द्रको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकोमा अन्य कर्मचारी सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएको विवरणमा उल्लेख छ । विद्युत्गृहमा फसेकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली परिचालन गरिएको छ ।
त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा सातजना सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अज्ञात रहेको विवरणमा उल्लेख छ ।
बाढीबाट पूर्णरूपमा प्रभावित अन्य ६ आयोजनामा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना छन् । यी आयोजनाको कुल जडित क्षमता १७५ मेगावाट छ भने सम्पर्कविहीनको संख्या २२३ जना रहेको विवरणमा उल्लेख छ ।
२४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रमा तीनजना सम्पर्कविहीन छन्, जसमा दुईजना सुरक्षागार्ड र एकजना कर्मचारी छन् । केन्द्रका ७० जना सकुशल रहेको विवरणमा उल्लेख छ । देवीघाट जलविद्युत् केन्द्रमा एकजना सुरक्षागार्ड सम्पर्कविहीन छन् ।
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा ३९ जना सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको विवरणमा उल्लेख छ ।
३७ मेगावाटको माथिल्लो त्रिशूली–३‘बी’ आयोजनामा १७८ जना सम्पर्कविहीन छन् । आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन गर्दा बाढीले तीनवटा भवनको जगसहित बगाएर लगेको भेटिएको छ । खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ ।
त्यस्तै, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा दुईजना सम्पर्कविहीन छन् भने एकजनाको उद्धार गरिएको छ । २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनामा भने सम्पर्कविहीनको संख्या उल्लेख गरिएको छैन ।
यस्तै, माथिल्लो त्रिशूली–१ मा हराइरहेकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली र शेर्पासहितको टोली परिचालन गरिएको छ ।












प्रतिक्रिया