काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् ।
उनले आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन् । ‘आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्हः पूजा’ को मर्म अति गहिरो छ- ‘म्हः’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ’, उनले भनेका छन् ।
यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र यो हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ ।
आजैका दिन भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।














प्रतिक्रिया