अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त निकै राम्रो देखिन्थ्यो। तर हेर्दा जति राम्रो देखिन्थ्यो , त्योभन्दा निकै दर्दनाक परिस्थितिको फन्दामा थिएँ म ।
बुबा सधैँ भन्ने गर्नुहुन्थ्यो– विदेशमा भन्दा नेपालमा केही गर्नुपर्छ। अरुको देशमा गर्ने दुःख र मेहनत आफ्नै देशमा गर्यो भने धेरै प्रगति गर्न सकिन्छ। तर म भने विदेशमा आएपछि मात्र बुझ्दैछु– नेपाल आफ्नो देश, आफ्नो जन्म ठाउँ। नाम मात्र लिँदा पनि कति गर्व महसूस हुँदोरहेछ।
म सोच्थेँ विदेशमा गएर कसैले सोसल मिडियामा हाँसेको तस्बिर पोष्ट गर्दा ऊ फलानो त विदेश गएर कति खुसी छ भनेर बयान गर्ने मान्छे। म आज आफैँ महसुस गर्दैछु कि त्यो मुस्कान ओठमा ल्याउन कति पीडालाई पछाडि हटाउँदै छु।
तस्बिर त केवल हाँसेको मात्र हो। परदेशी हरेक दिन सपनामा घर पुग्छ र ब्युँझिएपछि सपनालाई सपनामा मात्र सीमित राखेर फेरि उसकै दैनिकी तर्फ फर्किनुपर्छ। थकाई लाग्छ, रोकिन मन लाग्छ तर जिम्मेवारीले भन्छ– हार नमान गन्तव्य अझै टाढा छ।
महिना दिन बित्यो अनि फेरि सुरु हुन्छ। तलब आयो कति आयो त्यही तलबको लागि एक महिना खटिनुपर्छ । अनि त्यो तलब सकिनका लागि एकदिन नै काफी हुन्छ। त्यसैगरी बित्दै हुन्छ– विदेशको समय । विदेशमा हरेक दिन शरीर थाक्छ, कहिलेकाहीँ मन पनि थाक्छ। थाकेको शरीर त केही बेरको आरामपछि निको होला। तर मन नै थाक्दा त आफूलाई आफूले नै कमजोर भएको महसुस हुँदोरहेछ।
देखेको विदेश र भोगेको विदेश निकै फरक हुँदो रहेछ। नेपालमा हुँदा सोच्थेँ– विदेश गएर यो गर्छु, त्यो गर्छु यति पैसा कमाउँछु, त्यति पैसा कमाउँछु। तर यी सबै कुरा केवल कल्पना मात्र रहेछ। जति सुन्दर सहरको दृश्य, मेरो आँखामा देखिएको थियो त्यति कठिन र जटिल परिस्थितिसँग रुमलिनु पर्दो रहेछ।
म प्रत्यक्ष नियालिरहेको र भोगिरहेको कागजी प्रक्रिया। विदेशमा पनि नेपाली नेपालीलाई गर्ने व्यवहार देख्दा मलाई यस्तो लाग्थ्यो कि शरीर मात्र होइन, मन पनि धेरै नै कमजोर हुन्थ्यो।
जति सजिलो छ विदेश आउनलाई त्यति सजिलो रहेनछ विदेशबाट घर फर्कनलाई । सोच्छु, त्यो आकाशमा उडेको प्लेनले मलाई घर कहिले लैजान्छ होला रु कति रात उदासिनताले सिरानीमा आँसु सङ्गाल्दै घरको यादमा छटपटिदै बिते।
कहिलेकाहीँ लाग्छ– सबै छोडेर घर फर्किन्छु अनि कति धेरै बाध्यताहरु छन् । मसँग भने कति रहरहरु घरमा पनि अब देखि खुसी र सुखका दिनहरु सुरु भएजस्तो महसुस त बल्लतल्ल बनाउने प्रयासमा थियौँ।
थाहा थिएन मैले जितेँ कि हारेँ तर जीवनले दिएको थुप्रै पीडा हुँदाहुँदै पनि आमाको काखभन्दा परदेशको लाखको बिटो ठूलो हुँदो रहेछ। त्यही भएर त परदेशिनु पर्यो।
अनि फेरि सोच्छु आमाको काखभन्दा लाखको बिटो खोज्दै परदेशनु कमजोरी त होइन नि रु तर त्यो बाध्यताले जन्मिएको साहस हो। म त्यही दिन हारिसकेको थिएँ, जुन दिन देशलाई छोडेर परदेशिएको थिएँ।
साथीभाइसँग खेलेको, हिँडेको, डुलेको निकै याद आउँथ्यो। तर आज आफूलाई प्रदेशमा देख्दा लाग्छ रमाउने कलिलो उमेरमा कमाउनुपर्यो। हेर्दा त सानै छु जस्तो लाग्थ्यो तर जिम्मेवारीले गर्दा ठूलो भएजस्तो महसुस भयो ।
म आफ्नो दुःखलाई लुकाउँछु । केही गरी भन्न सक्दिन तर आमाले मलाई आफ्नो दुःख सुनाउँछिन् तर सुनेर बस्न बाहेक केही गर्न सकेको छैन । सुखमा राख्न त कहाँ हो कहाँ दुःखमा साथ दिन पनि सकेको छैन।
माफ गर्नुगर्नु है मेरो पनि हजुरको जस्तै व्यथा अनि जिम्मेवारी थपिएको छ । यस्तै रहेछ जीवन रहरले सपना सजाउन सिकाउँछ अनि बाध्यताले त्याग्न। खुसी पाउनका लागि दुःख त भोग्नै पर्ने रहेछ।
हारेको त छैन आमा तर सफल हुनका लागि धेरै खुसीहरु गुमाएको छु फेरि फर्काउने आशमा। थाहा छैन, मलाई यो उमेर हो या जिम्मेवारी हो। तर मलाई निद्राभन्दा पनि बढी चिन्ता लाग्ने गर्छ।
काममा जिम्मेवारी थपिँदै गएपछि आफू र आफ्नाको खुसीका लागि जिउनु पर्ने रहेछ। सोचेको देश र भोगेको परदेश निकै भिन्न हुने रहेछ।
हालः लिसवर्न, पोर्चुगल













प्रतिक्रिया