काठमाडौं– नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
दाहालको निधनप्रति पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ । स्व दाहाल नेपाल पत्रकार महासङ्घको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्षसमेत थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिमा निर्वाचित भएका छन् ।
उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । स्व दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
दाहालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । कांग्रेसले दाहालको आत्माको चीर शान्तिको कामना गर्दै दुःखको घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
कांग्रेसले दाहालको निधनमा पुस २६, २७ र २८ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया